Aamsanchar

बनाइनसकी उक्कियो कालोपत्रे, भत्कियो पुल

Author Image
सोमवार, असार १८, २०७५

झापा

चारपाने–नारायणचौक–हात्तीकिल्ला हुँदै जयपुर जोड्ने सडकखण्डमा गरिएको कालोपत्रे उक्किएको छ ।

अर्जुनधारा–८ र बुद्धशान्ति–२ सडकखण्डमा गरिएको कालोपत्रे उक्किएको हो । सडकमा कालोपत्रे गर्दागर्दै उक्किने र सडक भत्कने समस्या देखापरेपछि स्थानीयले विरोध जनाएका छन् । उनीहरुले ठेकेदारले कमसल सामग्री प्रयोग गरी सडक कालोपत्रे गरेको आरोप लगाएका छन् ।

इलामस्थित गजुरमुखी र खनाल कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का लिएका थिए । गतवर्ष असार २० गते भएको सम्झौता अनुसार सडकमा कालोपत्रे हुँदै आएको थियो । कालोपत्रे गरिएको सडक भत्किन थालेपछि आफूले पटक–पटक ठेकेदार डिल्ली खनाललाई सो विषयमा जानकारी गराएको अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताए । उनले भने– कमसल सामग्री प्रयोग गरेका कारण सडक भत्किएको छ, भत्किएको सडक पुनर्निर्माण गरिनुपर्छ ।

यता बुद्धशान्ति–२का वडा सदस्य नेत्रप्रसाद गौतमले बिटुमिन अत्यधिक हिट भई अलकत्राले नपक्रेपछि उक्किएको हुनसक्ने बताएका छन् । यस विषयमा ठेकेदार खनालसँग बुझ्दा सम्पूर्ण काम मेसिनको प्रयोगबाट गर्ने क्रममा केही प्राविधिक कमजोरी र कमसल सामग्री प्रयोग भएकाले यस्तो समस्या आएको हुनसक्ने पूर्वाञ्चलकर्मीलाई बताए ।
यता जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले सो सडक खण्डको ५० मिटर क्षेत्रफलमा समस्या आएको र त्यस विषयमा आफू जानकार रहेको बताएका छन् । सडकमा कालोपत्रे गर्ने क्रममा त्रुटी पाएपछि ठेकेदारलाई पुनः सडक निर्माण र अलकत्रा बिच्छ्याउन निर्देशन दिएको श्रेष्ठले बताए । सडक निर्माणका क्रममा कालोपत्रे गर्दा खाल्डाखुल्डी पुर्न सिलकोटा प्रयोग हुने गरेको र वालुवा र विटुमिन उक्किएको श्रेष्ठले बताए । सिलकोट उडेर समेत जान्छ सडक भत्कियो भनेर आत्तिनु पर्दैन– उनले भने ।

¥याप थ्री अन्तर्गत आगामी असार २० गते सम्पन्न गर्नुपर्ने सो आयोजनाको जम्मा लागत मूल्य अभिवृद्धि करसहित पाँच करोड ६५ लाख २४ हजार छ सय २१ रुपैयाँ ७७ पैसा उल्लेख गरिएको छ । इस्टीमेट अनुसार जम्मा ६.३ किलोमिटर काम सम्पन्न हुनुपर्ने सो सडकको चौडाइ ६.७५ मिटर, दाँया र बायाँ डेढ मिटरको भागमा २० एमएम र मध्य भागमा ३० एमएम थिक्नेस हुनुपर्नेछ । हालसम्म ४.५ किलोमिटर मात्र काम सम्पन्न भएको सो सडकको चौडाइ कहीं ६.७५ मिटरभन्दा बढी र कहीं कम छ ।

महिना दिनमै  भत्कियो पुल
पुल निर्माण भएको महिना दिनमै भत्कियो भन्दा अचम्म लाग्न सक्छ । तर, झापाको हल्दिबारी गाउँपालिका–१स्थित अन्धुवा खोलामा निर्माण गरिएको झोलुङ्गे पुल भत्किएको छ ।

साबिक गोलधाप १ र २ नम्बर वडा जोड्ने अन्धुवा खोलामा निर्माण भएको झोलुङ्गे पुलको डिजाइनमा लापरवाही भएका कारण पुल चाँडै भत्किएको स्थानीय ओमकारेश्वर गोकुलकित्ता ट्रस पुल उपभोक्ता समितिको आरोप छ ।
स्वीस अन्तर्राष्ट्रिय सहयोग संघ (हेल्भेटास) अन्तर्गतको ट्रेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु) को आर्थिक सहयोगमा गत माघ ११ गतेदेखि पुलको निर्माण कार्य शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण चार महिनामा सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति झापा तथा हल्दिबारी गाउँपालिकाको ३÷३ प्रतिशत र स्थानीयको २ प्रतिशत लगानी समेत रहेको उक्त पुलमा टिबीएसयुका इञ्जिनियर लाल झा र टेक्निकल अफिसर निकिता सुनुवारले लापरवाही गरेको स्थानीयको आरोप छ ।

झोलुङ्गे पुलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने क्रममा पुलको लम्बाई ६४ मिटर राख्न र ढुंगाको पिलर उठाउन आफूहरुले माग गरेपनि त्यसो नभएका कारण पुल भत्किएको स्थानीयको भनाइ छ । इँट्टाको पिलर रहेको उक्त झोलुङ्गे पुलको लम्बाई ३२ मिटर रहेको छ । ‘हामीले हुँदैन भन्दा भन्दै जबरजस्ती गरियो’– उपभोक्ता समितिका अध्यक्ष समेत रहेका स्थानीय मोहनकुमार संग्रौलाले भने– ‘अब कसरी हुन्छ यसलाई दीर्घकालीन बनाउनुप¥यो ।’
पुलको निर्माण गर्ने ठेकेदार भने आफूले पाएको इस्टीमेट अनुसार नै काम गरेको दाबी गर्छन् । स्थानीय ठेकेदार रणबहादुर राईले पुलको लम्बाइ सानो भएका कारण पिलर भत्किएको बताए । यो बर्खामा नै पुलको अस्तित्व रहने हो या नरहने हो भन्नेमा स्थानीय चिन्तित छन् । ४१ लाख ८८ हजार ४ सय ७० रुपैयाँ लागतमा पुल निर्माण भएको हो । जसमा दातृ संस्था हेल्भेटासको ९२ प्रतिशत लगानी छ । पुलको डिजाइनर टिबीएसयुका इञ्जिनियर झाले पुल भत्किएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर