Aamsanchar

झापामा क्यान्सर, मुटु र मृगौलाका रोगी बढे

Author Image
बिहिवार, साउन २६, २०७४

भद्रपुर।

झापामा क्यान्सर, मुटु र मृगौला रोगीको संख्या बढ्दोक्रममा रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार क्यान्सर, मुटु र मृगौला रोगका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गत बर्षसम्म क्यान्सर, मुटु र मृगौला रोगबाट पीडित बिपन्न नागरिकलाई औषधि उपचारका लागि सिफारिस गर्ने गरेको थियो । तर, गत वर्षदेखि सरकारले खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्य अनुसार सरकारले निःशुल्क उपचार गर्न सक्ने भनेर घोषणा गरेको आठ रोगमा मुटु रोग, मृगौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रहेको थियो ।
सोही अनुरुप जिल्ला जनस्वास्थ्य कार्यालय झापाले पनि जिल्लाबाट सिफारिस गरेको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ अर्थात् २०७३ साउन १ गतेदेखि २०७४ असार मसान्तसम्ममा क्यान्सरका बिरामी तीन सय १२ जना, मुटुका बिरामी एक सय ९५ जना, मृगौलाका बिरामी एक सय ४२ जना, स्पाइनल इन्जुरी छ जना, पार्किन्सन्स चार जना, हेड इन्जुरी पाँच जना, सिकलसेल एनिमिया एक जना, स्पाइनल इन्जुरी दुई जनाको लागि सिफारिस गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन प्रमुख देवराज कार्कीले बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस दिएको आधारमा पनि जिल्लामा क्यान्सर, मुटु र मृगौला रोगीको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ । अझ मुटु र मृगौलाको तुलनामा क्यान्सरका बिरामीको संख्या अझ बढिरहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा एक सय २४ क्यान्सर रोगीको लागि औषधि उपचारको सिफासिर गरेकोमा आर्थिक वर्ष २०६८÷०६९ मा एक सय ३२ जनाको लागि सिफारिस गरिएको देखिन्छ । आर्थिक वर्ष २०६९÷०७० मा अलि कम ९२ जनामा मात्र क्यान्सर भएको देखिए पनि आर्थिक वर्ष २०७०÷०७१ मा एक सय ८३ जनालाई क्यान्सर देखिएको थियो । आर्थिक वर्ष २०७१÷०७२ मा दुई सय ३३ जनामा क्यान्सर देखिएर प्रमाणसहित सिफारिस गरेको जनस्वास्थ्य कार्यालय झापाले आर्थिक वर्ष २०७२÷०७३ मा दुई सय ५६ जनाको सिफारिस गरेको थियो ।
गत आर्थिक वर्ष २०७३÷०७४ झन् क्यान्सर रोगी बढेर ३ सय १२ जना पुगेको देखिन्छ । क्यान्सर पछि जिल्लामा मुटुका बिरामी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार २०६७÷०६८ मा २८ मुटु रोगीको लागि औषधि उपचारको सिफासिर गरेकोमा आर्थिक वर्ष २०६८÷०६९ मा ६८ जनाको लागि सिफारिस गरेको थियो ।

आर्थिक वर्ष २०६९÷०७० मा ४९ जनामा मात्र मुटुका बिरामी भएको देखिए पनि आर्थिक वर्ष २०७०÷०७१ मा ७७ जना मुटुका रोगी भेटिएका थिए । आर्थिक वर्ष २०७१÷०७२ मा एक सय २० जनामा मुटुका रोगी देखिए पनि आर्थिक वर्ष २०७२÷०७३ मा एक सय २० जनाको सिफारिस गरेको थियो । गत आर्थिक वर्ष २०७३÷०७४ मा एक सय ९५ जनालाई मुटु रोगको उपचारमा सहुलियतको लागि सिफारिस गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
तुलनात्मक रूपमा क्यान्सर, मुटुका बिरामीभन्दा कम देखिएको मृगौलाका बिरामीको संख्या पनि बढ्दोक्रममा रहेको देखिएको छ । २०६७÷०६८ मा ४८ जना मृगौलाका रोगीको लागि औषधि उपचारको सिफारिस गरेकोमा आर्थिक वर्ष २०६८÷०६९ मा ३६ जनाको लागि सिफारिस गरिएको थियो । आर्थिक वर्ष २०६९÷०७० मा ४० जना मृगौलाका रोगी देखिएको तथा आर्थिक वर्ष २०७०÷०७१ मा ५२ जनालाई मृगौला रोग देखिएको थियो ।

आर्थिक वर्ष २०७१÷०७२ मा ६५ जना र आर्थिक वर्ष २०७२÷०७३ मा ७२ जनालाई मृगौला रोगको लागि सिफारिस गरेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा एक सय ४२ जनालाई मृगौलाको उपचारमा सिफारिस गरिसकिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा औषधि उपचारको लागि सहुलियतको लागि सिफारिस माग गर्नेहरूको विवरण भए पनि जिल्लामा क्यान्सर, मुटु र मृगौलाका रोगी अझ बढीको संख्यामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन प्रमुख देवराज कार्की बताउँछन् । कार्कीले सम्पन्न परिवार सिफारिस लिन नआउने तथा भारतमा उपचार गर्न जानेहरूले पनि सिफारिस नलिने गरेकोले अझै त्यतिकै संख्यामा जिल्लामा क्यान्सर, मुटु र मृगौलाका रोगी हुनसक्ने बताए ।
पछिल्लो समय खानपान तथा भारतबाट आयातित सागसब्जी र खाद्यान्नका कारण जिल्लामा क्यान्सर, मुटु र मृगौलाका बिरामीको संख्या बढेको प्रशासन प्रमुख कार्की बताउँछन् । नेपालमा निर्यात गरिने सागसब्जी र खाद्यान्नमा भारतमा अत्यधिक विषादि प्रयोग गरिने र नेपालले पनि आयात गर्दा कुनै चेकजाँच बिना सागसब्जी र खाद्यान्न भित्र्याएर प्रयोग गर्दा जिल्लामा क्यान्सर, मुटु र मृगौलाका रोगीको संख्या बढ्न थालेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर