तपाईंको दाँतमा समस्या छ ? छ भने कस्ता चिकित्सकबाट उपचार गराउने समयमै सोच्नुहोला । नत्र दन्त चिकित्सासम्बन्धी सामान्य ज्ञान समेत हासिल नगरेका नक्कली डाक्टरको फेला पर्नुहोला ।
लखनपुर–२ निवासी दिलकुमारी चौधरी यस्तै डाक्टरको फेला परिन् । उनले विज्ञापन सुनेको भरमा दमकमा रहेको दमक डेन्टल हाउसमा दुखेको दाँत फुकाल्न पुगिन् । जहाँ उनको दाँत कमर्स विषयमा कक्षा १२ पनि उत्तीर्ण नगरेका नक्कली डाक्टरले खोलिदिएका थिए ।
दाँत खोलेको तीनदिन बित्न नपाउँदै उनको गाला सुन्निएर सिकिस्त भएपछि उनी पुनः नक्कली डाक्टर जीवन नेपालीलाई भेट्न आएकी थिइन् । सोही क्रममा औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाको टोलीले उनलाई पक्राउ गरी कारवाही अघि बढाएको छ ।
औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका फार्मेसी अधिकृत गणेश तामाङ र जिल्ला प्रशासन कार्यालय झापाका कानून अधिकृत प्रमोद भट्टराईले पीडित महिलालाई उद्धारका लागि अस्पताल पठाएका छन् भने नक्कली डाक्टरलाई इलाका प्रहरी कार्यालय दमकमा हिरासतमा राख्न निर्देशन दिएका छन् ।
विगत लामो समयदेखि नेपालीले त्यस क्षेत्रका सर्वसाधारणलाई ठगी गर्दै आएको स्थानीयबासीले बताएका छन् । अनुगमनका क्रममा शुरुमा आफूले चौधरीको दाँत फुकालेको अस्वीकार गरे पनि टोलीले अन्य कागजात मागेपछि नेपालीले आफैंले चौधरीको दाँत फुकालेको स्वीकारेका थिए ।
पीडित महिलालाई तत्काल औषधि उपचार गराउन र लागेको खर्च व्यहोर्न लगाउन समेत जिल्ला प्रशासन कार्यालय झापाका कानून अधिकृत भट्टराईले प्रहरीलाई निर्देशन दिएका छन् । योसँगै अनुगमन टोलीले दमकमा रहेको परिधि फार्मेसीलाई बन्द गराएको छ । दर्ता नगरी सञ्चालनमा ल्याएको भन्दै उक्त फार्मेसी बन्द गराएको हो ।
होमप्रसाद राजवंशी सञ्चालक रहे पनि उनी फार्मेसीमा नभेटिएको, सीएमए इन्दू भण्डारीका भरमा औषधि पसल छाडेको र औषधि बेचबिखन गर्दा बिल समेत दिने नगरेको पाएपछि टोलीले उक्त फार्मेसी बन्द गरेको थियो । दमक–११ मा फार्मेसी सञ्चालनमा रहेको उक्त फार्मेसीलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
योसँगै टोलीले दमकमै रहेको मेरिल्याव मेडिकल हल नवीकरण नगरेको पाएपछि कागजातसहित जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित हुन पत्र काटेको छ । त्यस्तै लाइफलाइन अस्पतालमा औषधिमा तोकिएको मूल्यभन्दा बढी मूल्य लिइने गरेको पाइएपछि लक्ष्मीप्रसाद श्रेष्ठको नाममा दर्ता रहेको क्लिनिकलाई पनि कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ ।
