Aamsanchar

कांग्रेसले पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौं –  नेपाली कांग्रेसले पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने भएको छ । पुरानो सदस्यतालाई नवीकरण प्रक्रियामा समावेश गर्न कांग्रेसका जिल्ला सभापतिहरूलाई परिपत्र गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार (जेठ ११) जारी गरेको विज्ञप्तिमा भनिएको छ, “१४औँ महाधिवेशनको क्रममा प्रदान गरिएका गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५औँ महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिलाई परिपत्र गर्ने ।”

यस्तै, विभिन्न पार्टीबाट कांग्रेसमा आएका व्यक्तिहरूका हकमा सदस्यतासम्बन्धी समस्या समाधान गर्न केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । यसनिम्ति विभिन्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने उनले जानकारी दिए ।

बारामा डा. गोपाल दहित, सिरहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना, सोलुखुम्बुमा कुसुम थापालाई खटाइएको छ ।

सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट, महोत्तरीमा प्रमोदहरि गुरागाईं, कपिलवस्तुमा टेकराज पौडेललाई खटाउने निर्णय छ ।

सुनसरीमा जगदीशनरसिंह केसी, रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल र काठमाडौंमा इश्वर अधिकारीलाई खटाइएको छ ।

अधिवेशन सम्पन्न भइसकेका सात देशका जनसम्पर्क समितिका सम्बन्धमा क्रियाशील अद्यावधिक प्रक्रियाका निम्ति अनुमति दिने निर्णय गरिएको दुलालले बताए ।

यो समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गरी अधिवेशन सम्पन्न गर्ने समयतालिका केन्द्रीय कार्यालयमा पेस गर्न परिपत्र गर्ने निर्णय समेत सोमबार(जेठ ११) बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट गरिएको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिव पदमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय गरिएको दुलालले जानकारी दिए ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर