Aamsanchar

सिटौला र लिङदेनको क्षेत्रका जनाता भन्छन्– विकास चाहियो

Author Image
बुधवार, मंसिर १३, २०७४

[सन्तोष शर्मा] 
झापा, 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता उम्मेदवारसँग विकासनिर्माण मागिरहेका छन् । आफ्नो विकासमुखी चुनावी कार्यसूची राख्दै त्यसलाई पूरा गर्ने वाचासहित मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु हरसम्भव प्रयत्न गरिरहेका छन् । यहाँका मतदाता पनि विकासप्रेमी र इमान्दार उम्मेदवारलाई मत दिएर विजय गराउने पक्षमा छन् ।

झापाको दक्षिणी क्षेत्र विकट नै छ । बाटो, बिजुली, खानेपानीलगायत भौतिक पूर्वाधारबाट अधिकांश क्षेत्र वञ्चित छ । सँगै जंगली हात्ती र बाढीको समस्याले जनता आक्रान्त छन् । भौतिक पूर्वाधार निर्माण तथा हात्ती र बाढीको समस्या समाधान गर्न सक्ने उम्मेदवारको खोजीमा यहाँका जनता रहेको कचनकवल गाउँपालिकाका–१ का विजय गणेशले बताउनुभयो । “बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे यहाँको सडकको विशेषता जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “यहाँका बासिन्दा बोली होइन, कामले नै गरेर देखाउने नेताको खोजीमा छन् ।” उहाँले आफूले पार्टी नहेरी काम गर्ने व्यक्ति रोजेर मत दिने बताउनुभयो ।

कचनकवल गाउँपालिका–२ का रोशन दाहालले चारआली–केचना सडक यस क्षेत्रका बासिन्दाको मुख्य माग भएको बताउनुभयो । “यहाँको मुख्य समस्या सडक हो”, उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य पनि अवस्था सन्तोषजनक छैन ।” यहाँका मतदाताले दलभन्दा पनि विकासमुखी उम्मेदवारलाई प्राथमिकतामा राखेको उहाँले सुनाउनुभयो ।

“यहाँका अधिकांश मानिस कृषिमा आबद्ध छन्”, कचनकवल–२ का शेरबहादुर खत्रीले भन्नुभयो, “कृषिलाई प्रोत्साहन गर्ने योजना भएको उम्मेदवार हाम्रो प्राथमिकतामा पर्छ ।” यहाँका बासिन्दाले वर्षेनी बाढीको समस्या भोग्दै आएकाले त्यसको समाधान गर्न सक्ने नेतृत्व चाहेको उहाँले बताउनुभयो ।

उम्मेदवारका कार्यसूची 

उम्मेदवारहरुमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा नेता कृष्णप्रसाद सिटौला, प्रदेशसभा (क) मा भूमिप्रसाद राजवंशी र प्रदेशसभा (ख) मा भगिरथ पोद्दार हुनुुहुन्छ । उम्मेदवार सिटौलाले झापा क्षेत्र नं ३ मा आफूले रु तीन अर्ब ५० करोडको विभिन्न योजना ल्याएको जिकिर गर्नुभयो । “मैले यस क्षेत्रको विकासका लागि धेरै योजना ल्याएको छु”, सिटौलाले भन्नुभयो, “त्यसको निरन्तरतासँगै पूर्णताका लागि पनि आफूले जित्नुपर्ने अवस्था छ ।”

दुई वर्षभित्र ३ नं क्षेत्रको सबै बाटो कालोपत्र बनाइएको बताउँदै उहाँले भन्नुभयो, “चार वर्षभित्रमा यो क्षेत्रलाई नमूना बनाएर देखाउँछु ।” यदि त्यसो गर्न सकिन भने आफूले अर्को पटक मत माग्न जनताकहाँ नजाने उहाँले सुनाउनुभयो । सबै घरमा खानेपानी र स्वास्थ्य सेवाको प्रत्याभूति गराउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभा (क)मा उम्मेदवार राजवंशीले सबै आदिवासी जनजातिलाई राज्यको मूल प्रवाह ल्याइने बताउनुभयो । “यहाँका बासिन्दाले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्नेछु”, उहाँले भन्नुभयो । प्रदेश (ख)मा उम्मेदवार पोद्दारले यसअघिका नेतृत्वले केही गर्न नसकेको काम आफूले गरेर देखाउने जिकिर गर्नुभयो । स्वास्थ्य र शिक्षाबाट वञ्चित तथा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्ने प्रकारको काम गरिने उहाँले बताउनुभयो ।

वाम लोकतान्त्रिक गठबन्धन(राप्रपा)बाट उम्मेदवारमा प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन, प्रदेशसभा (क)मा वसन्त बानियाँ र प्रदेशसभा (ख)मा पूर्णसिंह राजवंशी हुनुहुन्छ । महामन्त्री लिङ्देनले अविकास र पछौटेपनको उपमा पाएको झापा क्षेत्र नं ३ लाई विकास र समुन्नत क्षेत्र बनाइने बताउनुभयो । उहाँले विकासनिर्माणको काम गर्नका लागि नै आफू राजनीतिमा लागेको बताउँदै भन्नुभयो, “विकास मेरो लक्ष्य हो ।” हात्ती आतंकको पीडामा रहेका सो क्षेत्रका बासिन्दालाई राहत दिइने बताउँदैउहाँले भन्नुभयो, “पीडितलाई धेरै क्षतिपूर्ति दिन्छु भन्दिन, म घटना नै हुन नदिने वातावरण बनाउँछु ।”

त्यस्तै प्रदेशसभा (क)मा उम्मेदवार बानियाँले यस क्षेत्रमा मेची नदीले वर्षेनी ठूलो क्षति पु¥याएको बताउनुभयो । “यहाँका जनतालाई अहिले मेची नदी पीडा भएको छ”, उहाँले भन्नुभयो, “यही नदीलाई दीर्घकालीन योजनाका साथ म खुशी र समृद्धिको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गर्छु ।” बाटो, स्वास्थ्य र शिक्षाको कमजोर अवस्थालाई सुधार गरिने उहाँले बताउनुभयो ।

प्रदेशसभा (ख)का उम्मेदवार राजवंशीले आफू किसानको छोरा भएकाले यहाँका बासिन्दाको जीवनस्तर कृषि क्षेत्रको विकासबाट मात्र सम्भव गराई किसानमैत्री योजना ल्याइने बताउनुभयो । “उत्पादन र रोजगारको क्षेत्रमा म काम गर्छु”, उहाँले भन्नुभयो, “निःस्वार्थ भावले राजनीतिमा लागेको छु, मलाई पहिले पनि एक पटक मतदाताले जिताउनुभएको थियो, यस पटक पनि जिताउनु हुन्छ भन्ने विश्वास छ ।”

Views: 114

प्रतिक्रिया (०)