Aamsanchar

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

Author Image
आइतवार, असोज १, २०७४

काठमाडौँ,

नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।
केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताउनुभयो । केन्द्रमा उपचारका लागि भर्ना भएकामध्ये मानसिक असन्तुलन र शारीरिक अक्षमताका कारण २११ र पूर्णकालीन सुविधा नलिई एक हजार २७२ घर फिर्ता भएका छन् । हाल ७८ जनाले केन्द्रमा उपचार गरिरहेका छन् ।
स्थापनाको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले लागूऔषध दुव्यर्सनलाई रोक्न घरबाटै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय पुरुष सँगसँगै महिला पनि दुव्यर्सनमा फस्दै गएको बताउँदै केन्द्रले महिलाको उपचारका लागि पनि छुट्टै उपचार केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।
केन्द्रका अध्यक्ष सीमा अर्यालले देशको उत्पादनशील र विकासका आधारस्तम्भका रुपमा रहेका युवा लागूऔषधको जोखिममा परेकाले तिनको उपचारका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
संस्थाका सचिव लामाले लागूऔषधमुक्त समाज निर्माण गर्ने तथा लागूऔषध प्रयोगकर्तालाई सभ्य नागरिकका रुपमा स्थापित गर्ने उद्देश्यले केन्द्रले लागूऔषध प्रयोगकर्तालाई योगाभ्यास, खेलकुद, नृत्य, साधनालगायत कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति तथा प्रहरीलाई सम्मान गरिएको थियो ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर