करिब दुई बर्ष अगाडिको घटना हो– झापाको शिवसताक्षी गाउँपालिकाकी एकजना अविवाहित महिलामाथि बलात्कारको प्रयास गर्ने छिमेकी पुरुषलाई कानूनी सजाय भयो । कानूनतः सजाय भोग गरेर ती पुरुष घरमा आए । यही क्रममा ती पीडित महिलाको विवाह भइसकेको थियो । विवाहपछि माइत आएकी ती महिलालाई उक्त पुरुषले पुनः अश्लिल हरकत देखाउन थाले । अब के गर्ने ? मानसिक तनावमा रहेकी ती पीडित महिला अहिले पनि दुविधाले त्रसित बनिरहेकी छन् ।
भर्खरको घटना हो– झापाकै बाह्रदशी गाउँपालिकाकी एकजना विवाहित महिलालाई एकजना छिमेकी पुरुषले बलात्कारको प्रयास गरे । प्रहरीमा परेको उजुरीका आधारमा अदालतले दोषी ठहर गरी सजाय गर्यो । सजाय भुक्तान गरेर ती पुरुष घर फर्के । अहिले ती पुरुष पनि ती पीडित महिलामाथि अश्लिल हरकत देखाउन थालेका छन् । उक्त महिलाका श्रीमान् घटना भएदेखि नै घरमा आउँदैनन् । अहिले ती पीडित महिला त्रास र तनावमा बाँचिरहेकी छन् । यस्तो छ हाम्रो समाजको दृश्य ।
यस्ता बलात्कार र यौन हिंसाका घटनामा परेका महिलाहरुको अवस्था अदालती कारवाहीपछि पनि कस्तो रहेको हुन सक्छ भन्ने यी दुईवटा घटनाले संकेत गरेको छ । कुनै पनि एउटा ब्यक्तिले अर्को ब्यक्तिलाई नियतवश मनोवैज्ञानिक तनाव सृजना गर्नु, गाली बेइज्जती गर्नु, कुटपिट गर्नु, जीउ मास्ने वा बेच्ने कार्य गर्नु÷गराउनु, सामाजिक, सांस्कृतिक वा धार्मिक बहिस्कार गर्नु वा ती कार्यमा भेदभाव गर्नु हिंसाका रुप हुन् । यसैगरी, आर्थिक अधिकार, निर्णयको अधिकार, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, राजनीतिक अधिकार, हिँडडुल वा स्वतन्त्रताको अधिकार आदि बाट वञ्चित गर्ने विभिन्न ढंगका रुपहरु पनि हिंसा नै हुन् । संसारका सबै ठाउँमा हुने सबै प्रकारका हिंसाहरुमा पुरुषको तुलनामा महिलाहरु नै बढी प्रभावित भएको देखिन्छ । अझ, हाम्रो जस्तो पुरुषप्रधान समाजमा लैंङ्गिक विभेदका कारण महिलाहरुमाथि हुने हिंसा बढी नै पाइन्छ । महिलामाथि हुने अधिकांश हिंसा यौन ब्यवहार, आकांक्षा वा तृप्तिका कारण हुने गरेको देखिन्छ । जसको मुलकारण महिलाहरु यौनजन्य वस्तु हुन भन्ने पुरुष सामाजिकरणको प्रक्रिया र मानसिकता नै हो ।
महिलामाथि हुने हिंसाका मुख्य माध्यमहरु उनीहरुमाथि हुने दमन र शोषण हुन् । दमन र शोषणका यस्ता नजानिँदा स्वरुपहरु, जो हाम्रो समाजमा स्वीकृत जस्तो बनेर रहेका छन् । ती मान्यताहरुलाई विसर्जित नगरेसम्म महिलामाथि हुने जघन्य हिंसाका रुपहरुलाई समाप्त पार्न सकिँदैन । महिला माथि हुने हिंसाका जघन्य रुपहरुलाई बलियो बनाउन ती सामान्य रुपहरुले मद्दत गरिरहेका हुन्छन् । त्यसैले सामाजिकरुपमा सामान्यदेखिने ती रुपहरुको अन्त्य गर्न महिलामाथि हुने हिंसाविरुद्धको अभियान केन्द्रित हुनुपर्दछ ।
यसो भनिरहँदा, सामाजिक रुपमा सामान्य मानिएका हिंसाका त्यस्ता रुपहरुको समेत चर्चा गर्न जरुरी हुन्छ । महिलामाथि हुने हिंसालाई बढावा दिने समाजमा सामान्य बनेर रहेका यस्ता विभेदहरुले नै जघन्य अपराध गर्न प्रश्रय दिन्छ– छोरी स्कूल वा कलेजबाट घर ढिला फर्किदा दाजु, बुवा र आमाको शंका र निगरानी बढी हुन्छ भने छोरा ढिलो फर्किदा कुनै काम बिशेषले ढिला भयो होला भनी उल्टै सहानुभूति मिल्छ । छरछिमेकले समेत छोरी ढिला आएकोमा कुरा काट्ने गर्दछन् तर छोरा ढिलो अएकोमा कुनै प्रतिक्रिया आउँदैन । यहींबाट विभेद शुरु हुन्छ । श्रीमती प्रजनन् इच्छा जाहेर गर्न चाहन्न वा सक्दिन, वा श्रीमतीमा यौन चाहना नहुँदा नहुँदै उसले श्रीमान्का लागि यौन कार्यमा सरिक हुन बाध्य हुने गर्दछिन् ।
श्रीमान् उक्त कार्य गर्नुलाई आफ्नो अधिकार ठान्ने गर्दछ । परिवार वा समाजले समेत श्रीमतीले उक्त कार्य गरिरहनु उसको कर्तव्य र दायित्वका रुपमा सहज स्वीकार गर्दछ– यहीबाट शोषण शुरु हुन्छ । घरायसी काममा मात्र सिमित गरिएकी महिला त्यसैको बारेमा समेत निर्णय गर्न पाउँदिन । तर, कुनै घरयासी काममा पुरुषले गरेको निर्णय गलत सावित भयो भनेपनि श्रीमतीलाई गाली गर्दछ । श्रीमतीले ठीक ढंगले कार्य नगरेको भन्दै परिवार र छरछिमेकले उल्टै श्रीमतीलाई नै दोषी देखाउँछन् ।
छोरी, बुहारी वा दिदीबहिनीहरु खाना बनाएर वा घरका घरायसी काम सिध्याएर स्कूल वा कलेज जानु पर्दछ । तर, छोरा ट्युसन पढेर वा घरमा नै कुनै काम नगरी बसिरहेको हुन्छ । यस कार्यलाई परिवार र समाजले सहज रुपमा लिने गर्दछन् । श्रीमतीले बिहान चारबजे नै उठेर कुंडो–पानी, ढिकी–जाँतो, लिपपोत गरी चिया पकाई सकेकी हुन्छिन् तर उक्त समयसम्म श्रीमान् सुतिरहेका हुन्छन् । चिया खाएर श्रीमान् पसल जाने, साथीभाइ भेट्ने, गफ चुट्ने वा रेढियो सुन्ने, पत्र–पत्रिका पढ्ने कार्यमा संलग्न रहन्छन् । तर, महिला पुनः खाना पकाउने, भाँडा माझ्ने वा अन्य कार्यमा निरन्तर लागि रहेकी हुन्छिन् । कुनै काम समयमा भएन भने उल्टै श्रीमान्ले गाली गर्दछन्– यहीबाट नजानिँदो ढंगले अधिकारको हनन्को शुरुवात हुन्छ ।
यस कार्यलाई हाम्रो समाजमा सामान्य रुपमा लिने गरिन्छ । श्रीमतीले प्रत्येक दिन कूल मिलाएर ११ देखि १६ घण्टा काम गरिरहेकी हुन्छिन् । हप्तामा एकदिन वा पन्ध्र दिनमा एकदिन उनले मन लागेको ठाउँमा जान पैसा माग्दा पनि श्रीमान्ले दिँदैनन् । उल्टै उनले गाली खानुपर्छ । श्रीमान्को उक्त रवैयालाई परिवार र समाजले श्रीमती तह लगाएर राखेको भनी प्रशंसा गर्दछ । हेर्दा सामान्य देखिने यस्ता हिंसाका रुपहरुलेनै महिलालाई हेर्ने दृटिकोणमा फरक ल्याउने गर्दछ ।
माथि उल्लेख गरिएका विभेद, शोषण र अधिकार हनन्का रुपहरु पुरुष प्रधान भएको नेपाली समाजमा प्रायःजसो परिवारभित्र नियमित रुपमा सामान्य ढंगले दोहोरी रहने घटनाका रुपहरु हुन् । यी नजानिँदा शोषण र दमनको रुपको पृष्ठभूमिमा महिलामाथि हुने हिंसाको जग तयार हुने गर्दछ । समाज र परिवारले महिलालाई जहिले पनि पुरुषभन्दा कमजोर ठानिरहेको हुन्छ । फलस्वरुप, कुनै महिला एक्लै हिँडिरहेको अवस्थामा उ माथि हेर्ने पुरुषको आँखा यौनिकतामा केन्द्रित हुने वातावरण तयार हुन्छ । एक्लै हिँडेकी महिला कुनै यौन हिंसाको घटनाबाट पीडित बनेको अवस्थामा उल्टै परिवार र समाजले ‘छोरीमान्छे भएर किन एक्लै हिँडेकी ?’ भन्ने प्रश्न खडा गर्दछ र दोश महिलाको नै हुने गर्दछ । यसरी जकडिएको छ हाम्रो समाज । यसरी नै महिलामाथि हुने हिंसाका रुपहरुलाई जानेर वा नजानेर कुनै न कुनै रुपमा परिवार र समाजले नै संरक्षण गरिरहेको छ ।
