Aamsanchar

अधुरो तटबन्धनले १५ परिवार विस्थापित

Author Image
आइतवार, असार २४, २०७५

भद्रपुर ।

मेची नदीले जमिन कटान गर्न थालेपछि झापा भद्रपुर नगरपालिका–५स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी परिवार विस्थापित भएका छन् ।

मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो छाडेपछि सुकुम्बासी बस्तीका १५ घरपरिवार विस्थापति भएका हुन् । केही दिनदेखिको अविरल बर्षापछि मेची नदीमा पानीको सतह ह्वात्तै बढेको छ । पानीको सतह बढेपछि मेची नदीले धार परिवर्तन गर्दै नेपालतर्फको भू–भागको जमिन कटान गर्न थालेकाले स्थानीय चिन्तित बनेका छन् ।

मेची पुल निर्माण कम्पनीले पुलको दायाँ–बायाँ तारजाली लगाएर तटबन्धन निर्माण गरेको छ । तर, पुलको दक्षिणतर्फ सुकुम्बासी बस्ती रहेको क्षेत्रमा तटबन्धन निर्माण कार्य अधुरै छाडिदिएपछि त्यहाँका ४० घरपरिवार मध्ये अहिले १५ घरपरिवार विस्थापित भएका हुन् । पुल निर्माण कम्पनीले दक्षिणतर्फको बस्ती जोगाउन १७० मिटर तटबन्धन निर्माण गरिसकेको छ । थप ७० मिटर तटबन्धन निर्माणका लागि स्थानीयले भद्रपुर नगरपालिका, पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरी समक्ष लिखित तथा मौखिक माग यसअघि नै राखेका थिए ।

तर, कुनै निकायबाट पहल नभएपछि अहिले उनीहरु घरवारविहीन हुने अवस्थामा पुगेका हुन् । ‘पहिला जमिन बस्ती भन्दा टाढा थियो’– स्थानीय मजुबुल शेखले भने– ‘अहिले मेची नदीले जमिन कटान गर्न थालेपछि नदी बस्ती छेऊ आइ पुगेको छ ।’ ‘आफू परिवारसहित बस्दै आएको घर नजिकै नदी आएकोले घर भत्काई अन्यत्र सर्ने योजनामा छौं– उनले थपे । नदीको तटबन्धन अधुरो भएकोले बस्तीबासी अहिले चिन्तित बनेका छन् । ‘पुल निर्माण कम्पनीले तटबन्धन त बनायो, तर हाल बनाएको तटबन्धनले हामी सुरक्षित छैनौं– स्थानीय बिर्जु सहनीले गुनासो पोखे । ‘नदी कति खेर जमिन काट्दै बस्तीमा पस्छ थाहा छैन’– उनले भने– ‘अहिले गाउँबासी राति पालो गरी सुत्छौं, यो हाम्रो पीडा हो, अहिलेसम्म हाम्रो पीडा कसैले बुझिदिएको छैन ।’

बर्षेनि डुबानको चपेटामा पर्दै आएका यहाँका बासिन्दा यसपटक डुबानमा परेका छैनन् । पुल निर्माण कम्पनीले दक्षिणतर्फ १७० मिटर तटबन्धन निर्माण गरेकाले पानी बस्तीमा पस्न पाएको छैन । तर, बस्ती बसेको स्थानसम्म तटबन्धन नहुँदा उनीहरु त्रसित देखिएका छन् । नदीले कटान शुरु गरेपछि नदी छेऊका स्थानीयले घर भत्काउँदै जमिन खाली गर्न थालिसकेका छन् । विद्युतीय पोलबाट विद्युत समेत काट्न थालिसकेको छ । करिब ४० घरपरिवार बस्दै आएको सो वस्तीमा विस्थापित घरपरिवारलाई सुरिक्षत स्थानतर्फ सार्न लागीपरेको भद्रपुर–५का वडाध्यक्ष बन्धु कार्कीले बताए । ‘विस्थापित परिवारलाई नजिकै रहेको भद्रपुर माविको कोठामा सार्ने भएका छौ’– वडा अध्यक्ष कार्कीले भने– ‘बाढी आउने सम्भावना देखिएकोले विस्थापित परिवारलाई केही दिन विद्यालयमा राख्छौं, यसपछि नगरपालिका कार्यपालिकाको बोर्ड बैठकमा कुरा उठाउँछौं ।’

तटबन्धन निर्माणमा सम्बन्धित पक्षले चासो देखाएनः वडाध्यक्ष कार्की
पूर्वपपट्टि मेची नदी र पश्चिममा पैनीसहितको खोलाले बर्षेनि बर्खाको समयमा यो बस्ती डुबान पर्छ । उच्च जोखिममा पर्ने बस्तीलाई सुरक्षित गर्न र सँधैका लागि समस्याको सामाधानका गर्न भद्रपुर–५ वडा कार्यालयले केही महिना अघिदेखि नै चासो देखाएको थियो । गत चैतमा वडा कार्यालयकै पहलमा अधुरो तटबन्धन बस्तीसम्म निर्माणका लागि पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका इञ्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गर्दै नापचाँज गरेको वडा अध्यक्ष बन्धु कार्कीले बताए ।

इञ्जिनियरसहितको टोलीले नापजाँच गर्दै अधुरो तटबन्धन नबढाए बस्ती पुनः डुबानमा पर्ने निष्कर्ष समेत निकालेको थियो । पुल निर्माण कम्पनीलाई तटबन्धनको लम्बाइ बढाउन हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका इञ्जिनियर उपेन्द्र दासले आग्रह गरेका थिए । ‘हुलाकी राजमार्ग आयोजनाका इञ्जिनियर दासको सरुवा भइसकेको छ’– उनले भने– ‘पुल निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र खतिवडासँग पनि सम्पर्क हुन सकेको छैन, अब यसलाई कसले बनाउने हो थाह छैन ।

यता पुल निर्माण कम्पनीका खतिवडाले भने– ‘हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गर्न साथ अधुरो तटबन्धन बनाउँछौ ।’ बर्खा अघि तटबन्धन बनाउने बिषयमा हुलाकीले आवश्यक सामग्रीको व्यवस्थापन नगरि दिएकोले समस्या उत्पन्न भएको उनले बताए । त्यसैगरी हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका सब इञ्जिनियर सुरेन्द्र यादवले भने– ‘अहिले तटबन्धन सम्भव नरहेकोले बर्खा सकिनासाथ अधुरो तटबन्धन निर्माण कार्यलाई पुरा गर्न हुलाकी कार्यालय सकारात्मक छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर