Aamsanchar

पत्रकार उपचार कोषलाई सहारा नेपालको थप २ लाख सहयोग

Author Image
मङ्गलवार, चैत २०, २०७४

बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित ‘पत्रकार–सहारा उपचार कोष’ का लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले आफ्नो २२औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको उपचारका लागि स्थापित कोषमा थप सहयोग गर्ने घोषणा गरेको हो ।

एक वर्षअघि सहारा नेपालले कोष स्थापनाका लागि पाँच लाख रुपैयाँ प्रदान गरेको र हाल कोषमा ३४ लाख रुपैयाँ जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीले जानकारी दिए ।

संस्थाको सामाजिक उत्तरदायित्व र पत्रकारको सेवामुखी अनि जोखिमपूर्ण कार्यलाई मनन गरी पत्रकारको हितमा उक्त रकम प्रदान गर्न लागिएको सहारा नेपाल सकोसका सचिव महेन्द्रकुमार गिरीले बताए ।

पत्रकार महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुले प्रदान गरेको रकमको ब्याजबाट पत्रकारहरु बिरामी या घाइते भएको अवस्थामा सहयोग प्रदान गर्ने कार्यविधि छ । विभिन्न क्षेत्रबाट पत्रकार सहारा उपचार कोषलाई सहयोग प्रदान गर्ने क्रम जारी रहेको छ । कोषको सेवा लिन पत्रकार महासंघका सदस्यले तीन हजार रुपैयाँ शुल्क तिरेर कोषको सदस्य बन्नुपर्ने हुन्छ ।

हालसम्म करिब एक सय जना पत्रकार कोषको सदस्य भइसकेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले जानकारी दिए । २१ वर्ष अघि स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी मुलुककै उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ ।

वित्तीय रुपमा सवल सहाराको कूल सम्पत्ति र दायित्व साढे ६ अर्ब रुपैयाँ पुगेको छ । सम्भवतः यो देशकै सबैभन्दा बढी कारोबार गर्ने सहकारी बनेको छ । ०७४ फागुन मसान्तसम्म संस्थाको कूल सम्पत्ति ६ अर्ब ४१ करोड ५४ लाख ४ हजार ७ सय ५० पुगेको छ । एक लाख ३० हजार ८०१ जना शेयर सदस्य रहेको सहारा नेपाल साकोस सबैभन्दा बढी सदस्य हुने सहकारी मध्ये पहिलो हो ।

‘समुदाय र सदस्यप्रतिको दायित्व निर्वाहमा अग्रसर छौं’– संस्थाका सचिव महेन्द्रकुमार गिरीले भने– ‘शिक्षा, स्वास्थ्य र कृषिमा विशेष योगदान गर्दैछौं ।’ गिरीले भने– ‘संस्थाहरुले चाहने हो भने समाजमा धेरै परिवर्तन गर्न सक्छन्, त्यसको उदाहरण सहारा नेपाल साकोस बनेको छ ।’
प्रदेश नम्वर १ को ६ जिल्ला कार्यक्षेत्र रहेको सहकारीका ५७ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)