Aamsanchar

दमकमा मासिक एक सयमा सुरक्षागार्ड !

Author Image
बुधवार, असोज ४, २०७४

दमक।

झापा दमकको मुख्य बजारमा व्यवसायीहरुले रु. एक सयमा रातको समयमा हेरचाहका लागि सुरक्षागार्ड राखेका छन् । दमकको मुख्य बजार, घिमिरे मार्केट तथा नमूना बजार आसपासको हेरचाह गर्न व्यवसायीहरुले नीजि सुरक्षागार्ड राखेका हुन् ।
बारम्बार रुपमा दूलेचोरको बिगबिगी भएपछि र लागूऔषध प्रयोगकर्ताहरु आएर हैरान लगाएपछि स्थानीय ब्यवसायीहरुको अगुवाइ र दमक उद्योग वाणिज्य सघको संयोजनमा नीजि सुरक्षागार्डहरु राखिएको हो ।
दमक उद्योग वाणिज्य संघका सदस्य तथा बजार ब्यवस्थापन उपसमितिका संयोजक टीका प्रसाईंका अनुसार सोमबार रातिदेखि नीजि सुरक्षागार्डहरुको ब्यवस्था गरिएको छ ।
तत्काल चार जना नीजि सुरक्षागार्डहरु रहनेछन् । उनका अनुसार सुरक्षागार्डको ब्यवस्थापनका लागि एक पसल बराबर मासिक एकसय रुपैयाँमात्र उठाइएको छ । केही समय अघिदेखि नै राख्ने तयारी भए पनि अहिले सम्भव भएको उनको भनाइ रहेको छ ।
प्रहरीसँग समन्वय गरेर नै नीजि सुरक्षागार्डहरुले काम गर्ने बताइएको छ । स्थानीय ब्यापारीहरुले बारम्बार रुपमा सटर फोरेर सामान चोरी भएको र लागूऔषध प्रयोगकर्तादेखि लिएर शंकास्पद ब्यक्तिहरुको चहलपहल हुने गरेपछि व्यवसायीहरुले सुरक्षाको माग गरेका थिए ।
चाडपर्वको समयमा अझ यस्ता गतिबिधि बढ्न सक्ने भएपछि समयमा नै सचेत भएर आफ्नो सुरक्षाका लागि व्यवसायीहरुले आफैं तदारुकता देखिएको समेत जनाइएको छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर