Aamsanchar

इँटा उद्योग हटाउन संघर्ष

Author Image
बिहिवार, भदौ २९, २०७४

भद्रपुर।

उद्योग सञ्चालनको मापदण्ड विपरीत मानववस्तीको बीचमा सञ्चालित दुईवटा इँटा उद्योग हटाउनुपर्ने भन्दै स्थानीयबासी संघर्षमा उत्रिएका छन् । उद्योगको प्रदुषणले स्वास्थ्यमा प्रत्यक्ष असर र खेतीयोग्य जमिन काट्न शुरु गरेपछि स्थानीय दुवै उद्योग हटाउने पक्षमा उभिएका छन् ।
झापाको पृथ्वीनगर गाविस–२ (हाल भद्रपुर–१) स्थित दियालोबस्तीमा सञ्चालित डिविआई र नायक ब्राण्डका इँटा उद्योग हटाउनुपर्ने भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन् । दुवै इँटा उद्योगको सञ्चालकको लापरवाहीले सो क्षेत्र आसपासका स्थानीय विस्थापित हुने अवस्था आएपछि स्थानीयले उद्योग हटाउनुपर्नेसहित विभिन्न १९ बुँदे माग राख्दै डिविआई, नायक इँटा भट्टा पीडित संघर्ष समिति गठन गरेको हो । दुई इँटा उद्योगको दूरी तीन सय मिटरभित्र पर्छ । त्यहाँ घना मानववस्ती रहेको छ ।
मावनवस्तीबीचको उद्योग बन्द गराउनुपर्ने भन्दै विगत दुई बर्षदेखि स्थानीयबासी लागीपरेका छन् । तर, उद्योग सञ्चालक उद्योग हटाउने पक्षमा नदेखिएपछि स्थानीय अन्ततः संघर्षमा उत्रिएका हुन् । करिब ७ वर्षदेखि सञ्चालन हँुदै आएका डिविआइ र नायक इँटा उद्योगले स्थानीय तथा सँधियार देउकुमार लिम्बू, राजन सुवेदी, शम्सेर कार्की, देवेन्द्र लिम्बू, लालबहादुर तामाङ, भीम गेलाल, शंकर लिम्बू, डम्बर गुरुङ लगायत स्थानीयको खेतीयोग्य जमिनमा असरमा परेको छ । उद्योगले आफ्नै जमिनमा माटो कटान गर्दा सँधियारको खेतीयोग्य जमिन पनि कटान हुने खतरा देखिएको छ । त्यसैले तत्काल उद्योग हटाउनु पर्ने देवेन्द्र लिम्बूले बताए ।
उद्योग मन्त्रालयको कार्यविधि दिग्दर्शन २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने उल्लेख छ । त्यस क्षेत्रमा बर्षौदेखि घनाबस्ती रहेको देखिन्छ । तर, वातावरण प्रदुषण परीक्षण गर्दा हचुवाको भरमा रिपोर्ट बनाएर उद्योग सञ्चालनको अनुमति दिएपछि अहिले विवाद चुलिएको हो । त्यही भएर संघर्ष समिति गठन गरेको समितिका संयोजक देउकुमारले बताए ।
यता डिवीआई इँटा उद्योगले आफ्नो जमिन छाडेर पैनी तथा बाटो मिचेको स्थानीयको आरोप छ । उद्योग सञ्चालकले उद्योगभित्रैबाट गएको पैनीको संरक्षण गर्नुको साटो उल्टै माटोले पुरेर बन्द गरिदिएको छ । उद्योगको पूर्वपट्टिको भागमा कामदार बस्ने घर निर्माण गरेर बाटो बन्द गराएको स्थानीय बताउँछन् । बाटो बन्द गराएपछि खोला तथा पैनीको पानीले सो क्षेत्र डुबानमा पनि पर्ने थालेको छ । उद्योग र छेऊमा रहेको चिया बगानले बाटो मिच्दा समस्या आइरहेको स्थानीय मेदनीप्रसाद शिवाकोटीले बताए ।
उद्योगले मानवीय जीवनमा असर पुर्याउन थालेपछि २०७३ माघ १२ गते वडा नागरिक मञ्चका बालकुमार गिरीको संयोजकत्वमा अन्दाजी दुई सयभन्दा बढी स्थानीयको हस्ताक्षर संकलन गरेर वडा कार्यालय पृथ्वीनगरमा बुझाए पनि सुनुवाई भएको थिएन । उद्योगी तथा प्रशासनले वेबास्ता गरेपछि देउकुमार लिम्बूको संयोजकत्वमा पुनः संघर्ष समिति गठन गरेको हो ।
उद्योगको विवादलाई लिएर ०७४ साउन २६ गते भद्रपुर नगरपालिका, उद्योगी र संर्घष समितिबीच पटक–पटक छलफल भए पनि समस्याको समाधान हुन सकेको छैन । त्यसैले यहाँ सञ्चालित उद्योगको वातावरण मापदण्ड हेरी न्याय दिलाउन पीडित स्थानीयले उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका र प्रशासन कार्यालय झापासमक्ष अपिल गरेको छ ।

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर