बिर्तामोड,

निर्वाचन आयोगले सार्वजनिक स्थानमा कुनै पनि दल तथा उम्मेदवारको झण्डा तथा प्रचार सामग्री राख्न नपाउने बताए पनि झापामा दलहरुले निर्वाचन निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् ।

दोस्रो चरण अन्तर्गत आगामी मंसीर २१ गते हुने निर्वाचन आउन १० दिन मात्र बाँकी रहेका बेला दलहरुले निर्वाचन गतिविधि तीब्र बनाएका छन् । झापाका बिर्तामोड, दमक, काँकरभिट्टा, भद्रपुर लगायतका स्थानमा विभिन्न राजनीतिक दलहरुले सार्वजनिक स्थान तथा बिजुलीका पोलहरुमा पार्टीका झण्डा राखेर निर्वाचन आचारसंहिताको खिल्ली उडाएका हुन् ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहिता निश्चित मूल्य र मान्यतामा आधारित हुन्छ । आचारसंहिताले नैतिक बन्धनमा राख्ने मान्यता छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सरकार, मन्त्री, स्थानीय तह, सरकारी कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, राजनीतिक दल, तिनका भातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, आमसञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्थालाई समेत लागू हुने भए पनि राजनीतिक दलहरुले त्यसलाई खासै पालना गरेका छैनन् ।
निर्वाचन ऐनमा आचारसंहिता उल्लंघन गरेमा उम्मेदवारी रद्द गर्न सक्ने समेत व्यवस्था रहेको छ । निर्वाचन आउन केही दिन मात्र बाँकी रहेका बेला दलहरुले आचारसंहितालाई उल्लंघन गरेको पाइएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले सवारी सञ्चालनमा ध्यान नदिएको सर्वसाधारणले बताएका छन् ।
यता जिल्ला निर्वाचन कार्यालय झापाका गोपाल आचार्यले भने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । आचारसंहिता उल्लंघनको विषयमा अनुगमन गर्न मुख्य निर्वाचन अधिकृतले अनुगमन टोली बनाउने हुनाले यो विषयमा आफूले केही भन्न नसक्ने बताए ।

