Aamsanchar

झापाली व्यवसायी चिन्तित

Author Image
शुक्रवार, असोज ६, २०७४

बिर्तामोड।

चाडपर्वको समयमा समेत व्यापार व्यवसाय नफस्टाएको भन्दै झापाका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।सीमावर्ती भारतीय बजारमा गएर नेपालीले घरायसी सामग्री सहजै खरिद गरेर ल्याउन सक्ने भएपछि स्थानीय व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् ।

अन्य समयमा समेत झापासहित मेची अञ्चलका उपभोक्ता सीमावर्ती भारतीय बजारमा सामान खरिदका लागि केन्द्रित हुन्छन् । झन् चाडपर्वको समयमा त उनीहरुको प्रमुख बजार नै भारतीय सीमावर्ती क्षेत्रका बजार हुन्छन् ।
भारतीय बजारमा नेपालमा भन्दा सस्तोमा सामग्री खरिद गर्न पाइने भएपछि अधिकांश नेपाली भारतीय बजार पुग्छन् । पूर्वीनाका काँकरभिट्टा हुँदै पानीट्यांकी, नक्सालवारी, शिलगढीसम्म पुगेर नेपालीले सामान खरिद गर्ने परिपाटी बढेपछि पूर्वको मुख्य बजार बिर्तामोडसहित आसपासका व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् ।
भद्रपुर हुँदै दक्षिण क्षेत्रका अधिकांश मानिस पनि सीमावर्ती बजारमा नै केन्द्रीत हुन्छन्, जसका कारण त्यस क्षेत्रमा पनि व्यापार व्यवसाय फष्टाउन नसकेको व्यवसायीले बताएका छन् । दशैं–तिहार जस्ता ठूला चाडमा मनग्ये सामग्री बिक्री गर्ने आशामा बसेका व्यवसायी सामान खरिदका लागि उपभोक्ता नआएपछि चिन्तित बनेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

उनले भने– ‘खुल्ला सीमानाका कारण मेची पारि पुगेर उपभोग्य सामान ल्याउँछन्, जसले गर्दा यहाँका बजारमा खासै दशैंको समयमा समेत चहलपहल देखिएको छैन ।’
उपभोग्य सामग्री मात्र होइन, मोटरपाट्र्सको समेत कारोबार भारतीय बजारबाटै सर्वसाधारणले गर्ने गरेका छन् । जसका कारण राज्यलाई वर्षेनि करोडौं रुपैयाँको नोक्सानी पुग्ने गरेको बताइन्छ । सामान खरिदका लागि भारतीय बजार पुगेका सर्वसाधारणले मोटरपाट्र्स भारतबाटै खरिद गरेर ल्याउँदा यहाँका ग्यारेज सञ्चालकहरु मारमा परेको बताइएको छ ।
पानीट्यांकी बजारमा नेपालीको भीड हुँदा समेत झापाका काँकरभिट्टा धुलाबारी, चारआली, बिर्तामोड, सुरुङ्गा, दमक, शनिश्चरे जस्ता नाम चलेका र पुराना बजार सुनसान छन् । कतिपय पसलेले बोहनी समेत नगरी पसल बन्द गर्नुपरेको बताएका छन् । अधिकांश सर्वसाधारण भारतीय बजारमा केन्द्रित हुँदा व्यापार व्यवसायको मुख्य सिजन मानिएको चाडपर्वमा समेत कारोबार खस्किएपछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।
सामान ओसारपसारमा तीन पाङ्ग्रे
भारतीय बजारमा खरिद गरेको सामग्री नेपाल ल्याउन भारतीय प्रहरीले दुःख दिन थालेपछि सामान ओसारपसारका लागि तीन पाङ्ग्रे समेत प्रयोग गर्ने गरिएको छ ।
उपभोक्ताले मोटरपाट्र्स र अन्य विद्युतीय सामग्री समेत तीन पाङ्ग्रे सवारीमा ल्याउने गरेका छन् । नेपाल प्रहरीले समेत तीन पाङ्ग्रे सवारीमा ल्याइएको सामान चेकजाँच नगर्ने भएपछि अधिकांशले तीनपाङ्ग्रेलाई सामान ओसारपसारको माध्यम बनाउन थालेका छन् । स्कुटर जस्तोे तीन पाङ्ग्रे सवारीमा शारीरिक अशक्तता भएका व्यक्ति सवार हुन्छन् । शारीरिक अशक्तता भएकै व्यक्ति यस्तो कारोबारीमा संलग्न हुने गरेको पाइएको छ । उनीहरुको दिनभरिको धन्दा नै वारिपारि हुने गर्छ ।
नियमनकारी निकायले समेत उनीहरुलाई चेकजाँच नगर्ने भएपछि महंगा र नेपालमा प्रतिबन्धित सामग्री समेत सहजै नेपालसम्म आइपुग्ने गरेको छ । मेची भन्सार कार्यालयको गेट अगाडिबाटै यस्ता सामग्री खुलेआम नेपाल भित्र्दा न त भन्सार कार्यालयले नै हेरेको छ, न त सुरक्षा निकायका अधिकृतहरुले नै यस विषयमा चासो दिएका छन् ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर