दमक।

झापाको दमक, गौरादह र आसपासका क्षेत्रमा नेपाली पाँच सय एक हजारका दरका नक्कली नोटहरुको बिगबिगी फैलिएको छ । गौरादह, दमक लगायतका क्षेत्रका सहकारीहरुमा नक्कली नोट आउने गरेको र उनीहरुले यस बिषयलाई प्रहरीमा खबर गर्नुभन्दा सम्बन्धित ब्यक्तिलाई नै फिर्ता दिएर पठाउने गरेको बताइएको छ ।
दमकका एक सहकारी संस्थाका केसियरका अनुसार दैनिकजसो नै एउटा दुईवटा नक्कली नोट अन्य नोटको बीचमा मिसाएर आउने गरेको छ । आफूहरुले नक्कली भएको थाहा पाएपछि सम्बन्धित ब्यक्तिलाई जो बाट लिएको त्यो ब्यक्तिलाई फिर्ता दिनु भनेर पठाउने गरिएको छ । सहकारी संस्थाहरुले आफ्ना संकलक मार्फत आएका पनि केही नोटहरु नक्कली रहने गरेको पनि बताइन्छ ।
सहकारी तथा बैंकहरुले नक्कली नोट आएपछि सम्बन्धित ब्यक्तिलाई नै दिएर पठाउने गरेपछि यो प्रहरीसम्म समेत आइनपुग्ने गरेको बताइन्छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बूका अनुसार आफूहरुलाई पनि यस बिषयमा सूचना आएको भए पनि अहिलेसम्म कहिबाट पनि उजुरी आएको छैन ।

लिम्बूले भने– ‘फाट्टफुट्ट नक्कली नोट भेटिएको सूचना पाएका छौं । तर, आधिकारीक रुपमा कहिँबाट पनि यस बिषयमा खबर र उजुरी भने आएको छैन ।’
नक्कली नोटहरुको कारोबार भइरहेको सूचना पाएपछि एउटा बिशेष टोली नै बनाएर परिचालन गरिएको लिम्बूको भनाइ रहेको छ ।
कसैले पनि उजुरी नदिएको र सहकारीहरुबाट पनि यस बिषयमा अहिलेसम्म आफूहरुलाइ जानकारी नदिएको लिम्बूले बताए । केही महिना अघि भने प्रहरीलाई एक हजारको नोट भेटिएको बिषयमा दमकका एक ब्यापारीले प्रहरीलाई जानकारी दिएको बताइएको छ ।