महिलाविरुद्ध हुने हिंसाका बारेमा कुरा गरिरहँदा महिलाबाट हुने हिंसालाई हामीले बिर्सने गरेका छौं । महिलाबाट पनि हिंसा हुन्छ भन्नेहरुलाई पुरुषवादी मानसिकता भनेर आलोचना गर्ने अतिवादी महिला अधिकारकर्मीहरुको पनि कमी छैन । तर, अहिले आएर विस्तारै यो बहसले गति लिन थालेको छ । महिलाबाट हुने हिंसा बढन थाल्नुमा कतै हामी वकालतकर्मीहरु नै दोशी त छैनौं ? महिला अधिकारका नाममा हाम्रो सामाजिक परिवेश, चेतनाको स्तर, ज्ञान र सीमाभन्दा बढी सैद्धान्तिक ब्याख्या गरेर अधिकारको वकालत गर्ने तर पारिवारिक कर्तब्य, सहकार्य र समान विश्वासको शिक्षा दिनबाट हामी चुकेका त छैनौं ? पाश्चात्य मुलुकहरुले गरेका प्रयोगहरु हाम्रो संस्कार, सामाजिक परिवेश र सामाजिक मान्यताहरुमा के–कति प्रयोग हुन सक्छन् र प्रयोग गर्नु पूर्व तयार हुनुपर्ने आधारहरुलाई ख्याल नगरी अन्धाधुन्द अनुशरण गर्ने अतिवादी कार्यशैलीमा सुधार गर्नु आवश्यक पो छ कि ?
महिलाप्रतिको सम्मान र संवेदनशिलता हाम्रो अध्यात्मिक संस्कारमा पनि थियो । उनीहरुको शक्ति र सहृदयताको उल्लेख भएका धार्मिक ग्रन्थहरु हामीले पढेका छौं । मात्र फरक के हो भने, त्यसलाई अनुशरण नगरी समाज विकासका क्रममा उत्पन्न भएका पुरुषप्रधान सोचलाई अनुशरण गर्नाले आदिम समाज तथा आध्यात्मिक ग्रन्थमा उल्लेख भएका महिलाका भूमिका र स्थानहरु ओझेलमा परेका हुन् । कानूनी रुपमासमेत महिलाका अधिकारलाई सुनिश्चित गर्न एकपछि अर्का सुधारहरु गर्ने क्रम निरन्तर भएको छ । महिलाअधिकारलाई सुरक्षित गर्न बनेका कानूनहरु र महिलाले हत्तपत्त झुठ कुरा बोल्दैनन् भन्ने हाम्रो सामाजिक मान्यताका सकारात्मक पक्षहरु हामीसँग अहिले पनि छन् । तर, दुर्भाग्य के पनि देखिँदैछ भने महिलाका बारेमा गरिएका यस्ता विश्वासहरुलाई टुट्न थालेका घटनाहरु संकेतका रुपमा देखिन थालेका छन् ।
समग्र हिंसाको अन्त्य हाम्रो चाहना हुनुपर्दछ । अहिले हामी विभेदमा परेका विभिन्न वर्ग र समुदायमाथि हुने हिंसाकाविरुद्धमा आ–आफ्नो तहबाट वकालत गरिरहेका छौं । यो स्वभाविक पनि हो र अहिलेको आवश्यकता पनि हो । समाजको यो पुरातनवादी जटिल संरचनामा रहेका विकृति, विसंगती र विभेदबाट उत्पन्न हिंसामा परेका फरक–फरक वर्ग र समुदायहरु फरक–फरक ढंगले पीडित बनेका छन् र विभेद र हिंसाको शिकार भएका छन् । यसमा पनि सबै वर्ग, समुदाय, धार्मिक आस्था र सामाजिक संस्कारका आधारमा हेर्दा महिलाहरु नै सबैभन्दा बढी हिंसामा परेका छन् । यही नै आजको चिन्ता, बहस र अभियानको विषय हो ।