Aamsanchar

सडक अभावमा रावाखोला पुल प्रयोगविहीन

Author Image
बुधवार, भदौ २८, २०७४

खोटाङ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐँसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन भएको छ । हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडकखण्डअन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको हो ।

स्वीस सरकारको करिब रु साढे चार करोडको लागतमा सम्पन्न उक्त पुलले रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा र ऐंसेलुखर्क गाउँपालिका–७, माक्पा जोडिएको छ । रावाखोलामा पक्की पुल बनेपनि पुलको आसपासको सडक अपुरै हुँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।

पुलको आसपासमा बनाइनुपर्ने एप्रोच रोडका लागि स्वीस सरकारको सहयोगमा करिब रु ८५ लाखको ठेक्का लागेको स्वीस सम्वद्ध कर्मचारी सुशील श्रेष्ठले बताउनुभयो । एप्रोच रोडका लागि करिब रु एक करोडको इस्टिमेट भएपनि घटाघटको बोलपत्रमा रु ८५ लाखमा फ्युचर–कुँवर जेबी कम्पनीले ठेक्का पाएको हो ।

त्यसो त हुर्लङ–जालपा–ऐँसेलुखर्क ४० किलोमिटर सडकमध्ये माक्पा–एँेसेलुखर्क करिब साढे छ किलोमिटर सडक पनि अपूरै रहेको छ । स्वीस सरकारको सहयोगमा निर्माणाधीन सडक स्वीस सरकारले नै अपूरै छाडेका कारण अलपत्र परेको हो ।

हुर्लङ–जालपा–एेंसेलुखर्कसम्मको ४० किलोमिटर सडकका लागि स्वीस सरकारले करिब रु ८० करोड रकम विनियोजन गरेपनि करिब रु ३८ करोड मात्र खर्च भएको छ । नेपाल सरकार र स्वीस सरकारबीच सडक निर्माणमा काम नगर्ने सहमति भएपछि सडक अलपत्र परेको श्रेष्ठको भनाइ छ ।

जिल्लास्थित राजनीतिक दलहरुले स्वीस सरकार र नेपाल सरकारसँग अपूरो सडक पूरा गर्न पटकपटक अनुरोध गर्दा समेत सुनुवाइ भएन । पूर्व सांसद टंक राईले भने आफूले थालेको काम सक्न स्वीस सरकारको नैतिक जिम्मेवारी भएको बताउनुभएको ।

हुर्लुङ–जालपा–एेंसेलुखर्क सडक पूरा भएपछि जिल्लामा उत्पादित सामग्री निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडक सोलुखुम्बुसम्म जोडिने भएकाले पर्यटन प्रवद्र्धनमा समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

यसैबीच, रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलबजारको स्तरोन्नतिका लागि सर्वेक्षण शुरु गरिएको छ । बजार क्षेत्रभित्रको सडक कालोपत्रे, विद्युत् र टेलिफोनको तार तथा खानेपानीको पाइप जमिनमुनि गाड्ने र अव्यवस्थित अवस्थामा रहेको ढल निकासका लागि सर्वेक्षण शुरु गरिएको हो ।

सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा आगामी डेढ वर्षभित्र सबै काम सम्पन्न गर्ने गरी सर्वेक्षणको काम शुरु गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“जिल्लाको व्यापारिक केन्द्र तथा सदरमुकाम रहेको दिक्तेलबजार अहिले कुरुप अवस्थामा छ ।” उहाँले भन्नुभयो, “डेढ वर्षभित्र यसलाई व्यवस्थित बजार बनाएर जिल्लाको मुख्य व्यापारिक केन्द्र बनाउने योजनामा हामी लागिपरेका छौँ ।”

कच्ची अवस्थाको सडक, जथाभावी टाँगिएको बिजुली र टेलिफानको तार, ढल फुटेर दुर्गन्धित बजार, जहाँतही टुक्रिएको खानेपानीको पाइपलगायतलाई व्यवस्थित गर्नुका साथै बजार क्षेत्रभित्र खुला ठाउँ निर्माण, रिङरोड तथा शाखा सडक निर्माण गर्न सर्वेक्षणको काम थालिएको नगरपालिकाका कार्यकारी अधिकृत खिलाराज राईले बताउनुभयो ।

दिक्तेलबजारको चौतर्फी विकासका लागि सर्वेक्षणको जिम्मा लिएको ग्रीनथम्स कन्सलटेन्स कम्पनीले मंगलबारदेखि सर्वेक्षणको काम थालेको हो । सर्वेक्षण गर्नुअघि नगरपालिकाले सोमबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सर्वदलीय÷सर्वपक्षीय भेला आयोजना गरेको थियो । भेलामा सहभागी वक्ताले सबैको सहमति र सहकार्यमा काम अगाडि बढाउन सुझाव दिएका छन् ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर