Aamsanchar

पैसा नहुँदा उपचारमा समस्या, सहयोगको अपिल

Author Image
मङ्गलवार, असोज ३, २०७४

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


गत शनिबार देखि गम्भिर बिरामी भएर थला परेका शिवसताक्षी ११, सृष्टि टोल दूधेका २१ वर्षीय सानु सुब्बा (बुदुङ्गे) लाई आर्थिक अभावले गर्दा उपचार गर्न समस्या भएको छ ।

सम्पत्तिका नाममा ऐलानी ४ धुर मात्र जग्गा भएका उनलाई सातादिन अघि रुघा मर्घी लागेर औषधी उपचार गर्ने पैसा नभएपछि घरमै लुकीछिपी बसेको छिमेकीले पत्ता लाएपछि तत्काल उपचारका लागि पहल गरिएको थियो । अत्यन्तै नाजुक अवस्थामा छिमेकीले फेला पारेपछि उपचारका लागि दमकस्थित लाइफ लाइन लगेपनि उपचार असम्भव हुने भनेपछि पुनः छिमेकीहरु जुटेर बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गराएका हुन् ।

बाबु पनि नभएका, भएका दाजु तथा आमा पनि सुस्त मनस्थिति तथा भएको भाइ पनि भारतमा भएकाले घरका लागि चाहिने गाँसको व्यवस्था सानुले नै गर्ने गर्थे । तर, अन्ततः उनी नै थला परेपछि घरमा समेत समस्या भएको छ ।

स्थानीय समाजसेवी मदन राईले सानुलाई बचाउनका लागि हरतरहले लागेको बताएका छन् । उनी भन्छन् ः गाँउलेहरुबाट ऋण तथा सहयोग गरी जुटेको ५५ हजार रुपैंया खर्च भइसकेको छ । अब कति लाग्ने हो, त्यसका लागि सबैसंग सहयोगको अपिल गरेका छौं । मदन भन्छन् ः उसको अवस्था देखेर वैदेशिक रोजगारमा रहेका दयालु मनले अन्दाजी ६५ हजार सहयोग गरेका छन् । तर, लाग्छ त्यतिले मात्र उसको उपचार पुग्दैन ।

त्यस्तै अर्का छिमेकी अशोक राई भन्छन् ः एउटा युवा केटाको ज्यान पैसा नभएर जाँदैंछ, तपाँईंले खाने एउटा गुट्खाको पैसा दिएर उसलाई बचाइदिनु हुन अनुरोध गर्दछु । हामी उसको उपचारमा कुनै कसुर बाँकी राख्दैनौं । सहयोगको अपिल गर्दछौं ।

उक्त स्थानका अर्जुन चौहान, नबिन गुरुङ, शोभा चौहान, रोबिन चौहान, फूलमाया लिम्बु लगायतले उनको स्वास्थ्य उपचारका लागि तत्काल रकम जुटाइदिए पछि अस्पताल भर्ना गरिएको थियो ।  अस्पतालका अनुसार उनी निमोनियाबाट ग्रसित थिए र हाल सघन उपचार कक्षमा उनको उपचार भइरहेको बताइएको छ ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर