Aamsanchar

भद्रपुरमा यस्तो छ दादागिरी ? नगरपालिकालाई टेरेन निर्माण कम्पनीले

Author Image
बुधवार, चैत २८, २०७४

भद्रपुर।

नेपाल सरकारको ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गतको नालासहितको सडक विस्तार कार्यमा कमशल सामग्री प्रयोग भइरहेको छ ।

पक्की नाला बनाउने काममा कमशल सामग्री प्रयोग हुन थालेपछि बनाइएको एकदिनमै पक्की नाला चर्किन र भत्किन थालिसकेको फेला परेको छ । यस बारेमा पटक–पटक सञ्चारमाध्यमले समाचार बाहिर ल्याए पनि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम, फिल्ड कार्यालय भद्रपुर र निर्माण कम्पनीले अटेर गरी गुणस्तरहीन कामलाई नै तीव्रता दिँदै आएको छ ।

नगर क्षेत्रमा अहिले धमाधम २ सय करोडको नालासहितको सडक विस्तारको काम भइरहेको छ । भद्रपुर नगरपालिकाको स्वामित्वमा पर्ने पक्की नाला निर्माणको अनुगमन गर्ने बाहेक नेपाल सरकारले कुनै अधिकार नदिएकोले निर्माण कम्पनीले लापरवाही पूर्णढंगले गुणस्तरहीन काम गर्दै आइरहेको व्यापक जनगुनासो बढ्न थालेको छ ।

केही दिन अघि भद्रपुर–७ अन्तर्गतको सरस्वती चोक, भिषम टोल हुँदै अञ्जनीमोडदेखि वोकत्तबारी जोड्ने पक्की नालाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहितको टोलीले स्थलगत अनुगमन गरेका थिए । अनुगमनको क्रममा सो नाला निर्माणमा सरकारी इस्टीमेट भन्दा बाहिर गएर निर्माण कम्पनीले गुणस्तरहीन काम गरिरहेको भेटाएपछि नगर प्रमुख श्रेष्ठले फिल्डमा खटिएका कम्पनीका प्रतिनिधिलाई सो काम तत्काल रोक्न आदेश दिएका दिए ।

तर, नगर प्रमुख श्रेष्ठले दिएको आदेशको धज्जी उडाउँदै निर्माण कम्पनीले गुणस्तरहीन कामलाई नै तीव्रता दिँदा अहिले नाला चर्किन र भत्कन थालिसकेको छ । एक दिनमै नाला चर्किन र भत्किन थालिसकेको स्थानीय उपभोक्ताले देखेपछि मंगलबार बिहान पुनः नगर प्रमुख श्रेष्ठलाई खबर गरेका थिए । श्रेष्ठसँगै गएको पत्रकारको टोलीले घटनास्थल पुग्दा स्थानीय उपभोक्ता निर्माण कम्पनी प्रति आक्रोशित देखिएका थिए । पीसीसी ढलानमा गुणस्तरहीन काम भइरहेको स्थानीय टेकराज लम्सालले बताए ।

‘नाला खन्दा जथाभावी स्काभेटर प्रयोग गरेर माटो निकाल्यो– उनले भने– माटोलाई राम्ररी नसम्याई ढुंगा र बालुवा बिच्छाएर पीसीसी ढलान गर्दा नाला चर्किएको हो, बनेको एकदिनमै नाला चर्किएको उनले थपे । निर्माण कार्यमा ठेकेदारले माटो मिसाएको बालुवा प्रयोग गर्दा नाला गुणस्तरहीन बनेको उनले बताए । निर्माण स्थलमा ठेकेदारले हेलचत्र्mयाई गरिरहेका छन् ।

बाङ्गो नाला बनाउनुका साथै सिमेन्टी, गिट्टी र बालुवाको मात्रा सरकारी इस्टीमेट बमोजिम नहालेको स्थानीय प्रमिला पौडेलले बताइन् । उनले भनिन्– ‘काम राम्रो भएन भन्दा उल्टै स्थानीय उपभोक्तालाई ठेकेदारका मान्छेले थर्काउने, निर्माणस्थलमा पानी नहाल्ने जस्ता काम भइरहेको छ ।’

यता भद्रपुर नगर प्रमुख श्रेष्ठ भन्छन्– पल्म वाल र पीसीसी ढलानमा कमशल सामग्री प्रयोग भइरहेको भेटाएपछि १५ तगारी बालुवा र गिट्टी हालेपछि मात्र एक तगारी सिमेन्ट हालेको जनगुनासो आएपछि नगरपालिकाको इञ्जिनियरसहितको टोली निर्माणस्थल पुगेका थियौं– उनले भने– सोही बेला निर्माण कार्य सुधार गरेर अघि नबढेसम्म निर्माण कार्य रोक्न आदेश दिएका थियौ, तर निर्माण कम्पनीले निर्माण कार्य नरोक्दाको परिणाम हो यो । नगरपालिकालाई अनुगमन गर्ने बाहेक अरु कुनै अधिकार नरहेकोले तत्काल निर्माण कार्य सुधार गर्ने निर्माण कम्पनीलाई आदेश दिइसकेको मेयर श्रेष्ठले बताए । श्रेष्ठ÷रसुवा÷एपेक्स जेभी काठमाडौले नगरको १२ वटा योजना अर्थात् २३.४१४ किलोमिटर पक्की नाला बनाउने ठेक्का ८३ करोड ८० लाख रुपैयाँमा लिएको हो ।

सोही अन्तर्गत यो नाला निर्माण भइरहेको छ । निर्माण कम्पनीले सो नाला बनाउने काम युगल कन्ट्रक्सन उर्लाबारीलाई पेटी कन्ट्रक्टमा दिएको छ । श्रेष्ठ÷रसुवा÷एपेक्स जेभीका इञ्जिनियर विवेश कार्कीले चर्किएको र भत्किएको नाला पुनः भत्काएर बनाउने बताए । अहिले नगरमा जताततै पक्की नाला बनाउने काम भइरहेको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरबाट खटिएका इन्जिनियर बाइकमा चढेर आउने बाटैबाटो हेरेर जाने गर्दा निर्माण कार्य गुणस्तरहीन बन्न थालेको हो । यसतर्फ भद्रपुर नगरपालिकाका जनप्रतिनिधि बाहेक कुनै पनि सरकारी निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)