Aamsanchar

मेची अञ्चलकै प्रमुख शहरको यस्तो छ हालत ! बिर्तामोडमा सडक नबन्दा सास्ती

Author Image
मङ्गलवार, असार २६, २०७५

बिर्तामोड।

मेची अञ्चलकै प्रमुख शहरको रुपमा रहेको झापाको  बिर्तामोड नगरपालिकाले बिर्तामोड–भद्रपुर सडकखण्ड मर्मत गर्न शुरु गरेको छ ।

सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालबाट कडारुपमा आलोचना भएपछि सडक मर्मत गर्न शुरु गरेको हो । केही दिन यता भएको अविरल वर्षापछि सडक जलामय तथा हिलाम्य भएर सो सडकको यात्रा अत्यन्त कष्टदायी बनेपछि सडक मर्मत गर्न शुरु गरिएको हो ।

स्थानीय तहको चुनाव सम्पन्न भई जनप्रतिनिधि आएलगत्तै सडक बिस्तार गर्ने भन्दै सडक किनारका संरचना भत्काइएको थियो । लामो समयसम्म भत्काएर त्यसै छाडिएपछि बिर्तामोडको भद्रपुररोडका व्यापारी लगायत सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् । बनाउने निश्चय नै नभई काम देखाउन नगरपालिकाले गरेको यसप्रकारको कार्यले धुलो तथा हिलोका कारण यहाँको बाटो प्रयोग गर्ने सर्वसाधरण सास्ती व्यहोर्न बाध्य भएका छन् ।

भद्रपुर बसस्टेण्ड क्षेत्र त सुख्खा मौसममा समेत ढलको पानीले धान रोप्न हिल्याएको खेत झैं बन्ने गरेको छ । बाह्रमासे हिलोले फोहर र दुर्गन्धित बनेपछि उक्त सडकखण्ड भएर हिंड्ने यात्रु नाक थुनेर हिंड्न बाध्य भएका छन् ।

यसैबीच जनताले पाउँदै गरेको सास्ती र समस्याका बारेमा सबैजसो सञ्चारमाध्यमले ध्यानाकर्षण गराउँदा समेत चुपचाप बसेको नगरपालिकाले यतिखेर सडकमा उपस्थिति जनाएकोमा सर्वसाधरण केही आशावादी बनेका छन् ।

स्थानीय जीवन रेग्मीले भने– ‘बर्षायामभरिका लागि मात्र भए पनि सडक तथा किनारका सम्पूर्ण खाल्डाखुल्डी पुरिदिनेसम्मको काम बिर्तामोड नगरपालिकाले गरिदिए निकै ठूलो राहत मिल्ने थियो ।’

केही दिनअघि जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीको अगुवाईमा बिर्ताबजार उत्तरपट्टिको पोखरीको रुपमा रहेको जलाशय पुरेर बाटो मर्मत गर्न शुरुवात गरिएको हो । त्यहाँ एउटा ह्युमपाइप राखेर खेतबाट आउने पानी निकासको प्रयास गरिएको बताइएको छ । जसबाट वर्षात्मा त्यति भरपर्दाे नभए पनि सामान्य वर्षात्मा यात्रुहरुले केही सहज महशुस गरेका छन् ।

‘यति काम मनसुन शुरु हुनुअघि नै गरिदिएको भए पनि ठूलो काम हुन्थ्यो, कसैले पनि यति ठूलो पीडा पाउने थिएनन्’ – बिर्तामोड–९ का मेची राजवंशीले भने । दिनहुँ त्यही सडकखण्डमा साइकल चलाएर बिर्तामोडमा मजदुरी काम गर्ने उनी जस्तै ज्यालादारी काममा दैनिक जाने र अन्य रोजगारी गर्ने सयौं साइकलयात्री, विद्यार्थी लगायत सवारीसाधनबाट ओहोर–दोहोर गर्ने यात्रुहरुले समेत सास्ती भोग्दै आएका छन् ।

‘पानी भरिभराउ खाल्डाखुल्डी सडकमा हिंड्दाको हैरानी त एकातिर छँदैछ, अर्कातिर सडकमा गुड्ने सवारीसाधनले कतिबेला हिलोपानी छ्याप्ने हो टुंगो छैन । सम्झँदा नहिंडु जस्तो लाग्छ तर के गर्ने नहिंडी रोजीरोटी नै गुम्छ’ –बिर्तामोडमा ब्यापार गर्ने बिर्तामोड–१० का रामप्रसाद शिवाकोटीले दुःखेसो पोखे ।

‘बाटो बनाउन शुरु भयो भनेर भत्काएर नयाँ बनाउने विचारले अहिलेसम्म कुरेर बसेँ, नयाँ बनाऊँ कहाँसम्म पर्छ, नबनाऊँ जीर्ण भयो, खै के गर्ने ?’ – सैनिकमोडमा होटल व्यवसाय गर्दै गरेका टंक कट्टेलले बताए ।

यता बिर्तामोड नगरपालिकाले जनताले पाएको दुःखमा चिन्तित रहेको जनाएको छ । मध्यवर्षामा भए पनि नगरपालिकाले ठूला खाल्डाखुल्डी बालुवाले पुरेर यात्रा गर्न सहज बनाउनेमा स्थानीयबासी आशावादी रहेका छन् ।

नगरपालिकाले अघिल्लो ठेकेदारले काम नगरेको र पुनः ठेक्का लागि सकेकोले चाँडै सडक निर्माण कार्य शुरु गरिने बताउँदै आएको छ । सडक विभागको काम भए पनि नगर प्रमुख यस कार्यमा तल्लीन भएर लागि परेको र प्रथमचरणमा यथाशीघ्र मुक्तिचोकदेखि सैनिकमोडसम्म चार किलोमिटर सडक ३६ करोडको लागतमा निर्माण गरिने बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर