Aamsanchar

देशभरका निर्माण व्यवसायीहरु आन्दोलित

Author Image
मङ्गलवार, असोज २४, २०७४

दिवंगत गौचनको आत्माको चिरशान्तिको कामनाकोलगि एक मिनेट मौनधारणको क्रममा निर्माण व्यवसायी झापा शाखाका पदाधिकारीहरु ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

 असोज २४। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष. शरदकुमार गौचनको हत्याको विरोधमा नेपालभरका निर्माण व्यवसायी आन्दोलित बनेका छन् ।
सोमबार घरबाट अफिस जानेक्रममा काठमाडौंको शान्तिनगरमा गोली हानी गौचनको हत्या भएको थियो । निमार्ण व्यवसायी संघ झापाले मंगलबार पत्रकार भेटघाट मार्फत् हत्याको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते निर्माण व्यवसायीहरुको सुरक्षा र दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाउने, हत्यारा पत्ता लगाइ हिरासतमा नलिएसम्म बोलपत्रका सम्पूर्ण कार्यमा सहभागी नहुने र असोज २५, २६ र २७ गते सम्पूर्ण निर्माण कार्य बन्द गर्ने भएका छन् ।
संघका झापा अध्यक्ष मिलन बस्नेतले महासंघका अध्यक्ष गौचनको हत्याले निर्माण व्यवसायीमाथि ठूलो बज्रपात परेको बताए । गौचनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष बस्नेतले मुलुकको विकास, बजेटको ८० प्रतिशत बजेट परिचालन गर्ने निर्माण व्यवसायी अभिभावकविहीन बन्न पुगेको बताए ।
महासंघका पूर्व केन्द्रीय सदस्य विनोद पोखरेलले स्व. गौचन निर्माण व्यवसायलाई राम्ररी बु्झेको सरल स्वभावका भएको चर्चा गर्दै हत्यारालाई कडा कारवाही हुनुपर्नेमा जोड दिए । संघका निवर्तमान अध्यक्ष दिपेन्द्र पोखरेलले १२ हजार निर्माण व्यवसायी त्यहाँ आश्रित ५० हजार परिवारले अभिभावक गुमाएको बताए । हत्यारालाई तत्काल कारवाही नगर्ने हो भने देशमा विकास निर्माणको काम अघि बढ्न नसक्ने पोखरेलले बताए । उनले मुलुकको ‘विकास पुरुष’को षडयन्त्रपूर्वक हत्या भएको बताए ।
संघका महासचिव ओम पौडेलले गौचनको हत्यासँगै निर्माण व्यवसायीले असुरक्षित महसुस गरेको बताउँदै हत्यारालाई कारवाही नगरे आन्दोलन सशक्त बनाउने जनाए । संघका पूर्व अध्यक्ष गोपालबहादुर थापा, सल्लाहकारहरु इन्द्र खनाल, उपेन्द्रसिंह केदार गिरी, शम्भु कार्की, क्षेत्रीय सदस्य चन्द्र सापकोटा, अग्रज गगन रेग्मी लगायतले हत्याको निन्दा र भत्र्सना गरेका छन् ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर