Aamsanchar

मदिरामा ‘मेजर अपरेशन’

Author Image
शनिवार, चैत १०, २०७४

दमक।

झापाका दुई मदिरा उद्योगले मदिरामा नक्कली स्टीकर टाँसेको पाइएपछि आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेको छ । डा युवराज खतिवडा अर्थमन्त्री भएर आएपछि नक्कली स्टीकरमा मेजर अपरेशन सुरु भएको हो। यसअघि नक्कली स्टीकर लगाउने मदिरा भेटिएपनि कुनै कारवाही हुँदैन्थ्यो।

आन्तरिक राजस्व कार्यालय झापाले शिवशताक्षी नगरपालिकास्थित भोलेबाबा लिकर्स र गौरादह नगरपालिकामा सञ्चालित विनर्स लिकर्सको कार्यालय, गोदाम, कारखाना लगायतका महत्त्वपूर्ण ठाउँमा सिलबन्दी गरेको हो । दुबै उद्योगबाट ५० र ७० युपीका सस्ता प्रकारका मदिराको उत्पादन र बेखबिखन गरिँदै आएको छ ।

आन्तरिक राजस्वले भोलेबाबाको कारखाना र गोदाममा गत चैत ३ गते र विनर्स लिकर्समा गत चैत ५ गते छापा मारेर सिलबन्दी गरेको हो ।आन्तरिक राजस्वको दमक शाखाका अधिकृत तिलक थापाका अनुसार सदरमुकाम चन्द्रगढीस्थित कार्यालयबाट आएको टोलीले सिलबन्दी र मुचुल्का गरेको हो । दुबै उद्योगबाट उत्पादित मदिरामा टाँसिएका अन्तःशुल्कका स्टिकर नक्कली भएको आशङ्का गरिएको छ ।

शङ्काको घेरामा परेका त्यस्ता स्टीकरहरु डिस्ट्रिब्युटर र होलसेलरबाट तथा उद्योगका गोदामबाट पनि निकालिएका छन् ।दुबै उद्योगका स्टीकरसहितका मदिराका बोतल विभागमा परीक्षणका लागि पठाइएको छ । आन्तरिक राजस्व विभागका निर्देशक नारायण भण्डारीले झापाबाट दुई मदिरा उद्योगका उत्पादनमा टाँसिएका अन्तःशुल्कका स्टीकर परीक्षणका लागि आइपुगेको पुष्टि गरे ।

‘दुबै उद्योगबाट स्टिकर आइपुगेका छन्’, निर्देशक भण्डारीले भने, ‘तर ती नक्कली हुन् वा सक्कली भत्रे परीक्षण भइसकेको छैन । विभागले छिटै विशेषज्ञ बोलाएर परीक्षण गर्न लगाउँदैछ ।’ विभागले मुलुकका विभित्र मुख्य १० ठाउँबाट त्यहाँ उत्पादित मदिरामा टाँसिएका स्टिकर अध्ययन र परीक्षणका लागि मगाएको भण्डारीले जानकारी दिए ।

‘उद्योगबाट मात्र होइन’, उनले भने, ‘डिस्ट्रिब्युटर, होलसेलर र खुद्रा पसलेबाट पनि सङ्कलन गरिएको छ । नक्कली स्टिकरका विषयमा विभाग गम्भीर छ र यस विषयमा कडा कारबाही गर्ने नीति अख्तियार गरिएको छ ।’ झापाका साथ सुनसरीको धरान, सिराहाको लाहान र काठमाडौंका दुई स्थान, तथा तराईका केही जिल्लाबाट मदिरामा टाँसिएका स्टिकर अध्ययन र परीक्षणका लागि झिकाइएको उनले स्पष्ट पारे । निर्देशक भण्डारीले नक्कली स्टीकर रोक्न विभाग देशैभरि सक्रिय रहेको बताए।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर