Aamsanchar

बषौंदेखि पछि परेको दामामझुवा विकास गर्नेलाई मात्र भोट

Author Image
सोमवार, मंसिर ११, २०७४

[अनिल वाग्ले]
बुधबारे।


बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा एउटा यस्तो गाउँ छ त्यहाँ राज्यको आँखा बषौंदेखि पुग्न सकेको छैन । विकास गतिविधि शुन्य प्रायः छ । त्यहाँका स्थानीय कष्ठपूर्ण जिवन विताइरहेका छन् ।

स्थानीय दामा र हँडिया खोलाको बीचमा पर्ने टापुजस्तो यस दामामझुवा गाउँका सर्वसाधारण अहिले पनि विकास निर्माणका कार्यमा राज्यको ध्यानजानुपरोस् भनेर त्यहाँ आउने राज्य पक्षका जिम्मेवार व्यक्ति, राजनीतिक दल र दलका नेताहरुसँग गुनासो मात्र टिपाउन बाध्य छन् । गुनासो सम्बोधन गर्ने कोहि नभेटेको उनीहरुको दुखेसो छ ।

१ सय ६० बढी घरधुरी भएको यस गाउँका सर्वसाधारणलाई राजनीतिक दलहरुले भोट व्याकंका रुपमा मात्र प्रयोग गरीरहेको त्यस क्षेत्रका धेरै सर्वसाधारणको गुनासो छ । स्थानीय खगेन्द्र खनालले झापाको बुधबारे विकसित क्षेत्र हो भनेर चर्चा हुने गरेपनि आफूहरु बत्ती मुनी अँध्यारो भने झैं विकट क्षेत्रका बासिन्दा भएको बताउँछन् ।

त्यस्तै स्थानीय गायत्री दंगालले चुनावका बेला चिप्ला कुरा गर्ने र चुनाव सकिएपछि जनप्रतिनिधिले यहाँको दुःख विसँदा आफूहरुको दैनिकी ज्यादै कष्ठपूर्ण भएको बताए । बुद्धशान्ति १ का वीरेन्द्र घतानीले सचेत नागरिकको बसोवास भएपनि यस क्षेत्रलाई सम्बन्धित निकायले हेपिरहेको आरोप लगाए । विपन्न बर्गको वसोवास रहेको यस ठाउँमा यातायात, पुल, खानेपानी, सिँचाई जस्ता अतिआवश्यक कुराको विकासमा कसैको चासो नजाँदा आफ्नो क्षेत्र पछि परेको स्थानीय भुवन भण्डारीले बताए ।

दुई खोलाको बीचमा पर्ने यस गाउँको पूर्व तिर हँडिया र पश्चिम तिर दामा खोला पर्दछ । ती खोलामा यातायातका साधन आवतजावत गर्ने पुल नहुँदा विद्यालय जाने बालवालिका, विरामी हुँदा बिरामी बोक्ने एम्बुलेन्स जस्ता अतिआवश्यक सवारी साधन जान नमान्ने स्थानीयको दुखेसो छ । बर्षा नहुने बेलामा दुःखले एम्बुलेन्स ओहोरदोहोर गर्ने गरेपनि बर्षाको समयमा अझैपनि स्थानीय विरामीहुँदा झोलुंगो प्रयोग गर्न बाध्य छन् । विद्यालय जाने बालवालिका हिँडेर विद्यालय जान बाध्य मात्र छैनन् बर्षाको समयमा खोला बाढी आयो भने विद्यार्थी विद्यालय जानबाट बन्चित हुने गरेका छन् । दामा खोला अन्तर्गत अँधेरी क्षेत्रमा झोलुंगे पुल स्थानीय महिलाहरुको सकृयतामा केहि बर्ष अघि निर्माण भएपनि त्यस पुलले दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सहजता प्रदान गर्न नसकेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय खगेन्द्र खनालले यहाँका स्थानीय खोलाको समस्याबाट पिडित भएको बताउँदै यी खोलामा पक्कि पुल निर्माण हुनु पर्ने बताउँछन् । पुल निर्माणको चर्चा पटकपटक हुने गरेपनि यस क्षेत्रका खोलामा पुल निर्माण हुन नसक्दा स्थानीय राज्य पक्षसँग आक्रोशित हुने गरेका छन् ।

भोट हुने समयमा आउने राजनीतिक दल र दलका उम्मेदवारले आफू जितेपनि हारेपनि यस क्षेत्रको विकास गरेरै छाड्ने दावी गरेपनि त्यो आश्वासन शिवाय केहि नहुँदा स्थानीयले यतिवेला भोट माग्न आउने उम्मेदवारलाई यस अघिका आश्वासन किन र कस्ले पूरा गरेन ? भन्दै खरो रुपमा जवाफ माग्न थालेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार भोट माग्न आउँदा यस क्षेत्रका सर्वसाधारणले एकै स्वरमा यस क्षेत्रको विकास निर्माणमा उनीहरुको योजना र प्रतिवद्धता माग गर्ने गरेका छन् ।

यस क्षेत्रका सर्वसाधारणले आफूहरु विकट क्षेत्रका बासिन्दा भएको र राज्यद्धारा हेपिएका जनता भएको महसुस हुनथालेको भन्दै विकास निर्माणलाई प्राथमिकता दिने उम्मेदवारलाई मात्र भोट दिने निर्णयमा पुगेको यहाँका धेरै मतदाताले बताएका छन् ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार नेवारले यस क्षेत्रको विकासका लागि वडावाट यस वर्ष सडक ग्राभेलका लागि १ लाख, विजुलीको पोल र कल्भटका लागि ५० हजार छुट्एिको बताएका छन् । त्यस्तै वुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भूर्तेलले यस क्षेत्र सुगम ठाउँको दुर्गम वस्ती भएको बताउँदै गाउँपालिकाले यस क्षेत्रको विकासका लागि थप कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

उनले सडकको स्तर उन्नतीका लागि गाउँपालिकाले थप आर्थिक सहयोग उपलब्ध गराउने बताउँदै महिलाका क्षेत्रमा पनि यस क्षेत्रका महिलालाई स्वावलम्बी बनाउने उद्धेश्यले थप आर्थिक सहयोग गाउँपालिकाले गर्ने र त्यसका लागि स्थानीयले प्रकृया पुर्याएर गाउँपालिकामा आउन आग्रह गरेकी छिन् । उनले यस गाउँको विकासमा गाउँपालिका गम्भिर भएर लाग्ने बताएकी छिन् ।

Views: 155

प्रतिक्रिया (०)