काठमाडौँ,
वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, शून्यको सिद्धान्त, शुल्बसूत्र नै आधुनिक विज्ञानको मूल स्रोत रहेकामा विद्वानहरुले जोड दिनुभएको छ ।
कुलचन्द्र–जनार्दन अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको कार्यक्रममा भाषाविज्ञानका प्रा डा लक्ष्मीप्रसाद खतिवडाले संस्कृत वाङ्मयका विज्ञानसम्बन्धी मूलभूत अवधारणालाई पश्चिमाले उपयोग गरेर आफ्नै नाम दिएको बताउनुभयो ।
“नेपाली संस्कृतिको ठूलो भाग संस्कृत वाङ्मयमा अडिएको छ, संस्कृत वाङ्मयलाई कर्मकाण्डी धारको स्रोतकेन्द्र मात्र मान्न हुँदैन, वेद, ब्राह्मणग्रन्थ, उपनिषद्, आरण्यक कर्मकाण्डको मात्रै होइन विज्ञान र दर्शनको पनि स्रोत हो, विज्ञान र दर्शनशास्त्र पढ्नेले वेद पढ्नु हुँदैन भन्ने मान्यताले हामी यसमा पछि परेका छौँ”–उहाँले भन्नुभयो ।
प्राचीन र मध्ययुगीन नेपाल दर्शन शास्त्रको स्रोत थियो । हिमवत्खण्ड वा नेपाल भनेर चिनिएको यो भूभाग दार्शनिक अवधारणाको स्रोतभूमि रहेकामा नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभागका पूर्वप्रमुख विष्णु प्रभात, अन्तरधार्मिक परिषद्का अध्यक्ष केशवप्रसाद चौलागाईं, कानूनविद् रवीन्द्र भट्टराई, साहित्यकार रघु अधिकारीलगायतले जोड दिनुभयो ।
वैदिक वाङ्मयभित्र लुकेको ज्ञान विज्ञान अध्ययन अध्यापनको कमीले पछिल्लो पुस्ता आफ्नै भूमिको ज्ञानप्रति अन्धकारमा रहेको सो अवसरमा जानकारी गराइयो । वेद आधुनिक विज्ञानको स्रोत हो भन्ने विषयमा आफूले गरेको अनुसन्धान मुख्य विषय प्रस्तुतिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलगायत संस्थालाई अनुरोध गरेको डा खतिवडाले बताउनुभयो ।
सो कार्यक्रममा वैज्ञानिक र संस्कृृृतका विज्ञलाई पनि आमन्त्रण गर्न अनुरोध गरिएको कार्यक्रममा जानकारी गराइयो ।