बिर्तामोड।

सामाजिक सञ्जाल फेसवुकलाई कतिले दुरुपयोग गरेका छन् भने कतिले त्यसैलाई सदुपयोग गर्दै विभिन्न सामाजिक काममा उपयोग गर्ने गरेका छन् ।
सामाजिक सञ्जाल दुरुपयोगकै कारण कतिपय जेलजीवन बिताउन बाध्य छन् भने कतिपय समाजमा धन्यवादको पात्र बन्ने गरेका छन् ।
बाह्रदशी गाउँपालिका वाड नम्वर ७ डाँगीवारी निवासी अतिविपन्न परिवारकी क्यान्सर पीडित एक युवतीलाई उपचारका लागि खर्च जुटाएर रोगमुक्त बनाउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी, श्याम राजवंशी अहिले समाजका उदाहरणीय पात्र बनेका छन् ।
आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छट्पटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि रकम जुटाएर सहयोग पु¥याएपछि उनीहरु समाजका उदाहरणीय पात्र बनेका हुन् । उनीहरुले फूलकुमारीको उपचारका लागि २ लाख ४० हजार रुपैयाँ आर्थिक संकलन गरेको र सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छिन् ।
छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलाल राजवंशीले आग्रह गरेको समाचार पूर्वाञ्चल दैनिकले एक महिना अघि प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि राजवंशी समाज बिकास समिति झापाका पूर्व अध्यक्षसमेत रहेका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत फूलकुमारी बचाऊ अभियान सञ्चालन गरेका थिए । सो अभियानबाट जुटेको रकमले फूलकुमारीको उपचार गराएको र उनले नयाँ जीवन पाएको टोमले बताए । फूलकुमारीको उपचारका लागि नेपाल तथा बिदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेका थिए । नवील बंैकमा २११००१७५०३६४० नम्वरको खाता खोलेर उनीहरुले आर्थिक संकलन गरेका थिए ।
सहयोग पाएपछि फूलमायाको क्यान्सरको शल्यक्रिया गरेर अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका बुबा आमा मात्र होइन अहिले डाँगीवारीवासी हर्षित छन् । सवैको स–सानो सहयोगले पनि क्यान्सर जस्तो रोग निको पारेर छोरीले नयाँ जीवन पाएको भन्दै उनका वुवा शेषलालले सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरे ।
सामाजिक कार्य गर्न रुचाउने राजवंशीले यस अघि पनि आर्थिक रुपमा अतिविपन्न परिवारका लागि सहयोग गर्दै आएका छन् । राजवंशीले फेसबुकमार्फत चलाएको अभियानका कारण आफ्नो बिद्यार्थीले नयाँ जीवन पाएको भन्दै गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले अभियानकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् । छोरीको जीवन बचाइदिन हारगुहार गर्दै फूलकुमारीका वुवा हामीकहाँ सहयोग माग्न आएका थिए हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन तर अहिले उनी जाति भएर घर आएको सुन्दा म मात्र होइन विद्यालय परिवार नै अति हर्षित छ– कटुवालले भने ।
शेषलाललाई रुञ्चे हा“सो
सबैको सहयोगमा छोरी फूलकुमारीले नयाँ जीवन पाएको प्रति शेषलाल अति खुशी छन् । खुशीसँगै उनमा पीडा पनि उत्तिकै थपिएको छ । २०६६ सालमा विरीङ खोलामा आएको बाढीले उनको परिवारलाई बिस्थापित गरेको थियो । भएको जग्गा जमिन कटान गरेर बगरमा परिणत गरिदिएपछि उनी अहिले अर्कैको जग्गामा फुसको छाप्रो हालेर आश्रय लिएर बसेका छन् । आश्रय लिएको ठाउँमा पनि साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥यायो ।

जतिबेला उनी छोरीको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा थिए । बाढीले क्षति पु¥याए पछि उनी अहिले छिमेकीको शरणमा परेर पानी समेत अर्कैको ट्युवेलमार्फत खान्छन् । भएको फुसको घर पनि जीर्ण छ । न त उनको घरमा ओढ्ने छ, न त ओछ्याउने ।
बाढीका कारण घरमा भएको सवै सामग्री नष्ट भएपछि कष्टकर जीवन बिताउन बाध्य छन्– शेषलाल र उनको परिवार । दैनिक ज्यालादारी गरेर जीवीको पार्जन गर्दै आएको राजवंशी परिवारको अहिले न त घरमा खाने अन्न छ न त शौचालय नै । जनमजदुरी गरेर परिवार पाल्दै थिएँ, छोरी बिरामी भएपछि छोरीको उपचारका लागि अस्पताल बस्ता खाने अवस्था नै रहेन– उनले भने ।
छोरीको सफल उपचारपछि घर फर्किएका शेषलाल अहिले खुशी भए पनि आर्थिक अवस्था कमजोर भएपछि चिन्तित छन् ।