यसैगरी सूर्योदय हेल्थ केयर सेन्टर प्रालि दमकलाई पनि डाक्टरको प्रेस्क्रिप्सन अलग–अलग बनाउन निर्देशन दिइएको छ । यसैगरी दमक फार्मेसी, हिमाल फार्मेसी पनि मापदण्ड विपरीत सञ्चालन भइरहेकाले पहिलोपटक चेतावनीस्वरूप सच्चिन आग्रह गर्दै बिरामीलाई दिइने सेवा सुविधामा पारदर्शी बनाउन र सबै बिरामीलाई रसिद दिन आग्रह गरिएको छ ।
नेपालमा प्रतिबन्धित औषधिको बिक्री वितरण भइरहेको जनगुनासो छ भन्दै अनुगमन टोलीका सदस्य भट्टराईले भने– ‘यदि त्यस्तो पाइए तत्काल औषधि पसल बन्द गर्छौं । प्रतिबन्धित औषधि नबेच्नुहोस्’– उनले सुझाव दिए । त्यस्तै पाथीभरा डेन्टल केयरका सञ्चालक अरविन महम्मद भने अनुगमन टोली आएलगत्तै फरार भएका थिए । श्रीराम डेन्टल मेडिकल हल अनुगमनका क्रममा जनस्वास्थ्य कार्यालयमा दर्ता नै नगरी सञ्चालन गरेको पाइएपछि उक्त डेन्टल क्लिनिकलाई पनि तीन दिनभित्र जिल्ला प्रशासनमा उपस्थित हुन आग्रह गरिएको थियो ।
त्यस्तै दमक–२ खरखरेमा सञ्चालित रिदम औषधि पसलमा पनि आवश्यक कागजात देखाउन नसकेपछि तीन दिनभित्र कागजातसहित प्रशासनमा उपस्थित हुन पत्र काटिएको छ । यता अनुगमन टोली आएको थाहा पाएपछि दमकका अधिकांश स्वास्थ्य संस्था बन्द भएका थिए । सिटी डेन्टल हस्पिटल, स्टार डेन्टल केयर क्लिनिक टोली आएको सुइँको पाउनासाथ आधा सटर तानेर भागेको स्थानीयबासीले बताएका छन् ।
यता टोलीले बिर्तामोडमा सञ्चालित चिमरिया मेडिकल हललाई बन्द गराएको छ । नेपालमा प्रतिबन्धित औषधि बिक्री वितरण गरेको भन्दै अनुगमन टोलीले उक्त मेडिकल हल बन्द गराएको हो । कागजात नै निलम्बन गर्दै सात दिनभित्र औषधि व्यवस्था विभागमा उपस्थित हुन आग्रहसहित पत्र काटिएको विभागका फार्मेसी अधिकृत तामाङले बताए ।
योसँगै बिर्तामोडमा सञ्चालित रवीन आयुर्वेदिक फार्मेसीका सञ्चालक रणदेव हजाम र रामनारायण मण्डललाई पक्राउ गर्दै सो फार्मेसीसमेत बन्द गराएको छ । पक्राउ परेका हजाम र मण्डललाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनीहरूलाई ठगी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय झापाका कानून अधिकृत भट्टराईले बताए । अनधिकृत रूपमा सेवाग्राहीबाट पैसा असुलेको उनीहरूमाथि आरोप छ ।
यौनवद्र्धक औषधि बेच्दा
झापाको बिर्तामोडमा सञ्चालित तिम्सिना मेडिकल हलले यौनवद्र्धक औषधि बेच्ने गरेको खुलासा भएको छ । ५० एमजीसम्मको मात्रै यौनवद्र्धक
(भीएग्रा) औषधि बेच्न पाइने कानूनी प्रावधान रहे पनि १०० एमजी सम्मका औषधि बेच्ने गरेको पाइएसँगै उक्त औषधि पसलका सञ्चालक सूर्यप्रसाद तिम्सिनालाई तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित हुन निर्देशनसहित पत्र काटिएको छ ।
टोलीले उनको पसलबाट ४८ थान त्यस्ता प्रतिबन्धित औषधि जफत गरेको छ । त्यस्तै उक्त औषधि पसलबाट नेपालमा प्रतिबन्धित अन्य चार प्रकारका औषधि समेत जफत गरिएको कानून अधिकृत भट्टराईले जानकारी दिए ।