Aamsanchar

वैधानिकरुपमा चौपायाको निकासी बन्द भएपछि खस्कियो पशु व्यापार

Author Image
सोमवार, असार ३२, २०७५

अर्जुनधारा ।

जिल्लाकै दोस्रो ठूलो पशुहाटको पहिचान बनाउन सफल अर्जुनधारा–३ खुदुनाबारीमा आइतबार लाग्दै आएको साप्ताहिक पशुहाटमा पशुको व्यापार घटेपछि चहलपहल पनि कम भएको छ ।

चौपाया निकासीको ठूलो बजार रहेको छिमेकी देश भारतमा विगत तीन वर्षदेखि वैधानिकरुपमा चौपायाको निकासी बन्द भएपछि सो पशुहाटको चहलपहल खस्किएको हो ।

वि.सं.२०५२ सालबाट शुरु भएको सो पशुहाटमा विगतमा पहाडी भेगका जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरबाट समेत ठूलो संख्यामा व्यापारीहरुले गाइ–गोरुहरु, राँगाभैंसीहरु बिक्री गर्न ल्याउने गरेको आइतबारे बजार व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार बाँस्कोटा बताउँछन् ।

व्यवस्थापन पक्ष राम्रो भए पनि पशुहाटको चहलपहल खस्किनुको मुख्य कारण भारतको प्रतिबन्ध नै भएको कोषाध्यक्ष बाँस्कोटा दाबी गर्छन् । साथै ठेक्कापट्टाको प्रक्रिया र ठेकेदारहरुबीचको आपसी वैमनस्यता अर्को कारण हुनसक्ने उनी आशंका व्यक्त गर्छन् ।
निकासी बन्द भएपछि ठूला व्यापारी आउन छोडे, ठूलो व्यापारी आउन छाडेपछि पहाडबाट ल्याउने चौपायाहरु पनि बन्द हुँदा यस्तो अवस्था आएको उनले बताए । ८०–८५ हजार पर्ने गोरु ३५–४० हजार, ४०–४५ हजार पर्ने लैनो गाई १२–१५ हजार परेपछि के व्यापार हुनु ?–उनी प्रतिप्रश्न गर्छन् ।

त्यसैगरी विगतमा एक हाटमा ५० देखि ६० लाख रुपैयाँको कारोबार हुने गरेकोमा हाल मुस्किलले २० देखि २५ लाख रुपैयाँको मात्र कारोबार हुने गरेको ठेकेदार प्रेम मगरले बताए ।
त्यस्तै विगत तीन–चार वर्षदेखि सो पशुहाटमा आउने गरेका भारतीय व्यापारी सिद्धीकी पशुहाटको चहलपहल खस्किनुमा निकासीमा प्रतिबन्ध नै भएको बताउँछन् । उनी भन्छन्– दुबै मित्र राष्ट्र भएको हुँदा निकासी प्रतिबन्ध खुला गर्दा कर पनि संकलन हुने र चौपायाको व्यवस्थापन पनि हुन्छ । यहाँ गाई–गोरु म¥यो भने व्यवस्थापन गर्न अप्ठ्यारो, तर हाम्रोमा खाइने हुँदा त्यो समस्या हुँदैन –उनले आफ्नो तर्क पेश गरे ।

पशु स्टलमा अन्य व्यापार
सो पशुहाटमा आइतबार सञ्चारकर्मीहरु पुग्दा कृषि विकास मन्त्रालय अन्तर्गत पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालय हरिहर भवन र तत्कालीन खुदुनाबारीको सहकार्यमा २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको तीन वटा स्टलमध्ये एउटामा अन्य व्यापार सञ्चालन भइरहेको थियो ।

हाललाई खाली भएको हुँदा अन्य व्यापारीले व्यापार सञ्चालन गरे पनि आगामी दिनमा सो स्टलमा बाख्रा तथा केराको स्टल राख्ने योजना रहेको आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जीतेन्द्र अधिकारीले बताए । खाली भएर मात्र हो, भोलि स्टल पूर्णरुपमा सञ्चालन हुने भएपछि उहाँहरु हट्नुहुन्छ –अध्यक्ष अधिकारीले भने ।

यता यस विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा उनले यस विषयमा प्रदेश सरकारसमक्ष प्रतिबन्ध फुकाउन माग मात्र गर्न सकिने जानकारी दिए । चालू आर्थिक वर्ष ०७४/०७५मा २८ लाख रुपैयाँमा ठेक्का लागेको सो पशुहाट आगामी आर्थिक वर्ष ०७५÷०७६ को लागि ३० लाख रुपैयाँमा ठेक्का लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर