विराटनगर,

नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सोसाइटीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा यही चैत २८ र २९ गते हुने उक्त महाधिवेशनमा मुलुकभरीका २७५ प्रतिनिधिसहित मन्त्रालय, कार्यालय, समाज कल्याण परिषद्, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिको सहभागिता रहने जानकारी दिइयो ।

रेडक्रसका अध्यक्ष संजिव थापाले महाधिवेशनमा संघीय संचारनाअनुसार विधान संशोधन गरी उपशाखा, जिल्ला, प्रदेश र केन्द्रीय तह रहने गरी छलफल गर्ने बताउनुभयो ।
महाधिवेशनमा आव २०७३÷७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५÷७६ को कार्यक्रम तथा बजेटका सम्बन्धमा पनि छलफल गरिने जनाएको छ । आगामी वर्षका लागि कूल रु पाँच अर्ब ८४ करोड बजेट प्रस्ताव गरिएको छ ।

सोसाइटीबाट गत आवमा २३ लाख ९७ हजार ८५९ व्यक्ति लाभान्वित भएको छ । महाधिवेशन सम्पन्न गर्न रु २१ लाख खर्च लाग्ने मोरङ जिल्ला अध्यक्ष सुबोधकुमार सिंहले जानकारी दिनुभयो ।
यसैबीच अध्यक्ष थापाले आजै सोसाइटीको हाताभित्र रु २६ लाख ५० हजारको लागतमा निर्माण गरिएको स्वयम् सेवक भवन र नोवेल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा रु २० लाखको लागतमा स्थापना गरिएको रगत जाँचसम्बन्धी मेशिनको आज उद्घाटन गर्नुभयो । रेडक्रसको मुलुकभरी १० लाख ९० हजार सदस्य तथा एक लाख १० हजार स्वयमसेवक छन् ।

