Aamsanchar

‘नेपाललाई सिद्धयाउन विश्व सुनियोजित ढंगले लागेको छ’

Author Image
मङ्गलवार, साउन १, २०७५

अर्जुनधारा।

विश्व प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरी महाराजले नेपाललाई सिद्धयाउन विश्व सुनियोजित ढंगले लागेको बताएकी छिन् ।

अर्जुनधारा–१स्थित शंकराचार्य शक्तिपीठमा नवनिर्मित सिद्धीविनायक गणेश भगवानको मन्दिरको सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । समारोहको प्रमुख अतिथि समेत रहेकी उनले यस देशको संस्कार, संस्कृति विलय गराई विखण्डनको बाटोमा लगेर धरासायी बनाउने चाहना विश्व जगतको भएको बताइन् । ‘विश्वको आँखा लागेको हुँदा यो देशमा उनीहरुको गिद्दे दृष्टि परेको छ– उनले भनिन् ।

त्यसैगरी उनले यो देशलाई आध्यात्मिक, सनातन परम्परावादी, मर्यादित, संस्कारी र अनुशासित देशको रुपमा विश्व सामु उभ्याउनु वर्तमानको चुनौति भएको बताइन् । यस्ता चुनौतिहरुलाई चिर्न पनि आफूलाई सबैको सहयोगको खाँचो रहेको उनले बताइन् ।

दमक–६स्थित लक्ष्मण र धनमाया श्रेष्ठको परिवार निर्माणकर्ता रहेको सो मन्दिर ११ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । सोही समारोहमा शंकराचार्य शक्तिपीठलाई क्रमशः ५० हजार पाँच र २५ हजार रुपैयाँ बराबरको भूमिदान गर्ने दाताद्वय दमक–५का योगेश उप्रेती र मोरङ रंगेलीका यामनाथ पाठकलाई प्रमुख अतिथि गिरीले सम्मान पत्रद्वारा सम्मानित गरेकी थिइन् ।

शक्तिपीठ व्यवस्थापन समितिका उपाध्यक्ष रामबहादुर निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, समाजसेवी भीमचन्द्र सरल, युवा व्यवसायी लीला चिमरियालगायतले बोलेका थिए । शक्तिपीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष हरिप्रसाद नेपालले गरेका थिए ।

प्रथम महिला जगत्गुरु हेमानन्दलाई सम्मान गर्ने अर्जुनधारा पहिलो

नवनिर्मित सिद्धीविनायक गणेश भगवानको मन्दिरको उद्घाटन गर्न आएकी प्रथम महिला जगत्गुरु हेमानन्द गिरी महाराजलाई सम्मान गर्ने अर्जुनधारा नगरपालिका मुलुककै पहिलो संस्था भएको छ ।

नगर प्रमुख हरिकुमार राना, अर्जुनधारा–६का वडाध्यक्ष लोकनाथ गौतम, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालगायतले उनलाई नागरिक अभिनन्दन पत्रद्वारा सम्मानित गरेका थिए । अभिनन्दन–पत्र ग्रहणपछि कृतज्ञता व्यक्त गर्ने क्रममा उनले अर्जुनधारा नगरपालिका आफूलाई सम्मान गर्ने पहिलो संस्था भएको उद्घोष गरेकी थिइन् ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर