झापा अर्जुनधारा नगरपालिका– ६ लक्ष्मीपुरकी रुक्सुम गुरागाई अहिले चर्चाको शिखरमा छिन् । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको यामाहा मिस टिन प्रदेश नं. १ को ताज पहिरिएसँगै उनी चर्चाको शिखरमा पुगेकी हुन् । प्रस्तुत छ याहामा मिस टिन रुक्सुमसँग गरिएको कुराकानी :
यामाहा मिस टिन प्रदेश नं. १ को उपाधि हासिल गर्दा कस्तो लाग्यो ?
– वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको यामाहा मिस टिन प्रदेश नं. १ को विजेता हुँदा म धेरै खुशी भएँ । १८ जना म सँगै उपाधिका लागि उत्रिएका प्रतिस्पर्धीहरुलाई पछि पार्दै याहामा मिस टिनको उपाधि हात पार्दा मैले देखेको सपना पूरा भए जस्तो लाग्यो ।
यसभन्दा अघि कुनै प्रतियोगितामा भाग लिनुभएको थियो ?
– मैले यसभन्दा अघि रियालिटी शो द डान्स च्याम्पमा भाग लिएकी थिएँ । तर, त्यसको टप १०० सम्ममात्र पुग्न सफल भए । यसप्रकारको कार्यक्रममा भने पहिलोपटक भाग लिएको हुँ ।
तपाईंले कसरी प्रतियोगितामा भाग लिनुभयो ?
– वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको संयुक्त आयोजनामा यामाहा मिस टिन प्रदेश नं. १ प्रतियोगिता हुँदैछ भन्ने बिर्ता मिडियाका राज सुब्बा सरबाट थाहा पाएर यस प्रतियोगितामा भाग लिएको हुँ ।
प्रतियोगितामा भाग लिन पारिवारिक सर्पोट कस्तो पाउनुभयो ?
– मैले प्रतियोगितामा भाग लिन्छु भनेर पहिला बाबालाई सुनाए उहाँले हुन्छ भन्नुभयो । अनि त्यसपछि जोडर्नमा हुनुभएको ममीलाई फोन गरेर सुनाए उहाँले पनि भाग लिन जान अनुमति दिनुभयो त्यसपछि कार्यक्रममा भाग लिएको हुँ ।
मलाई बाबा, ममी र भाइले हौसला र प्रेरणा दिनुभयो । जसले गर्दा आज प्रतियोगितामा विजयी भएर उहाँहरुको आशा भरोसालाई जोगाएको छु जस्तो लागेको छ ।
तपाईं कक्षा ९ को विद्यार्थी, प्रतियोगितामा विजयी भएर पढाइलाई असर पुग्छ जस्तो लाग्दैन ?
– म अर्जुनधारा नगरपालिका–६ स्थित लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत् छु । म पहिलादेखि नै पढाइमा राम्रै अंक ल्याएर उत्तीर्ण हुँदै आएको छु । अहिलेसम्म म कुनै पनि कक्षामा फेल भएको छैन ।
यसभन्दा अघि मैले हिमाली एजुकेशन फाउण्डेशनमा कक्षा ८ सम्म अध्ययन गरेको थिए, त्यहाँ पनि म कहिले पनि फेल भइन । म जहिले पनि पढाइलाई प्राथमिकता दिन्छु र त्यसबाट बचेको समय मोडलिङलाई दिन्छु ।
प्रतियोगितामा विजयी हुनुअघिको रुक्सुम र प्रतियोगितामा विजयी भएपछिको रुक्सुममा के फरक पाउनुभयो ?
– म विद्यार्थी हुँ, पहिला म सँग सीमित साथीहरु थिए । धेरै कमले मात्र मलाई चिन्थे तर, अब मलाई धेरैले चिन्नुहुन्छ, मलाई प्रतियोगितामा विजयी भएदेखि नै बधाई तथा शुभकामना आइरहेको छ । म पहिला बाबा–ममीको नामबाट चिनिन्थे भने प्रतियोगितामा विजयी भएदेखि मेरो नामबाट बाबा–ममीलाई चिनाउन पाएको छु ।
विद्यालयहरुमा हुने सामान्य कार्यक्रमहरु सञ्चालन गर्थे त्यतिबेला मलाई धेरै गाह्रो हुन्थ्यो । तर, जब म वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा यामाहा मिस टिन प्रदेश नं. १ प्रतियोगितामा भाग लिए त्यसपछि मेरो आत्मविश्वास पनि बढेको छ । मैले यो प्रतियोगितामा धेरै कुराहरु सिक्ने अवसरहरु प्राप्त गरे । यो प्रतियोगितामा विजयी भएपछि मेरो परिचय नै फेरिएको छ ।
प्रतियोगितामा विजयी नहुने साथीहरुलाई के भन्न चाहनुहुन्छ ?
– यो प्रतियोगिता भनेको यस्तो खेल हो । जहाँ हारजीत त हुन्छ नै । प्रतियोगितामा भाग लिनु भनेको उपाधि जित्नका लागि मात्र होइन । यो एउटा प्लेटफर्म हो जहाँबाट हामीले धेरै कुराहरु सिक्ने अवसर पाएका छौं । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिद्वारा आयोजित यामाहा मिस टिन प्रदेश नं. १ को बन्द प्रशिक्षणमा हामीले धेरै कुराहरु सिक्ने अवसर पायौं ।
अब जुनसुकै काम पनि आत्मविश्वासका साथ गर्न सक्षम भएका छौं । प्रतियोगितामा हारियो भने गुनासो गर्ने ठाउँ छैन । तर, पनि म साथीहरुलाई आत्मविश्वासका साथ अघि बढ्न सल्लाह दिन्छु । किनभने असफलता नै सफलताको मुख्य सिढी हो । हामीले कहिल्यै पनि हरेश खानु हुँदैन । कुनै पनि काम मेहनतका साथ गर्ने हो भने अवश्य पनि सफलता प्राप्त गर्न सकिन्छ भन्न चाहन्छु ।
तपाईंको भविष्यको लक्ष्य के रहेको छ ?
– म भविष्यमा मिस नेपालमा भाग लिएर विजयी बन्न चाहन्छु । मिस नेपालमा विजयी भएर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छु । त्यस्तै एउटा सफल नायिका बन्ने पनि मेरो लक्ष्य रहेको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको यामाहा मिस टिन प्रदेश नं. १ को प्रतियोगितामा मलाई भाग लिने अवसर प्रदान गर्नुभएको एलसी सर, राज सुब्बा सर, मिना मेम, स्वेता मेम, आषिमा मेम लगायतलाई धन्यवाद दिन चाहन्छु ।
प्रतियोगिताको एक महिने बन्ध प्रतिक्षणमा हामीलाई तालिम प्रदान गर्नुहुने सम्पूर्ण प्रशिक्षक सरहरुलाई धन्यवाद दिन चाहन्छु । यो अवसर प्रदान गर्नुहुने वीरता जेसीजका अध्यक्ष एकराज गिरी सर र विकास बस्नेत सरलाई पनि धन्यवाद दिन चाहन्छु । यस प्रतियोगितामा निष्पक्ष निर्णायकको रुपमा बस्नुभएका निर्णायक मण्डललाई समेत धन्यवाद दिन चाहन्छु ।
प्रस्तुति : तुलसीप्रसाद निरौला