दमक।
झापाको दमकमा दमक नगरपालिकाको संयोजनमा भएको अनुगमनमा आधाभन्दा बढी दैनिक उपभोग्य सामग्रीहरु खाना अयोग्य रहेको पाइएको र चरम लापरवाही भेटिएको बताइएको छ ।
होटलहरुमा बासीभातदेखि लिएर हरिया झिँगा भन्केका मासु बिक्री हुने गरेको पाइएपछि अनुगमन समितिले यस्तो बताएको हो । गर्मीको समयमा अधिक ब्यापार हुने चिसो पेय पदार्थ, जुसदेखि लिएर बालबालिकाहरुले प्रयोग गर्ने गरेको बिस्कुटसम्म पनि उपभोग्य मिति समाप्त भएको पाइएको बताउँदै बजारको अवस्था लाजमर्दो भेटिएको दमक बजार अनुगमन समितिका संयोजक समेत रहेका दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले बताए । अनुगमन गर्दा कही कतै पनि केही किनेर खान सक्ने अवस्था नपाइएको उनको भनाइ छ ।
पौड्यालसहित खाद्य निरीक्षक दिनेश ढुंगाना, पशु सेवा कार्यालय दमकका प्रमुख गणेश प्रधान, दमक उद्योग वाणिज्य संघका सदस्य दीपेन्द्र ढुंगेल लगायतको टोलीले एक सातादेखि निरन्तर दमक बजार अनुगमन गर्दै आएको छ । खाद्य निरीक्षक ढुंगानाका अनुसार मिठाइ पसलदेखि होटलसम्म सबैतिर सरसफाईमा ध्यान नदिएको पाइएको जनाउँदै धेरै सुधार गर्नुपर्ने देखिएको बताए ।
खाद्यवस्तु चरम लापरवाहीहरु अनुगमनमा भेटिएको जनाउँदै यसलाई सुधार गर्नका लागि निरन्तर अनुगमन आवश्यक रहेको उनको भनाइ छ । पशुसेवा कार्यालय दमकका प्रमुख गणेश प्रधानका अनुसार दमकका मासु पसलहरु यति धेरै फोहोर भेटिएको छ कि यहाँको मासु खानाका लागि नै अयोग्य रहेको छ ।
काट्ने औजारको प्रयोगदेखि लिएर काट्ने स्थान र काटिसकेपछि मासुलाई राख्ने तरिका नै गलत रहेको जनाउँदै आफूहरुले अनुगमन गरेको मासु पसलहरु फोहोर भेटिएको र झिंगाहरु भन्किरहेको भेटिएको उनको भनाइ रहेको छ । सामान्यभन्दा सामान्य सरसफाईमा समेत ध्यान नदिएको पाएको उनले बताए ।
कतिपयले भने अनुगमन गर्ने र एकपटकलाई सजग गराएको भन्दै सधै कारवाही नगर्ने गरिएकाले बजारमा बेथिति बढेको समेत बताउने गरेका छन् । अहिलेसम्म उपभोग्य मिति समाप्त भएको सामान बेच्ने तथा नियम कानून पालना नगर्ने कसैमाथि पनि कारवाही हुन सकेको छैन ।
अनुगमन समितिका संयोजक पौड्यालका अनुसार जनप्रतिनिधि भएर आफूहरु आएर पहिलो पटक अनुगमन गरेको बताउँदै अर्को पटकदेखि कारवाहीका लागि नै सिफारिस गरिने बताए । अहिले एक पटकलाई सुधार गर्ने मौका दिइएको पौड्यालले बताएका छन् । आफूहरुले बजारमा देखिएको अवस्थाको बारेमा लिखित प्रतिवेदन बनाएर नगरपालिकामा पेस गर्ने र त्यस अनुसार नै सचेतनादेखि लिएर नियमित अनुगमनसम्मका कार्यक्रमहरु तय गरिने उनले बताए ।
बजारमा उपभोक्ताहरु ठगिएको र उपभोक्ताको स्वास्थ्यमा ब्यापारीहरुले ख्याल नगरेको पाइएको स्वीकार गर्दै दैनिक उपभोग्य मिति समाप्त भएका खाद्य सामग्रीहरु नष्ट गरिएको पौड्यालले जानकारी दिए ।