Aamsanchar

क्षेत्र स्तरीय गायन तथा नृत्य प्रतियोगिता

Author Image
आइतवार, पौष २, २०७४

सुरुङ्गा।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापा क्षेत्र नं. ५को आयोजनामा क्षेत्र स्तरीय गायन तथा नृत्य प्रतियोगिता शुरु भएको छ ।

शनिवार सुरुङ्गास्थित देवकोटा एजुकेशन फाउण्डेशनको परिसरमा शुरु भएको कार्यक्रममा क्षेत्र नं. ५का गायन प्रतियोगिता (जुनियर)तर्फ १९ विद्यालय र नृत्य प्रतियोगिता (सब–जुनियर)मा १८ वटा विद्यालयको सहभागिता रहेको प्याब्सन झापाका उपाध्यक्ष एवम् सांस्कृतिक कार्यक्रम संयोजक एलपी उप्रेतीले जानकारी दिए । जुनियर गायन प्रतियोगितामा पशुपति अंग्रेजी मावि सुरुङ्गाका अंकित राई प्रथम, बेनुबाजा अंग्रेजी मावि लालपानीका सुदीप दाहाल द्वितीय र दिव्यरत्न अंग्रेजी मावि कनकाई–३की प्रेरणा ओली तृतीय भएका थिए ।

गायन प्रतियोगिताको निर्णायक विशाल राई रहेका थिए । त्यसैगरी नृत्य प्रतियोगितामा देवकोटा एजुकेशन फाउण्डेसन प्रथम, दीपजन मावि डाँगीबारी द्वितीय र वण्डरलाइफ मावि झापा गाउँपालिका तृतीय भएका थिए । दक्षिना लामा, केशव कोइराला र भूवन श्रेष्ठले नृत्यतर्फको निर्णायकको भूमिका निभाएका थिए । दोस्रो दिन सिनियर नृत्य, सिनियर गायन र जुनियर नृत्य गरी ३ विधामा प्रतियोगिता हुने तय भएको छ ।

दीपजन माविका प्रिन्सिपल एवम् प्याब्सन झापा क्षेत्र नं. ५का संयोजक लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलको प्रमुख आतिथ्य र प्याब्सन प्रदेश नं. १ संयोजक नारायणप्रसाद घिमिरेको विशेष आतिथ्य रहेको थियो ।

प्याब्सन केन्द्रीय सदस्य गुरुभक्त न्यौपाने, झापा वरिष्ठ उपाध्यक्ष श्रवण पोखरेल, सचिव गौरीमान फागो, कोषाध्यक्ष छत्र कार्की, जिल्ला सदस्य खड्ग राजवंशी, नवयुग शिक्षा निकेतन दुर्गापुरका प्रिन्सिपल अखिलकुमार कोइराला लगायतको आतिथ्य रहेको कार्यक्रममा क्षेत्र नं. ५ सांस्कृतिक कार्यक्रम सहसंयोजक एवम् देवकोटा एजुकेशन फाउण्डेसनका अध्यक्ष हरिप्रसाद फुयाँलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन लेखनाथ गुरागाईंले गरेका थिए ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर