Aamsanchar

एमाले झापामा खैलाबैला

Author Image
शुक्रवार, भदौ ३०, २०७४

झापा।

स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै छानविन आयोगका नाममा पार्टी सदस्यदेखि नेतासम्मलाई स्पष्टीकरणको कारवाही थालेपछि एमाले झापामा खैलाबैला भएको छ ।
असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्ताबाटै अन्तरघात भएकाले पार्टीका उम्मेदवारले हारेको भन्दै गत साउन २ गते बसेको जिल्ला कमिटीको बैठकले निर्वाचनमा के भएको हो सोको सत्य–तथ्य बाहिर ल्याउने गरी स्थानीय तह निर्वाचन छानविन आयोग बनाएको जिल्ला कमिटी सचिवालय सदस्य शिव ढुंगेलले बताए । ढुंगेलका अनुसार कार्यकर्ताको गुनासो र निर्वाचनमा भएको वास्तविकता बाहिर ल्याउने गरी जिल्ला कमिटीका सचिवालय सदस्य राधाकृष्ण खनालको संयोजकत्वमा आयोग गठन गरिएको थियो ।

खनाल आयोगले अन्तरघातको आरोप लगाउँदै पार्टी सदस्यदेखि नेतासम्मलाई स्पष्टीकरणको चिठ्ठी काट्न थाले पछि पार्टी भित्र–बाहिर खैलाबैला शुरु भएको हो । स्थानीय तहको निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार बनेकाहरुले हारेपछि अन्तरघातीहरुलाई कारवाही गरिनुपर्ने आवाज उठिरहेका बेला जिल्ला कमिटीले छानविन आयोग गठन गरेर कारवाही शुरु गरेको जिल्ला कमिटी स्रोतले बताएको छ ।
पार्टीले निर्वाचनमा भएको सत्य–तथ्य बाहिर ल्याउने भन्दा पनि व्यक्तिगत तथा गुटगत पूर्वाग्रह साध्न खोजिएको भन्दै अर्को पक्षले अन्तरघातीहरुको सूची बनाएर पार्टी झन संकटमा पर्ने बताएको छ । उनीहरुले यसलाई उम्मेदवार छनौटमा पार्टी नेतृत्वले गरेको कमजोरी ढाकछोप गर्ने प्रयास भएको भन्दै यसले आगामी निर्वाचनमा समेत असर गर्न सक्ने बताएका छन् । ‘यो गुटगत पूर्वाग्रहको परिणाम हो’– स्पष्टीकरणको चिठ्ठी प्राप्त गरेका जिल्ला कमिटीका एक सदस्यले भने– ‘यस्तो तरिकाले झनै संकट थपिन्छ ।’ ती सदस्यले छानविन समितिका नाममा पार्टीले ‘आलोचक र विरोधी सिध्याउने’ खतरनाक योजना बनाएको आशंका समेत गरेका छन् ।
छानविन आयोगले सम्बन्धित कमिटीले उपलब्ध गराएको सूचनाका आधारमा सूची तय गरेको बताएको छ । स्थानीय तहको निर्वाचनमा भएका कमजोरीहरुबारे सम्बन्धित पार्टी कमिटीबाट प्राप्त गुनासोका आधारमा छानविन गरिएको आयोगका संयोजक खनालले बताए ।

केही जिल्ला स्तरीय नेता, कार्यकर्ताहरु बाहेक सबै जसो तल्लै तहबाट प्राप्त नाम भएको छानविन समितिका संयोजक खनालले बताएका छन् । संयोजक खनालका अनुसार छानविनको दायराभित्र जिल्लाभरिबाट करिब २ सय पचासको संख्या रहेको छ । यसमध्ये ५३ जना नगर कमिटी भन्दा माथिका र ७ जना जिल्ला कमिटीभन्दा माथिका नेता रहेको संयोजक खनालले  जानकारी दिए ।
जिल्ला कमिटी स्रोतले भने यो संख्या करिब सात सयको हाराहारीमा भएको बताएको छ । तर, संयोजक खनालले भने यस कुरालाई अस्वीकार गरेका छन् । खनालका अनुसार छानविनको दायरामा आएका नामहरु मध्ये सामान्य जिम्मेवारीमा रहेका पार्टी सदस्यहरुको संख्या ठूलो छ । उनले छानविनकै क्रममा ती व्यक्तिहरुलाई स्पष्टीकरण सोधिएको पनि बताएका छन् । ‘प्राप्त गुनासो र आरोपका आधारमा हामीले पहिलो चरणमा स्पष्टीकरण सोधेका हौं’– संयोजक खनालले भने– ‘छानविनपछि असोजको पहिलो साताभित्र हामी प्रतिवेदन जिल्ला कमिटीलाई बुझाउनेछौं ।’

जिल्ला कमिटीलाई प्रतिवेदन बुझाएपछि मात्र कारवाहीको प्रक्रिया शुरु हुने उनले बताए । यसबेला सोधिएको स्पष्टीकरण कारवाही नभएर छानविनका लागि अनुसन्धान मात्र भएको संयोजक खनालले बताएका छन् ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर