Aamsanchar

तपाईले हेर्नुभयो ? इलाम हेर्न धेरै आउँदै

Author Image
मङ्गलवार, साउन १, २०७५

इलाम।

यस बर्ष इलाम आउने पर्यटकहरुको संख्या बढेको छ । आर्थिक बर्ष २०७४÷०७५मा इलाम आउने पर्यटकहरुमा ४२ प्रतिशतले बृद्धि भएको हो ।

अघिल्लो आर्थिक बर्षमा ६६ हजार २ सय ९९ जना पर्यटक इलाम आएकोमा गत आर्थिक बर्ष सो संख्या बढेर ९३ हजार ९ सय ७६ पुगेको थियो । इलाम भित्रिने पर्यटक मध्ये ४९ हजार ५ सय २२ जना पुरुष र ४४ हजार ४ सय ५४ जना महिला रहेको पर्यटन सूचना केन्द्र जोरकलश इलामले जनाएको छ ।

अघिल्लो आर्थिक बर्षमा ३६ हजार चार सय ७० जना पुरुष र २९ हजार ८ सय२९ जना महिला इलाम आएका थिए । इलाम आउने मध्ये ९३ हजार ८ सय १२ जना आन्तरिक र १६४ जना बाहय पर्यटक रहेका पर्यटक सूचना केन्द्र जोरकलशका सूचना अधिकृत गगन घिमिरेले बताए । ‘इलाम भित्रिनेमध्ये ६ हजार १ सय ७ जनाले मात्र इलाम बाहिर पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मको भ्रमण गरेका छन्’– सूचना अधिकृत घिमिरेले भने– ‘बाँकी ८७ हजार ८ सय ६९ जनाले इलाम जिल्लाभित्रकै बिभिन्न स्थानको भ्रमण गरेका छन् ।’


इलाम घुम्न आउने मध्ये धेरैको रोजाइ रोङ गाउँपालिकाको पाथीभरा मन्दिर हाँसपोखरी हँुदै कन्यामसम्म हुने गरेको छ । अघिल्लो आर्थिक बर्षमा २५ हजार ५२ जनाले सो क्षेत्रको भ्रमण गरेकोमा गत आर्थिक बर्ष २०७४÷०७५मा सो संख्या बढेर ३२ हजा ८ सय ६० पुगेको छ । इलाम घुम्ने पर्यटकहरुको रोजाइमा पशुपति नगर, इलाम सदरमुकाम फिक्कल, श्री अन्तु माईपोखरी र गजुरमुखी जस्ता क्षेत्र पर्ने गरेको अधिकृत घिमिरेले बताए ।

चारपाङ्ग्रे सबारी साधनमा ब्यानर लगाएर आएको गाडीका पर्यटकको मात्र जोरकलशमा तथ्याङ्क रहने गरेको छ । ती बाहेकका मोटर साइकल, अन्य सवारी साधनमा बिना ब्यानर आएका पर्यटकको तथ्याङ्क राख्न नसकिने भएकाले इलाम आउने पर्यटकको संख्या यो भन्दा बढी हुन सक्ने रोङ–४ किटेनीमा रहेको पर्यटन सूचना केन्द्रले जनाएको छ ।


इलामको बारेमा प्रचारप्रसार भएको, मानिसमा घुम्ने बानी बढेको र खर्च गर्ने क्षमता र बानीमा बिकास भएकाले पनि पर्यटकीय चहल–पहल बढेको अनुमान गर्न सकिन्छ । पर्यटकहरुको चहल–पहल बढ्दा इलाममा उत्पादन हुने कोशेलीजन्य उद्योगहरु फष्टाउँदै गएका छन् ।

बिशेष गरेर दूधजन्य बस्तु जस्तै ललीपप, छुर्पी, चिजको व्यापार बढेको सूर्योदय उद्योग बाणिज्य संघका सदस्य सुजन तिम्सिनाले बताए । ‘फिक्कल आउने पर्यटकहरुले दूधजन्य उत्पादन नै बढी किन्ने गरेका छन्’– सदस्य तिम्सिनाले भने– ‘पर्यटकले इलामको अग्र्यानिक चिया पनि कोशेलीको रुपमा लाने गरेका छन्’ ।

इलाम आउने पर्यटकहरुमध्ये अधिकांश पर्यटकहरु एक दिनका लागि मात्र आउने गरेकाले होटल ब्यवसायमा भने त्यति प्रभाव नपरेको व्यवसायीहरु बताउँछन् । बिहान इलाम उक्लिने, दिनभरी घुम्ने र बेलुका आ–आफ्नै गन्तव्यमा फर्किने भएकाले होटलहरुमा बास बस्ने पर्यटक कम भएको कुटीडाँडाका होटल व्यवसायी बिष्णु खवासले बताइन् ।

‘पूर्वाञ्चलका जिल्लाबाट आउने पर्यटकहरु प्रायः एक दिनको भ्रमणमा आउने गरेका छन्’– होटल व्यवसायी भूजेलले भनिन्– तर शैक्षिक भ्रमण, अवलोकन भ्रमण जस्ता टोलीले भने इलाममा बास बस्ने गरेको भए पनि ती टोलीहरु फिक्कल, पशुपतिनगर जस्ता स्थानमा जाने गरेका छन् । केही पर्यटहरुले होमस्टे पनि रोज्ने गरेका छन् ।

इलाम सदरमुकाम आसपासका क्षेत्र, श्रीअन्तु, सलकपुर, बहुबन लगायतको क्षेत्रका होमस्टेमा पनि पर्यटकहरु बस्ने गरेका एकीकृत पर्यटन प्रबद्र्धन केन्द्र बहुबनका संयोजक बृहस्पति खतिवडाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर