Aamsanchar

झापामा निर्वाचनको तयारी पूरा

Author Image
सोमवार, मंसिर १८, २०७४

भद्रपुर।

झापा जिल्लामा निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको छ । यही मंसीर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्लाको निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार मतदानमा खटिने कर्मचारीलाई नियुक्तिसँगै मतपत्र, मतपेटिका र मतदानमा चाहिने आवश्यक ६८ प्रकारको सामग्री बुझाउने कार्य शुरु भइसकेको जनाएको छ । जिल्लामा रहेको दुई सय ८३ मतदान स्थलमा ६ सय ९२ मतदान केन्द्र मध्ये आइतबार तीन सय १२ वटा मतदान केन्द्रमा खटिने कर्मचारीले मतपत्र र मतदान सामग्री बुझेर लगिसकेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

झापा क्षेत्र नम्बर ४ र ५ का सम्पूर्ण मतदान केन्द्र र क्षेत्र नम्बर १ अन्तर्गतको मेची नगरपालिकाको वडा नम्बर १, २, ३ र ४मा पर्ने केन्द्रमा निर्वाचन सामग्री पठाइसकेको उनले बताए । निर्वाचन सामग्रीलाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पठाउन निर्वाचन कार्यालयले ढुवानीका लागि ट्रक र बसको व्यवस्थापन गरेको उनले बताए ।

झापा क्षेत्र नम्बर १, २ र ३मा पर्ने तीन सय ८० मतदान केन्द्रमा आज सोमबार मतपत्र र मतदान सामग्री पठाइने छ । एउटा निर्वाचन स्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुई जना सहयोगी कर्मचारी गरी आठ जनासहितको कर्मचारीको टोली खटाइएको छ ।

झापामा ५ हजार ५ सय ३६ जना जना कर्मचारी र २ हजार ६४ स्वयम्सेवक गरी ७ हजार ६ सय कर्मचारी खटाइनेछ । निर्वाचन केन्द्रमा खटाइएको कर्मचारीहरु सोमबारसम्म सबै केन्द्रमा पुगेर आफ्नो जिम्मेवारी सम्हालिसक्ने कार्यालयले जनाएको छ ।

Views: 144

प्रतिक्रिया (०)