Aamsanchar

बाढी कटानले जनताको दैनिकी कष्टकर

Author Image
शनिवार, साउन १, २०७३

चौतारा।

bhotekoshi-1

भोटेकोसी नदीमा असार २१ गते राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविस लगायत छ गाविसका बासिन्दाको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।

नदी कटानले तातोपानी गाविसमा पक्की घर बगाउने क्रम नरोकिएको र सहज रुपमा पैदल हिँड्ने बाटो समेत छैन । नदी कटानले तातोपानीमा बिहीबार बेलुकासम्म थप तीन पक्की घर बगाएको छ । कटानको क्रम नरोकिएकाले बाँकी रहेका सबै घर पनि केही दिनभित्रै बगाइसक्ने सम्भावना रहेको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी कोदारीस्थित चौकीडाँडामा आश्रय लिइबसेका घाइते, महिला तथा बालबालिकासहित थप २१ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी बाह्रबिसे ल्याइएको छ । हेलिकोप्टरद्वारा पटक पटक गरी हालसम्म ९४ जनाको उद्धार गरिसकिएको प्रहरीले जनाएको छ ।

नदी कटानले लिपिङ, कोदारी, तातोपानी र दशकिलो क्षेत्र साताअघिदेखि नै सुनसान अवस्था छ । लिपिङ बजारमा भन्सार अध्यागमन र सशत्र प्रहरीको कार्यालय भवन सहित पाँच÷सात घर मात्र बाँकी रहेको र दश किलोदेखि लिपिङसम्म अब करिब ५०÷५२ घर मात्रै बाँकी रहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।

करिब २०० घर रहेको त्यस क्षेत्रमा विद्यालय, टहरा र गोठबाहेक पक्की घर मात्र हालसम्म ७१ वटा बगाइसकेको प्रहरीले जनाएको छ । सुरु दिनकै बाढीले बाह्रबिसे–तातोपानी २६ किमी सडक खण्डको ठाउँ ठाउँमा कटान र पहिराले क्षतविक्षत तुल्याएपछि पूर्ण रुपमा यातायात बन्द छ ।
ट्रान्सफर्मरसहित ठाउँ ठाउँका बिजुलीका खम्बा बगाएका कारण बाह्रबिसेमाथिका गाती, मार्मिङ, घुमथाङ, फुल्पिङकट्टी, लिस्ती र तातोपानीसहित छ गाविसका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युत् अभावका साथै सो क्षेत्रमा सञ्चार सम्पर्क समेतबिच्छेद भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)