अमित खम्बू/
अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिकास्थित जिल्लाकै पुरानो बजार शनिश्चरेमा प्रत्येक शनिबार लाग्ने खसीबाख्रा बजारको स्तर विगत तीन वर्षदेखि खस्किँदै गएको छ ।
छिमेकी राष्ट्र भारत सरकारले अचानक चौपाया निकासीमा लगाएको प्रतिबन्ध तथा सम्बन्धित निकायले बजारको स्तरोन्नतिमा चासो नदेखाउँदा खसीबाख्रा बजारको अवस्था खस्किँदै गएको व्यापारीहरु बताउँछन् । बजारमा बिक्रीका लागि ल्याइने खसी स्थानीय शनिश्चरे बजारँसगै जिल्लाका बिभिन्न स्थानहरु बिर्तामोड, बिर्ताबजार, चन्द्रगढी, भद्रपुर लगायतका स्थानहरुमा खपत हुने तर अधिकांश खसीबाख्राहरु भने भारत निकासी हुने गरेको बजारका ठेकेदार अशोक अधिकारी बताउँछन् ।
स्थानीय ठाउँसँगै पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र इलामदेखिका खसीबाख्राहरुको खरिदबिक्री हुने झापाकै पुरानो बजार भारत निकासीमा प्रतिबन्ध तथा हाल भारतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका कारण खस्किँदै गएपछि स्थानीय व्यापारी र कृषकहरु थप मर्कामा परेको ठेकेदार अधिकारीले बताए । उनी भन्छन्– सरकार र सम्बन्धित निकाय यसप्रति गम्भीर नहुने हो भने बजार विस्थापित हुने सम्भावना बढेको छ ।
पहिले खसी नपाउने समयमा ५०देखि ६०वटा खसी र ३५०देखि ४००वटा बाख्रा बिक्री हुँदै आएको सो बजारमा प्रतिबन्धको कारण हाल मुस्किलले हप्तामा १५० वटा बाख्रा बिक्री हुने गरेको स्थानीय व्यापारी दलबहादुर गुरुङले बताए । खसी भने १०० वटासम्म बिक्री हुने गरेको छ । निकासी नभएपछि पारिको व्यापारी नआउने र त्यसबाट स्थानीय व्यापारी र कृषकलाई मर्का पर्ने हुँदा आफूहरु समस्यामा परेको मासु पसल व्यवसायी बुद्धशान्ति गाउँपालिका निवासी लोकबहादुर श्रेष्ठले बताए ।

हालको बजार मूल्य अनुसार बाख्रा दुई हजारदेखि चार हजार रुपैयाँसम्म र खसी १० हजारदेखि २५ हजार रुपैयाँसम्मा बिक्री हुने गरेको बजारमा प्रत्येक हप्ता औषतमा ५०देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको बताइएको छ ।
खसीबाख्रा ल्याउदा प्रहरीको सास्ती
स्थानीय व्यापारी हरि पोखरेल इलाम जिल्लाका इलाम र मंगलबारे बजारबाट खसीबाख्रा किनेर ल्याउँदा प्रहरीले अनावश्यक दुःख दिने गरेको बताउँछन् ।
जहाँबाट खसीबाख्रा खरिद गरेर ल्याउने हो सम्बन्धित जिल्ला पशु सेवा कार्यालयबाट बिक्रीका लागि लिएको सिफारिस पत्र हुँदा समेत प्रत्येक चेकपोस्टमा रहेका प्रहरीलाई विभिन्न बहानामा दुई सयदेखि पाँच सय रुपैयाँसम्म बुझाउनुपर्ने उनले बताए । सो विषयमा प्रहरी प्रमुखसँग कुरा राख्दा झर्कोफर्को नगरिकन हात मिलाएर लैजाँदा त भई हाल्छ नि भन्दै बेवास्ता गर्ने गरेको उनी बताउँछन् ।
ट्राफिक प्रहरीको निशानामा व्यापारी र चौपाया बोक्ने सवारीसाधनः
प्रतिबन्धको मर्का खेपेको व्यापारीहरु र चौपाया ओसारपसार गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले समेत विशेष निगरानी गर्ने गरेको बताउँछन् ।

सवारी साधनमा बोक्न पाइँदैन हिँड्याएर ल्याउनुपर्छ भन्दै व्यापारीलाई थर्काउँछन् । हिँड्याएर ल्याउन भौगोलिक रुपमा समय र चरन क्षेत्रको अभाव भएको हुँदा सवारी साधनको प्रयोग गर्नुको विकल्प नभएको अर्का व्यापारी हेमबहादुर कटुवालले बताए ।
एउटा बजारदेखि अर्को बजारसम्म लैजाँदा समेत प्रहरीले जरीवाना लिने गरेको उनले दुखेसो पोखे ।
प्रतिबन्धको अवस्थामा चोरी तस्करी मौलाउदै
भारत सरकारले चौपाया निकासीमा प्रतिबन्ध लगाए पनि चोरीतस्करीको माध्यमबाट बाख्राहरु निकासी गर्ने गरेको स्वयम् व्यापारीहरु स्वीकार्छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमामा बस्ने एसएसबीलाई प्रति गोटा वा मासिक रुपमा लाइन बुझाई भारत निकासी गर्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारी भन्छन्– भारतीय एसएसबीलाई मासिक १० देखि १५ हजार रुपैयाँसम्म बुझाउँछौं ।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुझाउने लाइनको विषयमा भने बताउन चाहेनन् ।
के भन्छन् व्यापारीहरु ?
सरकारले कृषि कार्यक्रम अन्र्तगत विभिन्न योजनामा बजेट बिनियोजन गर्छ, कृषकको आर्थिक जीवन सुधार र कृषि क्षेत्रको विकास गर्ने नाउँमा तर त्यही कृषकले उत्पादन गरेका सामग्री ढुवानी गर्ने क्रममा प्रहरीलाई जरिवाना, राजनीतिक दलमा आवद्ध समूहलाई दादाभत्ता दिनुपर्दछ, अनि कसरी हुन्छ कृषि क्षेत्रको विकास ? उनीहरु प्रतिप्रश्न गर्छन् । खरिद बिक्रीको क्रममा खसीबाख्राहरु एक बजारदेखि अर्को बजार वा स्थानसम्म सवारी साधनमा ढुवानी गर्न पाउनुपर्ने, नेपाल सरकारले चौपाया निकासीका लागि भारत सरकारसँग पहल गर्नुपर्ने उनीहरु बताउँछन् ।
यता यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सई कालीदास रेग्मीसँग बुझ्दा पशु ऐनको मापदण्ड अनुसार एक स्थानदेखि अर्को स्थानसम्म चौपाया ढुवानी गर्न पाइँदैन भन्ने निर्देशिकामा उल्लेख नभएको तर ओभरलोडको विषयमा भने ट्राफिक प्रहरीले जरिवाना लिन सक्ने बताए । ‘ढुवानीको क्रममा पशुलाई असहज भने हुनुहुँदैन’– उनले भने ।
त्यस्तै अर्जुनधारा नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडाका अनुसार खसीबाख्रा बजार व्यवस्थित गर्न सम्बन्धित वडा कार्यालयले अध्ययन तथा अनुसन्धान गरी नगरपालिकामा आएको सिफारिस अनुसार नगरपालिका बोर्डबाट त्यसको व्यवस्थापनको लागि आवश्यक कदम चालिने बताए ।
त्यसैगरी पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका पशु चिकित्सक मुकेश सिंहका अनुसार चौपाया निकासीमा भारत सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नका लागि दुई देशका सरकारबीच सम्झौता नभई यसको समाधान गर्न नसक्ने बताए । नगरपालिकाको एक कठ्ठा र लिजमा थप ४ कठ्ठामा सञ्चालन हुँदै आएको सो खसीबजार चालू आर्थिक वर्ष ०७४÷०७५मा तीन लाख ४६ हजार रुपैयाँमा देउराली काष्ठ फर्निचर उद्योगका भोगेन्द्र तिम्सिनाले ठेक्का पाएको बताइएको छ ।
जिल्लामा हाल शनिश्चरेसँगै धुलाबारी, सुरुङ्गा, भद्रपुर, दमक, दामुना र राजगढमा खसीबाख्रा बजार सञ्चालन हुने गरेको छ ।

