झापा,
झापाको अर्जुनधारा–१ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले केही महिना अघि सुरु गरेको हलुवागढ काली खोला सिमसार क्षेत्र योजनाको प्रारम्भिक चरणको काम चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने भएको छ ।
समूहको ब्लक नम्बर–४ अन्तर्गत सिमसार निर्माण स्थलमा आयोजित समूहको २० औं वार्षिक साधारणसभामा योजनाबारे जानकारी गराउने क्रममा सो कुरा बताइएको हो । जिल्ला वन कार्यालय झापाको इस्टीमेट अनुसार निर्माण भइरहेको सो सिमसार क्षेत्र दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वास्थ्य सिमसार भन्ने उदेश्यले निर्माण गरिएको अध्यक्ष चक्र तामाङदारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
योजनाको प्रारम्भिक चरण अन्तर्गत हालसम्म जिल्ला भूसंरक्षणको १० लाख रुपैंयासहित जम्मा ४५ लाख रुपैंयाको लगानीमा दुई वटा पोखरी निर्माण भएको र एउटा आउलेट निर्माणको कार्य भइरहेको जनाइएको छ । त्यसैगरी उक्त क्षेत्रमा बाँकी दुई वटा आउलेट र इनलेट निर्माणको चुनौतीलाई समाधान गर्न समूहलाई थप करिब ५० लाख रुपैंया लाग्ने भएको हुँदा आर्थिक स्रोतको पहिचान र संकलनका लागि पहल गरिरहेको सचिव रंगलाल मिश्रले बताए ।
त्यस्तै सिमसार निर्माणका लागि अर्जुनधारा नगरपालिकाले चालु आथिएक वर्षमा छ लाख रुपैंया बजेट विनियोजन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यता सिमसारको निर्माण कार्य सम्पन्न गर्नका लागि चालु आर्थिक वर्षमा समूहका क र ख उपभोक्ताहरुलाइ बिक्री गरिने काठमा प्रति क्युफिट पाँच सय रुपैंया र आपूर्तिको काठ बिक्रीमा प्रति क्युफिट दुई सय पचास रुपैंयाको दरले शुल्क बढाउने समूहको प्रस्तावसभाले पारित गरेको छ ।
पारित गरिएको उक्त निर्णय सिमसारका लागि आवश्यक स्रोत जुटाउन एक वर्षको लागि मात्र लागू हुने र आगामी वर्षदेखि साविककै दरमा काठ बिक्री गरिने सचिव मिश्रले प्रष्ट पारे । वन पैदावर बिक्रीसँगै पर्यटन क्षेत्र पनि आम्दानीको राम्रो स्रोत हुने भएकाले योजना समयमा सम्पन्न गर्ने चुनौती देखिएपनि केही वर्षपछि सहज हुने बताइएको छ ।
डुंगा शयरका लागि पोखरी सँगै आगामी दिनमा वनभोज स्थल, भ्युटावर, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, मत्स्यपालन, विभिन्न बहुउपयोगि प्रजातिका विरुवाको संरक्षण गर्ने लगायतका निर्माणका कामहरु संञ्चालित योजनामा समेटिएको छ ।
सभाले समूहका अध्यक्ष तामाङद्धारा प्रस्तुत संस्थाको वार्षिक प्रगति प्रतिवेदन सहित चालूआर्थिक वर्षका लागि अनुमानित ८३ लाख ३२ हजा आठ सय २८ रुपैया बराबरको आर्थिक प्रतिवेदन र समूहका सचिव मिश्रद्धारा प्रस्तुत गत आर्थिक वर्षका ९९ लाख २८ हजार पाँच सय ४० रुपैंया बराबरको आर्थिक प्रतिवेदन पारित गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता तामाङले गरेका थिए भने स्वागत उपाध्यक्ष अमर सुवेदीले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक सदस्यहरु क्रमश कृष्णमाया आचार्य, यामबहादुर जवेगु, दलबहादुर बोहोरा, रामबहादुर काफ्लेलाई दोसल्ला ओढाई मायाको चिनोद्धारा सम्मानित गरिएको थियो ।
त्यस्तै गतवर्ष कक्षा ६ को परीक्षामा उष्कृष्ट अंक प्राप्त गर्ने सिंहदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरु रसबी तिम्सिना र सन्ध्या पोखरेललाई जनही दुई हजार पाँच सय २५ रुपैंयाका दरले पुरस्कृत गरिएको थियो ।
सभामा बुधबारे इलाका वन कार्यालय अर्जुनधाराका सहायक वन अधिकृत इन्द्र कुमार मण्डल, वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, समूहका पूर्व अध्यक्ष सन्त गोम्देन, लीलाराज आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । संञ्चालन सदस्य युवराज आचार्यले गरेको थिए ।