Aamsanchar

सशस्त्र प्रहरीका आईजी राजु अर्यालको आज बिदाइ

Author Image
शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं –  सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अवकाशमा जाँदै छन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल आज अवकाशमा जान लागेका हुन् ।

अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा शुक्रबार दिउँसो ३ बजे उनको बिदाइ कार्यक्रम राखिएको छ ।

अर्यालकै ब्याचमेट दानबहादुर कार्की कात्तिक २४ मा नेपाल प्रहरीको आईजीपी नियुक्त भएका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्की २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्वमा रहन्छन् । प्रहरी र सशस्त्र दुवै संगठनमा ३० वर्षे सेवा अवधि हुन्छ, तर अर्यालचाहिँ फौजमा प्रवेश गरेको २८ वर्ष पूरा गरेर सेवा निवृत हुन लागेका हुन् ।

मन्त्रिपरिषद्ले १९ गतेदेखि लागु हुनेगरी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको आईजी नियुक्त गरिसकेको छ । पौडेललाई वैशाख २० गते आइतबार गृह सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाउने कार्यक्रम तय गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

अर्यालको कार्यकालमा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तथा २०८२ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित थियो । अर्याल आफ्नो कार्यकालमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन र जेनजी प्रदर्शनसँगै भएको उथलपुथलकारी समय भोगेर संगठनबाट बिदा हुँदैछन् ।

अर्यालले आफ्नो कार्यकालमा सशस्त्र प्र्रहरी संगठनमा हुने सरुवा र बढुवालाई पादरर्शी र अनुमान योग्य बनाउन पहल गरे । सरुवाको पूर्वसूची प्रकाशन गर्ने पद्धतिले सशस्त्रमा भनसुन प्रथा अन्त्य भएको छ । यद्यपि उच्च दर्जाका अधिकृतहरूको बढुवामा हुने राजनीतिक ‘चलखेल’ अझै अन्त्य हुन सकेको छैन । अर्यालको कार्यकाल ‘सन्तोषजनक’ रहेको सशस्त्रका उच्च अधिकृत बताउँछन् ।

नवनियुक्त आईजी पौडेल पनि अर्यालकै ब्याचमेट हुन् ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर