Aamsanchar

झापाको १० मेगावाट सौर्य आयोजनामा आगलागी, आधा विद्युत् उत्पादन बन्द

Author Image
सोमवार, जेठ १८, २०८३

झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगलागी हुँदा आयोजनाको करिब आधा विद्युत् उत्पादन प्रभावित भएको छ।

झापा इनर्जि लिमिटेड ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आयोजनामा जडान गरिएका दुई वटा ५ एमभिए क्षमताका इन्भर्टरमध्ये एउटा इन्भर्टरमा आइतबार दिउँसो करिब १ः४२ बजे आगलागी भएको हो।

घटनापछि उक्त इन्भर्टरमार्फत उत्पादन हुँदै आएको करिब ५ मेगावाट विद्युत् उत्पादन अस्थायीरूपमा बन्द भएको कम्पनीले जनाएको छ। आगलागीका बेला आयोजनास्थलमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको समेत उपस्थिति रहेको बताइएको छ।

कम्पनीका अनुसार आगलागीको कारणबारे आन्तरिक प्राविधिक टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अध्ययनका आधारमा इन्भर्टरको आन्तरिक प्राविधिक समस्याका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

कम्पनीले सम्बन्धित उत्पादक तथा आपूर्तिकर्ता कम्पनीलाई घटनाबारे औपचारिक जानकारी गराइसकेको जनाएको छ। आगलागी भएको इन्भर्टरको वारेन्टी अवधि अझै बाँकी रहेको र सम्पत्ति बिमा अन्तर्गत सो उपकरणको बिमा समेत गरिएको कम्पनीले स्पष्ट पारेको छ।

आवश्यक प्राविधिक मूल्याङ्कन तथा प्रतिस्थापनका लागि प्राविधिक टोली आयोजनास्थलतर्फ पठाइएको कम्पनीले जनाएको छ। प्रभावित इन्भर्टरलाई यथाशीघ्र प्रतिस्थापन गरी आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका प्रवन्धक सञ्चालक सुवास भट्टराईले आमसंचारलाई जनाकारी दिए ।

घटनाबाट उपभोक्ता, सरोकारवाला निकाय तथा स्थानीय समुदायमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर