Aamsanchar

झापा–२ का पराजीत नेताहरु जीतको खोजीमा

Author Image
आइतवार, मंसिर १७, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।
दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आउन ५ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका नेताहरुले आफैंले जित्ने दाबी गरिरहेका छन् ।

केन्द्रिय स्तरका नेताहरु चुनावी मैदानमा रहेकाले पनि झापाको निर्वाचनमा सबैको ध्यान केन्द्रित भइरहेका बेला झापाको क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक गठबन्धनको प्रतिनिधित्व गरेका कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उद्धव थापा र बाम गठबन्धनको तर्फबाट एमालेकी प्रतिनिधिसभा सस्य पदकी उम्मेद्वार पवित्रा निरौला(खरेल) दुवै एक–एक पटक पराजय भोगी सकेका नेताहरु हुन् । यिनीहरु दुवै जना जीतको खोजीमा रहेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–४ बाट निवर्तमान संसद प्रेम गिरीसंग पराजय भोगेका थापा यस पटक जित्नेमा ढुक्क देखिएका छन् । त्यस्तै क्षेत्र नम्बर–२ बाट सुधिर शिवाकोटीसंग झिनो मतान्तरले पराजित भएकी निरौला यस पटक तीन वटा पार्टी मिलेकाले विजयी सुनिश्चित भएको दाबी गरिरहेकी छन् । पवित्रासँग कांग्रेसका झापा जिल्ला सभापति थापा चुनाव लड्दैछन् । कांग्रेस सभापति थापा ०७० को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–४ मा एमालेका गिरीसँग पराजित उम्मेदवार हुन् ।

त्यसो त, पवित्रा पनि संविधानसभाको दोस्रो निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएकी थिइन् । कांग्रेसका शिवाकोटीले उनलाई थोरै मतान्तरले पराजित भइन् । यसर्थ दुवैजना पराजित उम्मेदवारहरु यसपटक जीतको खोजिमा रहेका छन् । यसलाई ‘चेली र माइती’बीचको चुनावी प्रतिष्पर्धा भन्न रुचाउँछिन्,– पवित्रा ।

‘मसँग प्रतिष्पर्धा गर्ने उद्धव थापालाई म दाई भन्छु, उहाँ मलाई बहिनी भन्नुहुन्छ,’ पवित्रा भन्छिन्, ‘तसर्थ, यो चेली र माइतीबीचको चुनावी भिडन्त हो ।’
प्रतिनिधि सभाको चुनाव एमाले र काँग्रेस दुवैलाई दोश्रो संविधान सभाको हारको बदला लिने अवसर समेत बनेको छ । प्रतिनिधि सभामा यी दुई नेता बाहेक अन्य नौ जना चुनावी मैदानमा उत्रिएका छन् ।

चुनाव नजिकीएसंगै नेताहरुको दौडधुप पनि निकै बढी रहेका बेला आमसञ्चारकर्मीसंगको टेलिफोन सम्पर्कमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी निरौलाले भनिन्– प्रतिनिधिसभाको तर्फ मेची अञ्चलमा नै एक मात्र महिला उम्मेद्वार हुँ । म सबै महिलाको नेतृत्व गर्दै दाजुभाईको साथमा अघि बढ्ने छु ।

दोस्रो संविधानसभाको निर्वाचनमा तयारी नपुगेका कारण आफु पराजित हुन पुगेको स्मरण गर्दै उनले त्यस बेला एमाले एक्लै हुदाँ पनि झिनो मत अन्तरले पराजित भएको बताइन् । यस पटक एमाले, माओवादी केन्द्र र राप्रपाको साथ र समर्थन रहेकाले ७ हजारबढी मतले विजयी हुने निरौलाले दाबी गरेकी छन् । उनी दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका शिवाकोटीसंग ७ सय मतले पराजित भइकी थिइन् । उनले १३ हजार ८ सय ७५ मत प्राप्त गरेको जानकारी दिइकी छन् ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका थापाले आफु सतप्रतिशत विजयी हुने दाबी गरेका छन् ।

आमसञ्चारकर्मीसंग उनले भने–दोस्रो संविधानसभाको निर्वाचनमा प्रविधिक कारणले मात्रै पराजित भएको हुँ यस पटक विजयी हुनेमा विश्वस्त छु । आफुले जनतासंग गरेका प्रतिबद्धता पुरा गरेकाले पनि यस पटक आफुलाई जनताको साथ रहेको थापाको भनाई छ । उनले २० हजार मत प्राप्त गर्नुलाई पराजय भन्न नमिल्ने दाबी गरे । उनले दोस्रो संविधानसभाको निर्वाचनमा २० हजार १९५ मत प्राप्त गरेको जानकारी दिएका छन् ।

स्थानीय स्तरमा दुवै उम्मेद्वार लोकप्रिय रहेका छन् भने दुवै जनाले पराजयको तितो अनुभव पनि लिइसकेकाले यस पटक पुन को पराजित हुने हो भन्ने विषयले झापा क्षेत्र नम्बर–२ ले निकै चर्चा पाएको छ ।

Views: 178

प्रतिक्रिया (०)