Aamsanchar

पुल निर्माणको काम सुस्त

Author Image
बुधवार, असोज ४, २०७४

तेह्रथुम,

छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसँग जोड्ने म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा मोटर चल्ने पुल निर्माणको काममा ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ ।

एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्तगतिमा काम गरिरहेको छ । दुई वर्षअघि तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो ।

रु पाँच करोड ९८ लाख ४७ हजार लागतमा एक वर्षभित्र सक्नेगरी कम्पनीले कामको जिम्मा लिएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गर्दा समेत कम्पनीले ६० प्रतिशत काम मात्रै सकेको छ । पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको स्वीस सरकार विकास सहयोग एसडिसी अन्तर्गतको स्थानीय सडक पुल विकास कार्यक्रमका प्राविधिक अमरेन्द्र चौधरीले सामान ढुवानीमा समस्या हुँदा निर्माणमा ढिलाइ भएको बताउनुभयो ।

करिब ४८ मिटर लम्बाइ र ६ मिटर चौडाई भएको उक्त पुलको पिलर निर्माण अन्तिमचरणमा पुगेको छ । यहाँका बासिन्दा धनकुटाको सिधुवा पुगेर कोशी राजमार्गबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ आउने गरेका छन् । सडक निर्माण भए पनि पुल नबन्दा अर्को जिल्ला घुमेर सदरमुकाम आउनुुपर्ने बाध्यता भएको ओख्रेका उमेश नेपालीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले यथाशीघ्र पुल निर्माण सक्न निर्देशन दिएको बताउनुभयो ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर