[रोशन भट्टराई ]
बुधबारे,

जेष्ठ नागरीक तथा अपाङ्ग भेटघाट चौतारी होक्सेले मंसिर २२ गते देखि २८ गते सम्म संचालन गरेको ७ दिने श्रीमद् भागवत महापुराणको आयव्यय आज एक समारोहका बिच सार्वजनिक गरेको छ ।

जसअन्र्तगत पुराणको कुल आम्दानी १५,२८,२२७ रुपैँया रहेको छ भने कुल खर्च ५२४६८८ रुपैँया रहेको छ । यसरी कुल आम्दानीबाट कुल खर्च कटाएर हेर्दा पुराण बाट भेटघाट चौतारीले १०,०३,५३९ रुपैँया बचत गरेको देखिन्छ ।

पुराण अघि ३२५ जना र पुराण अवधिभरमा ९१ जना थपिएर कुल ४१६ जना साधारण सदस्य रहेका यस भेटघाट चौतारीमा पुराण अवधिभरमा ३०६ जना आजीवन सदस्य बनेका र ५० जना अक्षय कोष दाता पनि थपिएका छन् ।

ज्येष्ठ नागरीक भेटघाटका निम्ती आवश्यक जग्गा खरिद गर्ने, सत्सङ्ग भवन निमार्ण गर्ने साथै जेष्ठ नागरिकको स्वास्थ्य अक्षयकोष स्थापना गर्नका लागि लगाइएको महापुराणबाट सोचे अनुरुपको सफलता प्राप्त गर्न सकेको भेटघाट चौतारीका सचिव टेकनाथ ढकालले बताए ।
रामप्रसाद रिजालको अध्यक्षता तथा स्थानिय समाज सेवी खडानन्द वाग्ले, दिननाथ ढकाल गजाधर काफ्ले, प्रेमनाथ ढकाल लगायतको आतिथ्यतामा सम्पन्न भएको सभालाई मोहन तिम्सीना र हरिशरण कोइरालाले सहजिकरण गरेका थिए ।

