बिर्तामोड।
झापाको बिर्तामोड–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले ‘आँखाको नानी संकलन केन्द्र’ स्थापना गर्ने भएको छ ।
दृष्टिबिहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरी दृष्टि प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले ‘आँखाको नानी संकलन केन्द्र’ स्थापना गर्न लागिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अस्पतालमा स्थापना गरिन लागेको ‘आँखाको नानी संकलन केन्द्र’ प्रभाबकारी बन्ने अस्पतालले अपेक्षा गरेको छ । योसँगै अब मेची आँखा अस्पतालमा नै आँखा दान गर्न सकिने भएको छ ।
मृत्यु भइसकेपछि अस्पतालको प्राविधिक टोलीले आँखाको बाहिरी पारदर्शी भाग निकालेर लैजाने ब्यवस्था गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताए । मृत्यु भएको ८ घण्टासम्म आँखा जीवित रहने डा. जोसीले बताए ।
मृत्यु भएको ६ घण्टाभित्र आँखाको बाहिरी पारदर्शी भागलाई निकालेर आँखा बैंक पु¥याउन सके उक्त आँखाबाट अर्को मानिसले ज्योति पाउने डा. जोशीको भनाइ छ । तत्कालका लागि मेची आँखा अस्पतालले आँखा दानको प्रक्रिया पुरा गर्ने र मृत्यु भएका मानिसबाट झिकिएको आँखाको बाहिरी पारदर्शी भागलाई काठमाडौस्थित तिलगंगा आँखा अस्पतालमा रहेको आँखा बैंकमा राखिने व्यवस्था मिलाईएको डा. जोशीले पत्रकार सम्मेलनमा बताए ।
डा जोशीका अनुसार तिलगंगा आँखा अस्पतालको आँखा बैंकमा राखिएको आँखाको बाहिरी भागलाई आवश्यकता परेको बेला मेची आँखा अस्पताल लगायत अन्य आँखा अस्पतालहरुले समेत प्रयोग गर्न पाउने छन् । आँखा दान महत्वपूर्ण भए पनि यसका बारेमा आम नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको मेची आँखा अस्पतालका अध्यक्ष दिनेशकुमार मित्तलले बताए । मेची आँखा अस्पताल बिर्तामोडले आँखाको नानी संकलन गरी दृष्टिबिहीनहरुका लागि आँखा प्रत्यारोपण गर्ने सेवा सञ्चालनमा ल्याएपछि ‘आँखाको नानी प्रत्यारोपण’ गर्ने बिरामीलाई काठमाडौ धाउने समस्याबाट छुटकारा मिलेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरज रौनियारले बताए ।
आँखा दान गर्नेले मेची आँखा अस्पतालमा इच्छा–पत्र फाराम भरेपछि, मृत्यु भएको आठ घण्टा अघि नै आँखाको नानी झिकेर अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । आँखाको नानी प्रत्यारोण निःशुल्क गरिने तर प्रोसेसिङ खर्च न्यून शुल्क लिई सेवा प्रदान गरिने अस्पताल स्रोतले बताएको छ । हाल आँखाको नानी संकलन केन्द्र र आवश्यक पूर्वाधार तथा जनशक्ति पनि तयार भइसकेको आँखाको नानी संकलन तथा परामर्शदाता डा.पुष्पप्रसाद अधिकारीले बताए ।
मेची आँखा अस्पतालले मृत शरीरबाट निकालिने नानी संंकलन गर्न तिलगंगा स्वास्थ्य प्रतिष्ठान, आँखा बैंकको प्राबिधिक सहयोगमा नानी संकलन केन्द्रको उद्घाटन गरिन लागेको हो । अस्पतालबाट हरेक बर्ष १ लाख ६० हजारले आँखाको सेवा लिने गरेका छन् । त्यस मध्ये २५ हजारको शल्यक्रिया हुने गरेको छ । आँखाको परीक्षण गर्नेमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय हुने गरेको छन् भने शल्यक्रिया गर्नेमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली रहेको बताइएको छ । हालसम्म अस्पतालले १ सय ५१ वटा आँखाको नानीको सफल प्रत्यारोपण गरेको जनाएको छ ।