(नरेन्द्र ढकाल)
झापा।
कोशी पहाडी जिल्ला धनकुटाको नगरपालिका छेउमा नै रहेको क्षेत्रीय संग्राहलय प्रचार प्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ । पुर्वका लोपउन्मुख जातजातिका कला, संस्कृति र उनीहरुले प्रयोग गर्ने गरेको सामाग्रीलाई संग्राहलयमा राखिए पनि प्रचार प्रसारको अभावमाओझेलमा परेको संग्रहालयका सूचना अधिकारी प्रेम राईले जानकारी दिए ।
सरकारले चासो नदेखाएको संग्राहलयका कर्मचारीहरुले गुनासो गरेका छन् । २०३९ सालदेखि कार्य शुरु गरी वि.सं. २०५२ सालमा सर्वसाधारणका लागि प्रर्दशन खुल्ला गरिएको भएपनि प्रचार प्रसार हुन नसक्दा आन्तरिक पर्यटकहरुले थाहा नै नपाउने गरेको सग्रहालयका कर्मचारीले बताएका छन् ।
दैनिक ४र ५ जना मात्र संग्रहालयमा अवलोकन गर्न आउने गरेको सूचना अधिकारी राइले बताए । नेपालका लोपोन्मुख जातजातिको कला, संस्कृति बचाइ राख्ने उद्येश्यका साथ निर्माण गरिएको उक्त संग्राहलयमा आठपहरिया राईको विनायो, धिमालले बजाउने तुन्जाई, मेचेको दोत्रा वाजा जस्ता लोप हुन लागेका सयौं थरीका बाजागाजा सजाएर राखिएको छ ।
त्यस्तै मेचेजातीको संस्कृति झल्कने माटाका मुर्तिहरु, शेर्पा , आठपहरिया, राई, लिम्बु तथा लेप्चाहरुको संस्कृति झल्कने सामाग्री, धिमाल, राजबंशी, थारु, झागड, शेर्पा, सतार लगायतका जातिले प्रयोग गर्ने जातिय हातहतियार लगायतका सामाग्रीहरु संग्रहित छन् ।
संग्रलयमा छ सय भन्दा बढि लोपोन्मुख सामग्रीहरु संग्रहीत गरेर राखिएको कार्यलयले जनाएको छ । धनकुटा नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागी नगर क्षेत्रको पर्यटकिय स्थलहरुलाई प्रमुख ७ क्षेत्रमा छुट्याई पर्यटकिय स्थलहरुको प्वाईन्ट निर्धारण गरिए पनि संग्रहालय भने ओझेलमा परेको हो ।
धनकुटा नगर क्षेत्रको पर्यटकिय स्थलहरुलाई सल्लेरी बन क्षेत्र, चुलीवन क्षेत्र, विहिवारे हटिया ठूलो घर क्षेत्र, चुलिवन क्षेत्र, पात्लेखोला सेतीगंगा गुफा क्षेत्र, भाषा सिलढुंगा पात्ले क्षेत्र, याक्चाना क्षेत्र र हिले क्षेत्रमा गरी ७ क्षेत्रमा विभाजन गरी प्वाईन्टहरु समेत निर्धारण गरिएको पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले वताए ।
जातिय विविधता पाइने उक्त संग्रहालयमा १६ जनजातिहरुको भाषा, संकृति र सामग्रीहरुको संरक्षण गर्ने प्रयत्न गरिएको राईको भनाई छ । वर्षिक १५ हजार पर्यटकले मात्र अवलोकन गर्ने उक्त संग्रहालयको प्रचार प्रसार हुन सक्ने हो भने करिब एक लाखले पर्यटकले अवलोकन गर्न सक्ने राईले बताए ।
नीजि पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढी रहेका बेला सरकारी संग्रहालयहरु गुमनाम हुनुले पनि पूर्वाञ्चलको क्षेत्रीय संग्रहालय ओझेलमा पर्ने गरेको संग्रहालयमा भेटीएका झापाका यादप घिमिरेले बताए । उनले भने– देशमा जातियता र क्षेत्रीयताका कुरा चलिरहेका बेला जातिय एकता र विविधता हेर्न र अध्ययन गर्नका लागि क्षेत्रीय संग्रहालय एउटा उपयुक्त स्थान बन्न सक्छ ।
आफ्नो भाषा लिपि र संकृतिको संरक्षण गर्दै आफ्नो संकृतिको विकास गर्नु पर्नेमा संग्रह गरेर राखेको सामग्रीहरु समेत अवलोकन गर्न सबै एक पटक जार्नै पर्ने घिमिरेको भनाई छ । पूर्वका झापा, इलाम सहित १६ जिल्लालाई नै समेट्न खोजिएको संग्रहालयको विकासका लागि सरकारले ठोस कदम चाल्न नसकेको सर्वसाधारणको बुझाई छ ।
७ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयमा पूर्वाञ्चलका सबै जाति भाष र संकृतिको सकेसम्म संरक्षण गर्ने उद्धेश्यले थप सामग्रही राख्ने तयारी भइरहेको सूचना अधिकारी राईले बताए । सुरक्षाका कारण तत्काल नै सबै सञ्चालनमा ल्याउन समस्या भएको उल्लेख गरे । विशेष गरी शैक्षिक भ्रमणमा जाने गरेका विद्यार्थीहरुले संग्रहालयको अवलोकन गर्नें गरेपनि अन्य आन्तरिक पर्यटक संग्रहालयमा नपुग्ने गरेको कर्मचारीहरुको भनाई छ ।