
काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) को अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरुआती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ,’उनले भने, ‘सभापतिज्यूको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’

बजेट निर्माणको तयारीका विषयमा मन्त्री पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तीव्रता दिएको बताए । अधिकांश मन्त्रालयहरूले आ–आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका उनको भनाइ छ । बजेट निर्माण प्रक्रिया व्यवस्थित ढंगले अघि बढिरहेको उनले बताए ।
सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’को रूपमा व्याख्या गरे ।
‘सिंहदरबारभित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो,’ उनले भने, ‘कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयलाई सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो ।’
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन हुने वा नहुने भन्ने प्रश्नमा उनले यसबारे मन्त्रिपरिषद्मा कुनै विशेष छलफल नभएको जानकारी दिए । यद्यपि, प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने उनको भनाइ थियो ।


