

दाङ – दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टी सेवा सुरू भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा। सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा। दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लाष्टी गरेको छ ।
दाङ जिल्लामा पहिलो पटक यो सेवा सुरु भएको हो । यो सेवा सुरु भएसँगै हृदयाघात (हर्टअट्याक) का बिरामीहरुलाई जिल्लामै उपचार गर्न सकिने डा। देवकोटाले बताए । उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो । आज शुक्रबार एन्जियोप्लाष्टी गरिएका बिरामीहरुको अवस्था सामान्य रहेको डा। उप्रेतिले बताए ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा। श्याम लम्सालका अनुसार यसअघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो भने अब यो समस्या हटेको छ ।

उक्त उपचारका लागि क्याथेल्याबसहित १० करोड रुपैयाँ बराबरका सामग्री ल्याइएको छ ।
प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो, जुन निदानात्मक उपचार थियो । आज (शुक्रबार) एन्जियोप्लाष्टी सेवा सुरु गरिएको हो, जुन उपचारात्मक हो ।
दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए ।
प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कँडेलले विपन्न नागरिक औषधी उपचार कोषमा सूचिकृतका लागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने छ । हाल मुटुको उपचारका लागि एक लाख भन्दा बढी खर्च लाग्ने गरेको छ ।
प्रतिष्ठानमा मुटुको इको समेतको सेवा यसअघि नै सुरु भइसकेको थियो ।



