[नरेन्द्र ढकाल ]
झापा।



झापामा यातायात व्यवस्था ऐनविपरीत रातो प्लेटका निजी सवारी साधनले लामो समयदेखि भाडामा यात्रु बोक्ने गरेका छन् । पूर्वका जिल्लाहरूमा लामो समयदेखि नियम विपरीत रातो प्लेटका सवारी साधनले महंगो भाडा लिएर यातायात सञ्चालन गरिरहे पनि नियमन गर्ने निकाय भने बेखबर बनेको छ ।
यातायात व्यवस्था ऐन–२०४९मा कालो प्लेटका सवारी साधनले मात्रै यात्रु बोक्न पाउने उल्लेख भए पनि झापाका विभिन्न स्थानमा रातो प्लेटका सवारी साधनले लामो समयदेखि यात्रु बोकिरहेका छन् । दैनिक दुई सयभन्दा बढी रातो प्लेटका सवारी साधनले रिजर्भ र महंगो भाडा लिएर यात्रु ओसार्ने गरिरहेको सार्वजनिक सवारी चालकहरुको भनाइ छ ।
रातो प्लेट भएका सवारी साधन निजी सवारी हो, निजी सवारी साधनले आफ्नो निजी कामका लागि मात्रै साधन प्रयोग गर्ने पाउने नियम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनले भने– यस क्षेत्रमा भने भाडाका सवारीभन्दा निजी प्लेटका सवारी साधनले नै बढी यात्रु बोकिरहेको गुनासो आएको छ, त्यस्तो भेटिएमा कारबाही गर्छौं ।
जिप, कार लगायतका रातो प्लटेका सवारी साधनहरू दैनिक यात्रु लिएर झापाका विभिन्न स्थान तथा अन्य जिल्लाका विभिन्न ठाउँसम्म जाने गरेको बताइएको छ । सवारी साधन किन्दा नै खरिदकर्ताले यातायात व्यवस्था विभागमा कुन प्रयोजनका लागि खरिद गरिएको हो, त्यो खुलाउनुपर्ने नियम रहेको छ । रातो प्लेटका निजी सवारी साधनले यात्रु बोक्न नपाउने भए पनि झापाका विभिन्न स्थानमा स्टेण्ड नै खडा गरेर यात्रुको प्रतीक्षामा निजी सवारी रहँदा समेत कसैले केही गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । यसरी यातायात सञ्चालन भइरहेको विषयमा अनुगमन गर्ने निकाय यातायात कार्यालय भने यो समस्या देशभरकै हो भन्दै पन्छिने गरेको छ ।
यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जर्नादन भट्टराईले अनुगमन गर्ने विषय आफूहरुको नभएको भन्दै पन्छिएका छन् । उनले आमसञ्चार डट.कमको टेलिफोन सम्पर्कमा भने– सवारी सडकमा हुन्छ, कसले के ग¥यो त्यो ट्राफिकले हेर्नुपर्छ, हामीले सबै हेर्ने होइन् । उनले निजी सवारीले यात्रु बोक्न नपाइने भन्दै यो देशभरकै समस्या भएकाले केही गर्न नसक्ने जवाफ दिएका छन् ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीले भने– यातायातको अनुगमन गर्ने निकाय यातायात कार्यालय भएको बताए । उनले यातायात व्यवस्था ऐन अन्तर्गत यातायात सम्बन्धि ३ प्रतिशत मात्र अधिकार भएपनि ५० प्रतिशत भन्दाबढी काम आफूहरुले गर्ने गरेको बताए । निजी सवारीले यात्रु बोक्ने अधिकार नभएको विषयमा भने उनीहरु एकमत देखिएका छन् । यातायात ब्यवस्था ऐनमा यातायात कार्यालय रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा यातायात व्यवस्थापन समिति गठन हुने उल्लेख छ ।
यसै विषयमा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी भन्छन्– यातायातको क्षेत्रमा कुनै समस्या आएमा प्रमुख जिल्ला अधिकारीको पहलमा समाधान गर्ने गरिन्छ । यसको अनुगमन गर्ने जिम्मा भने यातायात कार्यालयको भएको उनले बताए । यातायात कार्यालयमा यातायात निरीक्षक भनेर कर्मचारी नै तोकेर राख्ने गरिन्छ । उनले ट्राफिक प्रहरीसँग समन्वय गरेर अनुगमन गर्नुपर्छ । प्रशासन कार्यालयले कुनै जटिल परिस्थिति आएमा त्यसको व्यवस्थापन गर्न पहल मात्र गर्ने हो– प्रजिअ तिवारीले भने ।
निजी सवारीले भाडामा यात्रु बोक्दा आफूहरूलाई समस्या भएको सार्वजनिक सवारी चालक तथा व्यवसायीहरुको भनाइ छ । निजी सवारी चालकहरुले कारबाहीबाट जोगिन निजी सवारीमा यात्रा गर्ने यात्रुहरूले आफूहरू रिजर्भमा आएको बताउन लगाउने र टिकट समेत नदिने गरेका कारण कारबाही गर्न पनि समस्या हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । ‘रातो प्लेटका सवारीले यात्रु बोके वा रिजर्भ गरे पनि त्यो नियम विपरीत भएको यातायात ब्यवस्था कार्यालय मेचीका प्रमुख भट्टराईले बताए ।
उता भन्सार छुट तथा विभिन्न कर छुटसहित भित्रिने निजी सवारी साधनका कारण राज्यलाई कर बुझाएका कालो नम्बर प्लेटका सवारी साधनलाई धरासायी बनाउने काम तत्काल बन्द हुनुपर्ने नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । निजी सवारी साधनले नियम विपरीत यात्रु बोक्नु गलत भएको बताउँदै उनले तत्काल त्यस्तो कार्य रोक्न र अनुगमन गरेर कारबाही गर्न माग गरेका छन् ।
राज्यलाई ठग्ने काम भएको भन्दै निजी प्रयोजन भन्दै व्यापार गर्न नपाइने सिटौलाले बताए । उनले तत्काल अनुगमन गर्न ट्राफिक प्रहरी, यातायात कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् ।


