खोटाङ,
वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका २ मा चट्याङ पर्दा हिजो साँझ स्थानीय ६२ वर्षीय सम्मरबहादुर दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी खोटाङकै साकेला गाउँपालिका २ मा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको छ ।
उनका श्रीमान प्रेमबहादुर खत्री घाइते भएका छन् । यस्तै उदयपुरको कटारीमा चट्याङले जलसरी राई, सीता राई, सबिना राई, खेतबहादुर सुनुवार, तारा कार्की र हीरामाया जोग घाइते भएा छन् ।
उता, भोजपुरको पौवादुम्मा गाउँपालिका ५ मा परेको चट्याङले तारा घिमिरे, घाइते भएकी छन् ।यसैगरी मोरङको लेटाङ नगरपालिका ७ मा चट्याङले लालमाया लिम्बू, दिलमाया लिम्ब्ू र नरबहादुर लिम्बू घाइते भएका छन् । प्रदेश नम्बर १ प्रहरी कार्यालयका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।-रेडियो कान्तिपुर