(सुरेन्द्र भण्डारी)
झापा।
वाह्रदशी गाउँपालिका – ३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुनुभयो । राजवंशी समुदायको वाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो ।
राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ र उहाँको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । बेग्लै पहिचान हुनुको पछाडि उहाँको विगतको पेशागत सम्लग्नताको प्रमुख भूमिका रहेको छ ।
वाह्रदशी – ३ तत्कालको राजगढ – ८ का वासिन्दा राजवंशी भद्रपुरस्थित मेची वहुमुखी क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । वि.स. २०४४ सालमा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्नुभएका उहाँ २०५१ सालदेखि २०५५ सम्म नारायणहिटी राजदरवारको सुरक्षामा सम्लग्न हुनुभयो । त्यसको केहीपछि उहाँ तत्कालीन राजा वीरेन्द्रको भीआईपी सुरक्षामा खटिनुभयो । नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उहाँले स्व. वीरेन्द्रको भीआईपी सुरक्षासंगै नारायणहिटी दरवारको सेवाको अनुभव पनि सम्हाल्नुभयो । २०५५ सालमा सूर्यविनायकमा उहाँको सरुवा भएपछि दरवारबाट बाहिरिनु भएका राजवंशीले त्यसपछि ५ वर्षमात्र नेपाली सेनामा काम गर्नुभयो ।
विगतको उहाँको यो अनुभवले गाउँमा अहिले उहाँको बेग्लै पहिचान कायम भएको हो । यो संगै उहाँले राजवंशी शब्दकोष भण्डार तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम समेत गर्नुभयोे । जसका कारण पनि उहाँ त्यस क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएकाले उहाँको पहिचान अझ दर्विलो भएकै कारण उहाँ त्यस क्षेत्रमा मात्र नभई बाहिरपनि उत्तिकै लोकप्रिय हुनुहुन्छ ।
२०५८ सालमा नारायणहिटी राजदरवारमा भएको हत्या काण्डपछि बिरक्तिएका राजवंशीले अन्ततः नेपाली सेनाको जागिर नै छाड्नुभयो । सुरक्षा व्यवस्था अत्यन्त मजवुत भएको दरवार मै राजा वीरेन्द्रसहित सम्पूर्ण परिवारको हत्यापछि नेपाली सेनाको जागिर त्यागेर गाउँ फर्किनुभएका उहाँले अहिले गाउँलेको सेवामा सर्मपित हुनुहुन्छ ।
१५ वर्षसम्म सेनामा जागिरे जीवन बिताउनुभएका राजवंशीका लागि समाज सेवा नौलो थियो । नेपाली सेनामा जागिरे हुँदा कालिवक्स गण अन्र्तगतको इन्जिनियरिङगणमा कार्यारत रहँदा उहाँले धुन्चेदेखि सोमदाङसम्मको १०५ किलोमिटर सडक निर्माण र ९ महिनासम्म सैन्य तालिम केन्द्रमा रहँदा त्रिसुलीको सडक निर्माण गरेको सम्झदै उहाँले गाउँमै विकास निर्माणका काम अघि बढाउने निर्णय गर्नुभयो । अन्ततः उहाँ आफ्नै गाउँको मुहार फेर्न लागि पर्नुभएको छ ।
राजवंशीको अहिलेपनि पहिलो काम विकास नै हो । उहाँ हरदम हर समय विकास निर्माणका काममा केन्द्रीत रहनुहुन्छ । २०६० सालमा नेपाली सेनाको हल्दार मेजरपदबाटै उपदान लिएर घर फर्किनुभएका राजवंशीले सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको पाँच वर्षसम्म अध्यक्ष पदमा रहेर काम गरेपनि उहाँ हरदिन हर समय गाउँको विकास चाहानुहुन्थ्यो । विकासको दृष्टिकोणले पछि परेको राजगढलाई नमूना गाउँ बनाउने सोचका साथ चुनावी मैदानमा होमिनुभएका उहाँ अन्तत सफल भएरै छाड्नुभयो ।
राजवंशीको अहिलेको पहिलो प्राथमिकतामा छ सडक निर्माण । सडक निर्माणसंगै विद्युतीकरण,सिँचाईको व्यवस्था, स्वच्छ खानेपानी र कृषकलाई व्यवसायिक कृषि प्रणलीमा लगेर आत्मनिर्भर बनाउनु नै हो । तर, जंजली हात्तीको उपद्रोले राजगढवासीलाई आक्रन्त पारेपछि उहाँ अहिले अलमलमा पर्नुभएको छ । दिन प्रतिदिन हात्तीको उपद्रोका कारण राजगढवासीको धनजनको सुरक्षा कसरी गर्न सकिएला भन्ने ठूलो चिन्ता छ उहाँमा ।
नेकपा (एकाल)ेको तर्फबाट उम्मेद्वारी दिँदै उहाँले चुनाव जितेपनि उहाँ अहिले सबैका साझा पात्र नेता हुनुहुन्छ । दलगत स्वार्थ भन्दा माथि उठेर उहाँले गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसंग मिलेर वडा नम्वर ३ को राजगढ बजारलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि सार्नुभएको छ । जसका लागि गाउँपालिकाले पनि एक करोड १० लाख रुपैयाँ वजेट विनियोजन गरिसकेको छ । वजारलाई व्यवस्थित गर्न गाउँपालिका अध्यक्ष खड्गप्रसाद र वडा अध्यक्ष वीरेन्द्रप्रसाद काँधमा काँध मिलाएर अघि बढेका कारण राजगढ वजारलाई व्यवस्थित गर्न डीपीआर तयार भइरहेको छ ।
साविक राजगढ ८ मा अहिले १० करोड ६९ लाखको लागतमा फैंदारघाट सिँचाई आयोजना सञ्चालनमा छ । त्यस्तै १६ करोड रुपैयाँको लागतमा राजगढ खानेपानी आयोजना सञ्चालनमा नै हरेको छ । यो पनि वाह्रदशी गाउँपालिका – ३ मा पर्छ । यो उहाँकै अगुवाइमा भएको विकास निर्माणको काम हो । एक आर्थिक वर्षमा झण्डै तीस करोड बजेट एउटै वडामा भित्र्याएर उहाँले विकास निर्माणका लागि देखाएको तदारुकताका कारण उहाँ अहिले सवैका साझा नेता बन्नुभएको छ ।