(पार्थ मण्डल)
भद्रपुर।
प्रहरीले भजिुया उद्योगका लागि भन्सार छलेर भित्राइएको भारतीय ब्राण्डका चामल र धान लोड गरिएको जीपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले सोमबार बिहान भद्रपुर ५ स्थित झापाचोकबाट चामल र धान लोड गरिएको मे १ च २७५२ नम्बरको जीपपसहित कचनकवल गाँउपालिका ६ निवासी ब्रजबहादुर राजवंशी र भद्रपुर नगरपालिका १ निवासी सञ्जय दाहाललाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जिपमा भारतीय ब्राण्डका ४० बोरा चामल र ९ बोरा धान बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए । उनका अनुसार भारतको हरियाणा राज्य उल्लेख गरिएको बोरामा अनुदानका लागि ल्याइएको अलुवा चामल र धान रहेको छ । जसको नेपाली बजार मुल्य १ लाख १२ हजार रुपैया पर्छ ।
दक्षिणी नाका केचनाबाट भित्राइएको उक्त परिणामको चालम र धान भद्रपुर ५ स्थित जनताचोक छेऊमा रहेको ओम साई फुड्स उद्योगका लागि ल्याइएको प्रहरी निरीक्षक जवेगूले बताए ।
‘दक्षिणी नाकाबाट लोड गरि ल्याउँदै गरेको चामल र धानसहितको जीपलाई शंका लागि चेकजाँचका लागि नियन्त्रणमा लियौ, उनले भने– ‘चामल र धानको बिल नहुनु र सोधपुछ गर्दा भारतीय ब्राण्डका चामल रहेको भेटाएपछि नियन्त्रणमा लिएका हौ, । नियन्त्रणमा लिएको मान्छे र जीपसहितको सामानलाई करिब ६ लाख मुल्य तोकी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।