बिर्तामोड।
बिर्तामोड नगरपालिकाले नगरको बिकासका लागि बिभिन्न योजनाहरु अगाडि सारेको छ ।यसक्रममा बिर्तामोड–भद्रपुर मार्गलाई स्मार्ट रोड बनाउन ३६ करोड रुपैयाँ निकासा गरिएको छ भने शहीद राम मार्ग (हर्कलाल मार्ग) कालोपत्रे गर्नका लागि ६ करोड ३८ लाख रुपैयाँ पनि बिनियोजन भएको छ ।
त्यस्तै नगरपालिकाकाले बिकास निर्माणका लागि बिभिन्न निकायसँग बजेट माग गरेको छ । यसक्रममा बिर्तामोड २ को रामचौकबाट कुमालबाडीसम्मको ७ किलोमीटर बाटोकोे लागि १२ करोड ३५ लाख ९३ हजार ३ सय ७६ रुपैयाँ डीपीआर गरी डोलिडार कम्पनीमा बजेट माग गरिएको छ । भगवान चौकबाट बिर्ताबजारसम्म बैकल्पिक मार्ग बनाउन १९ सय २ मीटर बाटो डीपीआर गरी ५ करोड ६५ लाख ४३ हजार ४ सय १० रुपैयाँको बजेट डोलिडार र ¥याप थ्रीमा पेश गरिएको छ ।
त्यसैगरी बिर्ताबजारबाट पुरानो भद्रपुर रोड वडा नं ३, ४, ५को २१ सय मीटर बाटो डीपीआर गरी ६ करोड ९६ लाख ४९ हजार ५ सय २६ रुपैयाँ डोलिडार कम्पनीमा पेश गरिएको छ ।
त्यस्तै बिर्तामोड–७मा रहेको सशस्त्र बेस क्याम्पको भवन निर्माणको लागि डीपीआर गरी ९८ लाख रुपैयाँ गृह मन्त्रालयसँग माग गरिएको छ ।
त्यस्तै अन्दुवा खोलालाई ब्यबस्थित गर्न ६ किलोमीटर डीपीआर गरी १ अर्ब ७१ करोड २७ लाख ७ हजार २ सय ८० रुपैयाँका लागि केन्द्रमा पश गरिएको र त्यसमा वडा नं ३, ४, ५ र १को तीन स्थानमा बोट(डुंगा) स्टेशनको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
वडा नं. ७को गोलधाप सिमसार तथा पर्यटकीय क्षेत्रमा अत्याधुनिक स्वीमिङ पुल, भ्यूटार लगायतको लागि डीपीआर गरी १८ करोड ७० लाख रुपैयाँ टाउन डेभलोपमेन्ट कर्पोरेशन (टीडीएफ)सँग माग गरिएको छ । बिर्तामोड नगरपालिकाको पूर्वाधार विकासका लागि पूर्वाधार विकास मन्त्रालयमा सघन शहरी आयोजनाका निम्ति २ अर्ब रुपैयाँ माग गरिएको नगरपालिकाका प्रबक्ता अग्नीप्रसाद पाण्डेले बताए ।
यसैबीच नगर कार्यसमितिको बैठकले पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोड–५मा निर्माण गर्न उपयुक्त रहेको ठहर गर्दै स्वीकृतिका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको प्रबक्ता पाण्डेले बताए ।