Aamsanchar

बिद्यालय जान भारतको बाटो

Author Image
शुक्रवार, भदौ ३०, २०७४

(पार्थ मण्डल)

भद्रपुर।

नेपाल–भारतको दशगजा नजिकै ३० बर्षअघि स्थापना गरिएको झापाको केचनास्थित एउटा सामुदायिक विद्यालयका शिक्षक भारतीय भूमि भएर विद्यालय जाने गरेका छन् । साविक केचना–६ हाल कचनकवल गाउँपालिका–४स्थित दीपेन्द्र प्राविको स्थापना २०४४ सालमा भएको हो ।
विद्यालय जाने बाटो अभावका कारण त्यस विद्यालयका शिक्षक छिमेकी राष्ट्र भारतीय भूमि प्रयोग गर्न बाध्य छन् । विद्यालय पढाउन जाने शिक्षक करिव एक किलोमिटर भारतीय सडकको सहारा लिँदै आइरहेका छन् । विद्यार्थीहरु भने खेतबारी र आलीको बाटो प्रयोग गरेर विद्यालय जाने गरेका छन् ।

विद्यालय नेपालमा तर सडक भने भारतको किसनगञ्ज जिल्लामा पर्ने कादो गाउँको । नेपालकै विद्यालय जाँदा भारतीय सुरक्षाकर्मीको अनुमति लिएर जानुपर्ने तीन दशकदेखिको पीडा छ, त्यस विद्यालयका शिक्षकलाई । शिक्षकहरु हिउँदमा त जसोतसो नेपालकै खेतबारी र आलीको प्रयोग गर्छन्, तर पानी परेपछि फेरी भारतीय सडकमै जानुपर्छ । बर्खाको तीन महिना त भारतकै भरमा विद्यालय जानुपर्छ ।
विद्यालयमा पिछडिएका गनगाई, राजवंशी, सन्थाल र मुस्लिम सुमदायका बालबालिका पठनपाठन गर्दै आइरहेका छन् । तीनवटा गाउँका बालबालिकाहरुको एक मात्र विद्यालय भनेकै दीपेन्द्र प्रावि हो । भारतीय सडक हँुदै विद्यालय आउन निकै समस्या परेको शिक्षक फूलमाया राजवंशीले बताइन् ।

‘सीमामा एसएसबीका जवान खटिएका हुन्छन्, सँधै सोधीखोजी गरेर हैरान बनाउँछन्, दुःख चाहि अहिलेसम्म दिएको छैन । तर विद्यालय आउने आफ्नै राष्ट्रको सडक नहँुदा हामीलाई सास्ती छ’– शिक्षक राजवंशीले भनिन् । गाउँमा विद्यालय नभएपछि बालबालिकाको शिक्षाका लागि स्थानीय हरिशचन्द्र गणेश र आमलाल गणेशले ५ कठ्ठा ३ धुर जमिन दान दिएपछि यस ठाउँमा विद्यालय स्थापना भएको हो ।

कुनै बेला तीन सय भन्दा बढी विद्यार्थीको चाप हुने विद्यालयमा हाल एक सय ५१ जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रधानाध्यापक शेषलाल राजवंशीले बताए ।
विद्यालयमा ४ चार स्थानीय, एक राहत, दुई बाल विकास र एक कार्यालय सहयोगी गरी ८ जना कार्यरत छन् । विद्यालयका प्राधानाध्यापक राजवंशीले भने– ‘विद्यालय स्थापना भएको ३० बर्ष भइसक्यो, हामी अहिले पनि भारतीय भूमि र खेतवारीको सहारामा आवतजावत गर्न बाध्य छांै ।’ विद्यालय आसपासमा स्थानीयको निजी जमिन छ, तर कसैले विद्यालय जाने सडक नबनाइदिएको उनले दुःखेसो पोखे । एक जना स्थानीयले सडक बनाउन जमिन दिने बताए पनि अर्को जमिन धनीले नमानेपछि बाटो बन्ने सपना देख्न पनि छाडेको उनको भनाइ छ ।
विद्यालयमा कुनै संरचना निर्माण गर्नुपर्दा सामग्री ल्याउन पनि त्यही भारतीय सडक नै प्रयोग गर्नुपर्ने हुन्छ, त्यसलै विद्यालयको कुनै प्रगति हुन नसकेको प्रअ राजवंशीले बताए । शिक्षक पञ्चानन्दसिंह राजवंशीले अरुबेला खेतबारीबाटै हिँडेर विद्यालय आइपुग्छांै, केही शिक्षकको मोटरसाइकल छ, बर्खामा मोटरसाइकलमा चढेर आउँदा खेतीबारीबाट आउन सकिँदैन, त्यसबेला भारत नै जानुपर्ने हुन्छ– उनले भने । झट्ट हेर्दा नेपालको विद्यालय हो कि भारतको भनेर छुट्याउनै गाह्रो हुने दशगजाको विद्यालयको पीडा अहिलेसम्म झापाका सरोकारबाला निकायले बुझेको छैन ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर